२०७५ सालको वार्षिक राशिफल


ज्योतिषीय आधारमा चैत्र महिनाको शुक्लपक्षको प्रतिपदा तिथिका दिनदेखि नयाँ संवत्सरको प्रारम्भ हुने गर्दछ । चान्द्र पद्धतिमा निर्धारण गरिने भएकाले यो समय सामान्यतया चैत्र १ गतेदेखि वैशाख १ गतेभित्रको कुनै दिन पर्ने गर्दछ, तर त्यो दिन चैत्र महिनामा पर्ने औंसीको भोलिपल्ट हुनुपर्दछ ।

आजको को राशिफल पनि सुन्नुहोस

चैत्रेमासे जगद् ब्रह्मा ससर्ज प्रथमेहनि । शुक्लपक्षे समग्रे तु तदा सूर्योदये सति ॥

माथि उल्लेख भएको श्लोकको आशय बमोजिम ब्रह्माले सृष्टिको प्रारम्भ यसै दिनबाट गरेका हुन् । सनातन हिन्दू धर्मसंस्कृतिका कुनै पनि कर्म गर्दा सङ्कल्प उच्चारण गर्ने प्रचलन छ र सङ्कल्पमा अनिवार्य रूपमा संवत्सरको उच्चारण गरिन्छ । २०७५ सालका निमित्त विरोधकृत् नामको संवत्सर रहने छ, गुरु-पुरोहितहरूले यस वर्ष विरोधकृत् नामको संवत्सरको उच्चारण गरी धार्मिक कृत्य सम्पादन गर्नेछन् । संवत्सर भुक्तभोग्य विचार गर्दा सौरमानले वैशाख ०१ गतेदेखि नै परिधावी नामक संवत्सर प्रारम्भ हुनेछ, तर सङ्कल्पादि गर्दा वर्षभरि नै विरोधकृत् नामको संवत्सरको उच्चारण गर्नुपर्दछ । सामान्य अर्थमा संवत्सरको अर्थ वर्षको नाम हो, यस्ता संवत्सर ६० वटा रहेका छन् । साठीवटा संवत्सरमध्ये विरोधकृत् नामक संवत्सर पैंतालीसौं क्रममा पर्दछ । चान्द्रपात्रोबमोजिम चैत्र शुक्ल पक्षको प्रतिपदा तिथिकै दिन नया संवत्सर प्रारम्भ हुने गर्दछ, त्यसैले ज्योतिषीय आधारमा यस पटक नयाँ वर्ष २०७५ र शाके संवत् १९४० चैत्र शुक्ल प्रतिपदा परेको दिन गत २०७४ साल चैत्र ०४ गते आइतबारका दिन देखि नै प्रारम्भ भइ सकेको छ । यस वर्षका निम्न वैशिष्ट्य देखिन्छन् :-

विरोधकृत् संवत्सरको फल यस्तो छ :-

विरोधकृत्वत्सरे तु परस्परविरोधिनः । सर्वे जनाः नृपाश्चैव मध्यसस्यार्घवृष्टयः ।।

यसको अर्थ हुन्छ :- यस वर्ष जनमानसमा एक आपसमा विरोधको स्थिति रहने छ । सरकारको कामकारबाहीमा क्रूरता र नृशंसता थपिने छ । जनता आन्दोलित बन्नेछन् । मध्यमरूपमा मूल्यबृद्धि हुनेछ । अन्नादि र वर्षाको पनि मध्यम प्रभाव रहने छ ।

तर यसै वर्ष परिधावी संवत्सरको प्रभाव पनि देखिने सम्भावना छ । उक्त संवत्सरको फल यस्तो छ :-

भूपाहवो महारोगो मध्यसस्यार्घवृष्टयः । दुःखिनो जन्तवः सर्वे वत्सरे परिधाविनी ।।

यसको अर्थ हुन्छ – परिधावी नामको वर्षमा राजा क्रूर बन्नेछन्, महामारी फैलने छ, महँगी, अन्नोत्पादन र वर्षामा मध्यम प्रभाव रहने छ । जनता कष्ट र पीडामा रहने छन् ।

चैत्र शुक्लपक्षको प्रतिपदा तिथिका दिन जुन बार पर्छ, त्यस बारको आधिपत्यमा ग्रह परिषद्को गठन हुने गर्छ, त्यसैले उक्त दिन आइतबार परेको हुँदा आगामी वर्ष २०७५ को राजा सूर्य हुनेछ । त्यस्तै वैशाख संक्रान्तिका दिन जुन बार पर्छ, त्यसैले प्रधानमन्त्रीको भूमिका निर्वाह गर्ने प्रचलन छ । यस पटक वैशाख १ गते शनिबार परेको छ, तदनुसार ग्रह परिषद्को मन्त्रीको भूमिकामा दण्डनायक शनिश्चर रहने छन् । शासनाधिकारी र क्रूर ग्रह सूर्य ग्रहको राजपद निरङ्कुश, क्रूर र अनुशासित हुने हुँदा राज्यका ठूला पदाधिकारीबाट गरिने निरङ्कुश क्रियाकलापबाट जनता भय र त्रासमा निर्वाह गर्न बाध्य हुनेछन् । राजा सूर्य रहँदा वर्षको यस्तो फल प्राप्त हुन्छ :-

सूर्ये नृपे स्वल्पफलश्च मेघाः स्वल्पं पयो गोषु जनेषु पीडा ।

स्वल्पं सुधान्यं फलमल्पबृक्षाश्चौराग्निबाधा निधनं नृपाणाम् ।

(सूर्य राजा भएको समयमा पृथ्वीमा जलको वर्षामा कमी हुनेछ, दुग्धजन्य पदार्थको उत्पादनमा मन्दी हुनेछ, पशुपन्छी र जनताले दुःख पाउने छन्, अन्न र फलफूलको उत्पादनमा पनि कमी आउने छ, समाजमा चोर र अग्निको बाधा हुनेछ भने ठूला पदमा रहेका व्यक्तिको असामयिक निधन हुने सम्भावना हुन्छ ।)

सामान्यतया सूर्य ग्रहको प्रभाव सरकारी कामकाज, ऊर्जा उत्पादन, औषधीसित जोडिएका व्यवसाय, वित्तीय कारोबार, अन्नको व्यवसाय, प्रकाश प्रदान गर्ने चिजबिज आदिमा हुने गर्दछ । त्यसैले आगामी वर्ष सूर्य राजा भएकाले राष्ट्रको प्रशासनिक क्षेत्रमा सुधारको सङ्केत देखिंदैछ । विज्ञानप्रविधि, औषधी र रसायनिक पदार्थको कारोबार गर्न वा ती साधन जुटाउन जनता आकर्षित हुनेछन् ।

ज्योतिषीय गणनाबमोजिम यस वर्षको राजाको वाहन घोडा हो । त्यसैले कतिपय कामकारबाहीमा जनता र राजा दुबैमा लहडीपन र शीघ्रता देखिने छ । विना योजना कामको प्रारम्भ गरिने र निर्णयमा फेरबदल भइरहने सम्भावना पनि देखिंदैछ ।

आगामी २०७५ सालको ग्रह परिषद्को मन्त्री शनिश्चर ग्रह छ । शनिश्चर मन्त्री हुँदा निम्नानुसारको फल प्राप्त हुने उल्लेख गरिएको पाइन्छ :-

रविसुते यदि मन्त्रिणि पार्थिवा विनयसंरहिता बहुदुःखदा ।

न जलदाजलदाजनतापदा जनपदेषु सुखं धनदं क्वचित् ।।

(दण्डनायक शनिश्चर मन्त्री पदमा बसेको वर्षमा शासकमा क्रूरता हुन्छ, तिनको जनताका इच्छा र आकाङ्क्षाप्रति आकर्षण हुँदैन, जनताले शासकबाट पीडित हुनुपर्छ, खोलामा पानीको कमी हुन्छ, अग्निभय, धननाश र अन्नउत्पादनमा कमी हुने भएकाले जनताले सुखको आशा गर्ने ठाउँ हुँदैन ।)

फलाम, मिलमेसिनरी, तेल, काला रङका चिजबिज, रोग, शत्रु, दुःख, स्नायुप्रणाली, मृत्यु, भैंसी, वातरोग, दुब्लोपन, लोभ, अभाव, कन्जुसी, एकान्त, मजदुरी, ठेकेदारी, अन्धकार, निराशा, आलस्य, मूर्खता, अपमान, छाला, पुराना वस्तुहरू, फोहोरमैला र कवाडी सामान, आयु, काठ, अलकत्रा, पिशाच बाधा, जोर्नी, छापाखाना, कोइला, पुरातत्त्व विभाग आदिमा शनिको वास हुन्छ । त्यस्तै शरीरमा कोढरोग, वातरोग, स्नायुरोग, खुट्टा वा घुँडाको रोग, पसिना वा शरीरको गन्ध, हाडजोर्नीको रोग, छालाको समस्या, दुर्घटना, उदासीनता, बाथरोग, थकाइ, पोलियो आदि रोगको कारक पनि शनिलाई नै मान्ने गरिन्छ । शनिश्चर ग्रहको न्यायसम्पादन, दण्डव्यवस्था र पापधर्मको विवेकमा अधिकार हुन्छ । त्यसैले यस वर्ष सरकारमा क्रूरता देखिनु र जनतामा विविध व्यवहारिक र रोगजन्य समस्या देखिनु सामान्य मान्न सकिन्छ ।

यस पटक कृषि क्षेत्रमा दुई वटा ग्रहको प्रभाव देखिन्छ, वर्षे बालीको जिम्मेवारी (सस्येश) मङ्गलले र हिउँदे बालीको जिम्मेवारी (धान्येश) सूर्यले प्राप्त गरेका छन् ।

सस्येश मङ्गलको फल यस्तो छ :-

प्रथमधान्यपतौ धरणीपतौ गजतुरङ्गखरोष्ट्रगवामपि ।

प्रभवदा बहुरोगघनोजलं न समसौख्यकरं तुषधान्यहृत् ।

धान्येश सूर्य भएमा यस्तो फल पाइन्छ :-

पश्चाद्धान्याधिपे सूर्ये पश्चाद्धान्यं तदा न हि ।

विग्रहं भूभृतां धान्यं महर्घं ज्वरपीडनम् ।।

मङ्गल र सूर्यको कृषिक्षेत्रमा प्रभाव रहँदा वर्षे र हिउँदे दुबै बालीमा दुष्प्रभाव पर्नेछ, अन्न धान, गहुँ, तुलफूल, मकै आदि अन्नादिको दाममा ह्वात्तै बृद्धि हुने गर्दछ । पशुधन र पन्छीसम्पदामा रोगव्याधिको प्रकोप हुन्छ । चोरी, आगलागीजस्ता प्राकृतिक प्रकोपका कारण नोक्सानी हुनेछ । प्रशासन र सरकारमा द्वन्द्व र खिचातानी भइरहन्छ । नदीनालामा जलस्तरमा कमी हुनेछ । शनिका कारण कतिपय ठाउँमा दुर्भिक्ष र वादविवाद एवं झगडा बढ्ने छ ।

सिंचाइ मन्त्रालयको जिम्मेबारी क्रमशः शुक्र र बृहस्पतिले पाएका छन् । मेघको स्वामित्व शुक्र र रसको स्वामित्व बृहस्पतिले गर्दैछन् ।

शुक्र ग्रहले मेघेशको जिम्मा लिंदा यस्तो फल प्राप्त हुन्छ :-

भृगुसुते जलदस्य पतिर्यदा जलयुतो जलदा दिवि शोभनाः ।

धननिधानयुता द्विजपालकाः नृपतयो जनतासुखदायकाः ।।

त्यस्तै बृहस्पति रसेश हुँदा यस्तो फल हुन्छ :-

यदि गुरौ रसपे जनसौख्यदे कमलवन्ति सरांसि तृणानि च ।

जनपदा द्विजपूजनतत्परा गजसवाजिरधोष्ट्रयुता नृपाः ।।

माथिका दुवै श्लोकको भावार्थ हो :- रसेश पदको शुक्रका कारणले पर्याप्त वर्षा हुनेछ, नदी र सरोवर भरिपूर्ण रहने छन् । जनताले सुखशान्ति प्राप्त गर्ने देखिन्छ, राज्यका पदाधिकारीहरूले विद्वता र प्राज्ञिक क्षेत्रको सम्मान गर्नेछन् । उता बृहस्पतिको प्रभावले यस वर्ष पर्याप्त वर्षा हुनेछ । लोकमा आनन्दको सञ्चार हुनेछ, ज्ञानविज्ञानका नयाँनयाँ क्षेत्रमा सबैको ध्यान आकृष्ट बन्नेछ । सरकारमा सम्पन्नता बढ्ने छ ।

चन्द्र ग्रहले यस वर्ष निरसेशको भूमिका निर्वाह गर्दैछ । निरस भनेको ठोस पदार्थ र धातु हो । यसको स्वामित्व पाएको हुनाले चन्द्रले प्रदान गर्ने फलको प्रभाव यस्तो छ :-

शुक्लवर्णादिवस्तूनां मुक्तारजतवाससाम् । अर्घवृद्धिः प्रजायत शशाङ्के नीरसाधिपे ।

यसको भावार्थ हो :- चन्द्रमा नीरसको भूमिकामा भएकाले सेतो पदार्थको मूल्यमा बृद्धि हुनेछ । मोती र चाँदीको दाम बढ्ने छ । महँगी चुलिने छ ।

त्यसबाहेक शुक्र ग्रहले फलेशको भूमिका निर्वाह गरेको छ । यसको प्रभावले प्रशस्त फलफूलको उत्पादन हुनुका साथै यसको मूल्यमा गिरावट आउने सङ्केत छ । धर्मकर्म र संस्कारका काममा बृद्धि हुनेछ । त्यस्तै आर्थिक अधिकार पनि चन्द्रमाले नै प्राप्त गरेको छ । त्यसैले वित्तीय पक्षमा शुभ फल प्राप्त हुनेछ । रसिलो र तरलपदार्थ, सेतो चिजबिज आदिको कारोबार गर्नेले यसको अनुकूल प्रभाव प्राप्त गर्नेछन् । यस वर्षमा सुरक्षा निकायको जिम्मेबारी शुक्र ग्रहको जिम्मामा छ । परम्परा, अध्यात्म र ज्ञानप्रति वफादार ग्रह सेनापति बनेको हुँदा देशको आन्तरिक मामिला र सीमामा देखिने समस्याहरू हल हुने सम्भावना छ । न्याय र कानुनको स्थापना हुनेछ । देशमा परम्परा, संस्कृति र धर्मकर्म सापेक्ष कार्यमा जनताको आकर्षण बढ्ने देखिन्छ ।

विक्रम संवत् २०७५ सालको वार्षिक भविष्यफल

सामान्यतया वैशाख १ गते सूर्यले एउटा राशिचक्र पूर्ण गरी नयाँ राशिचक्रमा प्रवेश गरेको मानिन्छ । व्यक्ति रहेको स्थानमा सूर्यले नयाँ राशिचक्रमा प्रवेश गरेको दिन र समयमा आउने लग्नलाई जगल्लग्न भन्ने गरिन्छ । यस पटक नयाँवर्षका दिन सूर्यले नवीन राशिचक्रमा प्रवेश गरेको बेला नेपालको परिप्रेक्षमा मिथुन लग्न रहेको देखिन्छ । दोस्रो घरमा राहु, पाँचौं घरमा बृहस्पति, सातौं घरमा मङ्गल र शनिश्चर, आठौं घरमा केतु, दसौं घरमा लग्नको मालिक मानिएको बुध ग्रह र चन्द्रमा तथा एघारौं भावमा सूर्य र शुक्र बसेर यस वर्षको वर्षप्रवेश कुण्डलीको संरचना भएको देखिन्छ । कुण्डलीको सप्तम भावमा मङ्गल र शनिश्चरको, दशम भावमा चन्द्रमा र बुधको तथा राज्यस्थानमा सूर्य र शुक्रको युति हुनुका साथै बाँकी कोठामा ग्रहहरूको स्वतन्त्र उपस्थिति (क्रमशः दोस्रो भावमा राहु, पाँचौं बृहस्पति र आठौं केतु) रहेको देखिन्छ । समग्रमा यी विशेषताहरूले युक्त जगल्लग्न कुण्डलीमा लग्नेश बुधले कर्म स्थानमा गएर धनेश चन्द्रमाका साथमा रहनु कुण्डलीको सकारात्मक पक्ष हो भने एघारौं राज्य स्थानमा तृतीयेश सूर्य आफ्नो उच्च राशिमा शुक्र ग्रहका साथमा उपस्थित हुनु एवं षष्ठेश मङ्गलले अष्टमेश शनिका साथमा सप्तम भावमा युतिसम्बन्ध बनाएर बस्नु चाँहि नकारात्मक परिणाम हो ।

यस वर्ष विभिन्न ग्रहहरू निम्न समयमा बक्री रहने छन् । उक्त समयमा ती बक्री रहेका ग्रहहरूकाे स्वामीत्वमा रहने राशिहरूमा निराशा, तनाव, छटपटी, काममा बाधा आदि विभिन्न नकारात्मक प्रभाव पर्ने गर्दछ ।

मङ्गल (मेष र बृश्चिक राशि) – असार १० देखि भाद्र ०७ सम्म

बुध (मिथुन र कन्या राशि) – साउन ०३ देखि २५ सम्म, कार्तिक २४ देखि मंसिर १७ सम्म, फाल्गुन २१ देखि चैत्र ०६ सम्म

बृहस्पति (धनु र मीन राशि) – बक्री (वैशाख ०१ देखि असार ३० सम्म), अस्त (कार्तिक २६ देखि मंसिर २१ सम्म)

शुक्र (बृष र तुला राशि) – असोज १४ देखि कार्तिक २३ सम्म

शनिश्चर (मकर र कुम्भ राशि) – वैशाख ०२ देखि भाद्र १९ सम्म

अब वर्षप्रवेशको समयमा रहेको जगल्लग्न कुण्डलीका आधारमा विभिन्न राशिका व्यक्तिहरूले यस वर्ष केकस्तो फल पाउने छन्, त्यसको चर्चा गरौं ।

मेष राशि –

मेष राशि हुनेहरूका निमित्त यस वर्षको पूर्वार्द्ध शुभकारक र उत्तरार्द्ध निराशाजनक रहने छ । असोजसम्म पठनपाठन, शैक्षिक क्षेत्र, व्यापार, साझेदारी र सामूहिक कामबाट लाभ मिल्नेछ । पारिवारिक समस्याहरू समाधान हुने छन् । सम्पत्तिसम्बद्ध मुद्दामामिलामा सफलता मिल्नेछ । सन्तान पक्षबाट शुभ समाचार मिल्नेछ । पारिवारिक यात्राको सम्भावना छ । तर कार्तिकपछि मानसिक चिन्ताले सताउने छ । मनमा के गर्ने र के नगर्ने भन्ने दुविधाको सिर्जना भइरहन्छ । सरकारी कर्मचारीहरूको कार्यभारमा वृद्धि हुनेछ । व्यापारीहरूको कारोबारमा बाधा उत्पन्न हुनेछ । यद्यपि कारोबारको सुसञ्चालनमा कमी देखिने छैन । मातापिताको स्वास्थ्यमा समस्या आउन सक्छ । विद्यार्थीहरूले कडा परिश्रम गर्नुपर्नेछ । नारीहरूले संयमित व्यवहार देखाउन सकेमा मात्र घरको वातावरण सुखमय बन्नेछ । यस वर्षको जेठ, कार्तिक र चैत्र महिना कष्टदायक रहने छन् ।

उपाय –

मेष राशि हुनेहरूका निमित्त यो नयाँ वर्षभरि शुभफलमा बृद्धि भइरहोस् भन्ने उद्देश्यले मङ्गलबारका दिन व्रत बस्नु वा उमेर पुगेकाले मङ्गल कवचको र बालबालिकाले हनुमान् चालिसाको पाठ गर्नु वाञ्छनीय हुनेछ । दैनिक रूपमा गाईलाई खानेकुरा प्रदान गरेमा वा मुँगा रत्न धारण गरेमा पनि शुभफलमा बृद्धि हुनेछ ।

वृष राशि –

वृष राशि हुनेहरूको अष्टम भावमा यस वर्ष शनिको उपस्थिति रहनेछ । त्यसैले यिनीहरूले आकस्मिक रूपमा घर र परिवारमा विविध समस्याको सामना गर्नुपर्ने हुन्छ । दैनिकीमा कार्यबोझ बढ्ने छ । आँखा र टाउको सम्बन्धी रोगव्याधि देखिन सक्छ । व्यापारीहरूले प्रतिस्पर्धा गर्नुपर्छ र आर्थिक क्षेत्रमा मन्दीको सामना गर्नुपर्नेछ । बैंक, वित्तीय क्षेत्र, सेयरबजार, सट्टापट्टामा फाइदा हुने छैन । सवारीसाधनमा यात्रा गर्दा वा वाहन चलाउँदा सचेतता अपनाउनु पर्छ, दुर्घटनाको भय छ । सम्पत्ति अपचलनको सम्भावना छ । पतिपत्नीबीचमा ठास्सठुस्स बढ्ने छ । तर वर्षको उत्तरार्द्धमा केही राम्रा परिणाम प्राप्त हुनेछन् । पुराना समस्या हल हुनेछन्, रोकिएका काममा सफलता पाइनेछ । विवाहयोग्य युवायुवतीले दाम्पत्यबन्धनमा बाँधिने अवसर पाउने छन् । सन्ततिपक्षबाट शुभ सङ्केत मिल्नेछ । यस वर्षको वैशाख, असार र मंसिर महिना हानिप्रद समय हुनेछ ।

उपाय

शनिवारका दिन व्रत बस्नु वा पीपलको पूजा गर्नु राम्रो हुन्छ । त्यसबाहेक वर्षको प्रारम्भमा नै शनिको शान्तिका निमित्त रुद्राभिषेक गरी शनिमृत्युञ्जयको पाठ गराउनु पनि लाभप्रद हुनेछ । काला चिजबीज कालोदाल, गहत आदिको दान गर्नु, सूक्ष्म जीव र तुच्छ जीवन यापन गरिरहेका मानवको सेवा गरेमा पनि लाभ प्राप्त हुनेछ ।

मिथुन राशि –

मिथुन राशि हुनेहरूका लागि यो वर्ष मिश्रित फल प्राप्त हुने समय रहने छ । परिवारका वृद्धजनहरूको स्वास्थ्यस्थितिमा सुधार आउने छ । घरपरिवारमा कुनै शुभ वा माङ्गलिक कर्म सम्पन्न हुनेछ । बन्दव्यापार र पशुपालनको क्षेत्रबाट लाभ मिल्नेछ । विद्यार्थी वर्गका लागि यो वर्ष उत्तम रहने छ, प्रतियोगी र परीक्षार्थीहरूले सफलता मिल्नेछ । सन्तान सुख प्राप्त हुनेछ । सरुवा र बढुवाका लागि गरिएको प्रयास सफल हुनेछ । कुनै लामो यात्राको सम्भावना पनि देखिंदैछ । तर बैंक, वित्तीय क्षेत्र, पूँजीबजार र विज्ञापनका क्षेत्रमा काम गर्नेहरूले मन्दीको सामना गर्नुपर्ने छ । आफन्तसँगको लेनदेनको कारोबार र साझेदारीको काममा विवाद उत्पन्न हुनेछ । दाम्पत्य जीवनमा विचारको बेमेलले तनाव सिर्जना गर्नसक्छ । पारिवारिक स्वास्थ्यका क्षेत्रमा ठूलै धनराशि खर्च हुने सम्भावना पनि छ । यस वर्ष जेठ, साउन र पुस महिनामा शुभफलको कमी हुनेछ ।

उपाय –

शुक्रवारका दिन व्रत लिनु राम्रो हुन्छ । भगवती दुर्गा वा महाकालीको मन्दिरमा नियमित रूपमा पूजाअर्चना र दर्शन गरेमा पनि लाभ प्राप्त हुनेछ । कमिलालाई चारो दिनु, गाईलाई तुलादान गर्नु वा कुनै सौभाग्यवती महिलालाई सौभाग्यका सामाग्री उपहार दिंदा पनि शुभफल प्राप्ति हुनेछ ।

कर्क राशि –

कर्क राशि हुनेहरूका निमित्त यस वर्ष नोकरी र सामाजिक काममा पदोन्नति, मानसम्मान मिल्ने समय भए पनि समग्रतामा मिश्रित परिणाम प्राप्त हुनेछ । आर्थिक पक्ष मजबूत नै रहने छ र कर्मचारीले अनिच्छित काम गर्नु परे पनि आर्थिकबृद्धिका लागि गरिएको प्रयास सफल हुनेछ, त्यस्तै प्रतियोगी र परीक्षार्थीले राम्रो नतिजा हात पार्ने सङ्केत छ । तर आकस्मिक व्ययको चिन्ताले सताउने देखिन्छ । बैंक, वित्तीय क्षेत्र र सेयरबजारमा फाइदा हुने छैन । लगानी डुब्ने खतरा छ । जागिरेले नचाहेको क्षेत्रमा खट्ने परिस्थिति बन्ने छ । गृहिणी र महिलामा मानसिक तनाव बढ्ने छ । घरमा कोही न कोही बिमारी भइरहने परिस्थिति बन्नेछ । पारिवारिक स्वास्थ्यका सिलसिलामा अस्पताल धाइरहनु पर्नेछ । आँफू स्वयंलाई पेट र दाँतका रोग देखिन सक्छन् । यस वर्षको असार, भदौ र माघ महिना हानिकारक देखिन्छन् ।

उपाय –

सोमवारका दिन वा पूर्णिमाका दिन व्रत लिनु राम्रो हुन्छ । नियमित रूपले भगवान् शिवको उपासना गर्दा पनि शुभफल पाइने भएकाले वर्षारम्भमा घरमा रुद्राभिषेकको आयोजना गरी शिवजीलाई दुग्धाभिषेक गराउनु असल हुन्छ अथवा दैनिक रूपमा बालबालिकालाई नरिवल र मिश्री मिसाएर बाँड्दा पनि शुभफलमा बृद्धि हुनेछ ।

सिंह राशि –

सिंह राशि हुनेहरूका लागि यो वर्षको सुरुको छ महिना शुभ देखिदैन । वर्षको प्रारम्भमा अग्निभय, चोरभय र चोटपटकको सम्भावना छ । पेसा र रोजगारीका क्षेत्रमा अनेकानेक कठिनाइको सामना गर्नु पर्ने छ । बन्दव्यापारमा हानि हुनेछ । सूचना, सञ्चार र मौखिक अभिव्यक्तिसित सम्बद्ध काम गर्नेहरूको प्रतिष्ठा गिर्नेछ । शरीरमा रहेका पुराना रोगव्याधिले दुःख दिनेछन् । परिवारका ज्येष्ठसदस्य र जीवनसाथीको स्वास्थ्यमा पनि समस्या उत्पन्न हुनेछ । घरमा बाध्यताकारी धार्मिक कृत्य वा माङ्गलिक कर्मका कारण आर्थिक बोझ बढ्ने छ । तर वर्षको उत्तरार्द्धमा शत्रुहरू पराजित हुनेछन् । गुमेको धन हात लाग्नेछ । पारिवारिक स्वास्थ्यसम्बन्धी समस्याबाट छुटकारा मिल्नेछ । दाम्पत्यजीवन सफल रहने छ । प्रतियोगी र परीक्षार्थीले सफलता पाउने छन् । पुराना इष्टमित्रसँग पुनः सहकार्य हुनेछ । यस वर्षको साउन, असोज र फाल्गुन महिना अझ बढी कष्टप्रद रहने छ ।

उपाय –

भगवान् विष्णुको उपासना र आराधनाबाट शुभफलमा बृद्धि हुनेछ, त्यसैले वर्षको प्रारम्भमानै श्रीमद्भागवतको पाठ परायण वा सत्यनारायण भगवानको पूजा लगाउनु वाञ्छनीय हुनेछ । त्यसबाहेक प्रत्येक दिन सूर्योदयको समयमा गुलियो मिसाएर शुद्धजलले सूर्यलार्इ अर्घ्य दिंदासमेत लाभ पाइने छ ।

कन्या राशि –

कन्या राशि हुनेहरूका लागि यो वर्ष समस्त मनोकाङ्क्षा पूर्ण गर्ने समय भएकाले अत्यन्त शुभ रहने छ । कर्मचारीको चाहेको ठाउँमा सरुवा हुने वा बढुवा मिल्ने सम्भावना छ । नातेदारहरूले सहयोग गर्नेछन् । प्रेम र प्रणय क्षेत्रमा शुभफल छ । विद्यार्थीहरूले परिश्रम गरेबमोजिम राम्रो परिणाम हात पार्नेछन् । जग्गाजमिन र घरघडेरीको जोहो हुनसक्छ । वैदेशिक क्षेत्रमा काम बन्नुका साथै विदेशबाट लाभसमेत हुनेछ । तथापि चतुर्थ भावमा रहेको अढैया शनिका कारण पारिवारिक समस्या बढ्न सक्छन् । राज्यपक्ष वा ठूलाबडासँग मतभेद र विवादको परिस्थिति देखा पर्नेछ । साँधसँधियार र साझेदारीमा विवाद र कलहको सम्भावना हुनेछ । कर्मचारीको कार्य क्षेत्रमा झमेला र विवादको स्थिति देखा पर्नेछ । स्वास्थ्यक्षेत्रमा श्वासप्रश्वास र हृदयरोगीले सतर्क रहनु आवश्यक छ । यस वर्षको भाद्र, कार्तिक र चैत्र महिना अन्य महिनाका तुलनामा हानिकारक रहने छन् ।

उपाय –

राहु ग्रहको बीज मन्त्रको नियमित जाप गर्नाले लाभ मिल्नेछ । प्रत्येक पक्षको पञ्चमी तिथिका दिन शिवालयमा दूध र लाजा चढाएमा पनि लाभ हुनेछ । त्यसबाहेक सर्पाकृति औंठी वा लकेट बनाएर धारण गरेमा वा रोगी र असहायको सेवा गरेमा तथा कसैलाई झुट्टा आश्वासन नदिएमा पनि शुभफलमा बृद्धि हुनेछ ।

तुला राशि –

तुला राशि हुनेहरूका लागि यो वर्ष शुभ फलदायी समय रहने छ, यद्यपि स्वास्थ्यसम्बद्ध समस्या देखा पर्न सक्छन् । गरेका हरेक क्रियाकलापमा सफलता प्राप्त हुनेछ । सामाजिक कार्यमा सहभागिता बढ्ने छ । तर व्यापारीहरूको बन्दव्यापारमा मन्दीको सङ्केत छ, ऋणभार बढ्न सक्छ । सरकारी कर्मचारीहरूले कार्यक्षेत्रमा कार्यभार बढेको अनुभूति गर्नेछन् । बौद्धिक क्षेत्र खासगरी शिक्षण, अध्यापन, लेखन पत्रकारिता क्षेत्रका व्यक्तिहरूले सम्मानित हुने अवसर पाउने छन् । आर्थिक पक्षका समस्याको निराकरण हुनेछ, तर घरभित्रका समस्या बल्झिने सम्भावना हुन्छ । पारिवारिक ढंगले गरिएको लगानी र लेनदेनमा हानि पुग्नसक्छ । वर्षको अन्त्यमा कर्मचारीले उपल्लो निकायबाट दवाव बढेको अनुभूति गर्नेछन् । अड्डाअदालतबाट लाभ लिन सकिंदैन । आम्दानीको बाटो सहज भए पनि फजुल खर्च बढ्ने सम्भावना पनि छ । खासगरी यस वर्षको वैशाख, असोज र मंसिर महिना तपाईंका लागि सतर्क रहनु पर्ने समय हो ।

उपाय –

बिहीबारका दिन गुरु वा भगवान् विष्णुको व्रत लिनुहोस् । रहर वा चनाको दाल अथवा मौसमअनुसार पाकेका फलफूलको दान गर्नुहोस् । आफ्ना पुजेका ब्राह्मण वा गुरुलाई बोलाएर प्रत्येक महिनाको सङ्क्रान्तिका दिन भोजन गराउनु होस् अथवा भगवान् नारायणको मन्दिरमा हरेक बिहिबारका दिन पहेंलो फूल चढाउनु हवस् ।

वृश्चिक राशि –

वृश्चिक राशि हुनेहरूका लागि पूर्वार्द्धका तुलनामा उत्तरार्द्ध केही लाभमूलक रहने सङ्केत छ । शनिश्चर ग्रहको अन्तिम साढेसातीको समय रहेकाले अनावश्यक खर्चलाई नियन्त्रण गर्न सकिंदैन । मेसिन, हातहतियार र वाहनबाट सचेत हुनुपर्छ, दुर्घटनाको प्रकोप सहनु पर्नेछ । नाता र कुटुम्बका बीचमा विवाद र झैझगडाको परिस्थिति सिर्जना हुनेछ । बहुमूल्य सामान हराउने र चोरी वा ठगीमा पर्ने सम्भावना देखिन्छ । आर्थिक स्थिति सामान्य रहे पनि बन्दव्यापारबाट लाभ लिन सकिंदैन । प्रतियोगी र परीक्षार्थीले पहिलेभन्दा अलिबढी मिहिनेत गर्नुपर्नेछ । सुरुको छ महिना चिताएका काम पूर्ण गर्न विभिन्न विघ्न र बाधाको सामना गर्नुपर्ने हुन्छ, तर उत्तरार्द्धमा चिताएका काम बन्नेछन् । विवाहयोग्य युवायुवतीको घरजम हुनेछ । वैदेशिक प्रयोजनका कामबाट लाभ लिन सकिने छ । विशेषगरी यस वर्षको जेठ, कार्तिक र पुस महिना बढी हानिकारक रहने छन् ।

उपाय –

मङ्गलबारका दिन व्रत लिनुहोस् । श्री गणेश अथर्वशीर्ष, हनुमान् चालिसा वा सुन्दरकाण्डको नियमित पाठ गर्नुहोस् । गाईलाई चारोका रूपमा गहुँ खुवाउनु होस् । मुँगा रत्न धारण गर्नुहोस् अथवा हरेक मङ्गलबारका दिन भगवान् गणेशको प्रतिमामा २१ वटा दुबो चढाउनु हवस् ।

धनु राशि –

धनु राशि भएका व्यक्तिहरूले यस वर्ष केही सकारात्मक फल प्राप्त गर्नेछन् । शनिको मध्य साढेसातीको समय चलिरहेकाले दौडधूप र सङ्घर्षप्रद समय रहे पनि अड्डाअदालत र राज्यपक्षबाट हुनु पर्ने काममा सफलता मिल्नेछ । पुराना झैझगडा र विवादको अन्त्य हुनेछ । गुमेको धन फिर्ता आउने छ । सन्ततिपक्षबाट शुभफल प्राप्त हुनेछ । वैदेशिक प्रयोजनका कामबाट लाभ पाइनेछ । विदेशयात्राको योग छ । सरकारी पद र प्रतिष्ठा आर्जन गर्न गरेको प्रयास सफल हुनेछ । वाहन जोड्ने वा घरघडेरीको जोहो गर्ने समय आएको छ । तर घरपरिवारमा सबैको स्वास्थ्यसम्बद्ध अनेकानेक समस्या देखिन सक्छन् । विशेषगरी पाचन प्रणालीमा विविध समस्या देखा पर्ने सम्भावना छ । वर्षान्तमा पवित्र तीर्थस्थलको भ्रमण हुनसक्छ र सामाजिक कार्यमा खर्च बढ्ने सङ्केत छ । खासगरी यस वर्षको असार, मंसिर र माघ महिना अनुकूल हुने छैनन् ।

उपाय –

शनिवारका दिन एकाबिहानै पीपलको पूजा गर्नुहोस् । ब्लड डोनेसन (रक्तदान) गर्नुहोस् । कतै बृक्षारोपण गरी त्यसलाई उचित स्याहारसम्भार गर्नुहोस् । गरिबगुरुबालाई आवश्यकतानुसार दानादि गर्नुहोस् अथवा जामुनिया रत्न चाँदीमा औंठी बनाई धारण गर्नुहोस् ।

मकर राशि –

मकर राशिमा आद्य साढेसातीको प्रकोप रहेको वर्ष भए पनि मिश्रित प्रभाव भएको समय छ । आर्थिक दृष्टिले समय तनावपूर्ण रहने छ । नातागोता र आफन्तका बीचमा खटपट बढ्ने छ । पति वा पत्नीको स्वास्थ्यस्थिति कमजोर बन्नेछ । बन्दव्यापारमा साझेदारबाट समस्या उत्पन्न हुनेछ । रिस र आवेगमा बृद्धि हुनेछ । मनोबलमा खस्कने छ । कर्मचारीले अपजसको भागी बन्नुपर्नेछ, नचाहेको जिम्मेबारी लिनुपर्ने वा मन नपरेको ठाउँमा सरुवा हुनुपर्ने परिस्थिति पनि देखिन्छ । परिवारमा बाध्यताकारी काममा धनखर्चको योग छ । तर केही शुभफल पनि पाइने छ, जस्तै वैदेशिक क्षेत्रका कामबाट लाभ हुनेछ, परिवारमा माङ्गलिक कर्म सम्पादन हुनेछन् । सन्ततिपक्षबाट खुसीको वातावरण बन्नेछ । अयाचित धनागम हुनेछ र पुर्ख्यौली सम्पत्तिको बाडफाँडको सङ्केत पनि देखिंदैछ । खासगरी यस वर्षको साउन, पुस र फाल्गुन महिना तपाईंका लागि लाभप्रद रहने छैनन् ।

उपाय –

दैनिक रूपमा श्रीमद्भागवत, गीता, विष्णुसहस्रनामस्तोत्र वा विष्णुकवचको पाठ गर्नुपर्छ । वर्षको प्रारम्भमा श्री सत्यनारायणको पूजाअर्चना गर्दा शुभफल प्राप्त हुनेछ । छात्रछात्रालाई मिश्री र नरिवल मिसाएर वितरण गर्दा पनि शुभफलमा बृद्धि हुनेछ ।

कुम्भ राशि –

कुम्भ राशि हुनेहरूका लागि यो वर्ष अनुकूल रहने छ । नयाँ कामको थालनी हुनेछ । व्यापार बढ्ने आय आर्जनका नयाँ नयाँ स्रोत फेला पर्नेछन् । फँसेको धन फिर्ता आउने छ । घरायसी र पारिवारिक तनावको अन्त्य हुनेछ । धार्मिक र पर्यटकीय महत्त्वका क्षेत्रको भ्रमण हुनेछ, वा कतै पारिवारिक भ्रमणमा जान सक्नुहुन्छ । विद्यार्थी, प्रतियोगी र परीक्षार्थीले मिहिनेतबमोजिम राम्रो परिणाम प्राप्त गर्नेछन् । सन्ततिले आफ्नो कार्यक्षेत्रमा गरेका प्रयासमा सफलता आर्जन गर्नेछन् । घरपरिवारमा शुभकर्म वा माङ्गलिक कर्मको आयोजन हुनेछ । यद्यपि मातापिता वा अभिभावकको स्वास्थ्यमा बाधा पुग्ने सम्भावना छ, तर डराइहाल्नु पर्ने परिस्थिति बन्दैन । जागिरेले प्रशंसा र बढुवा पाउने छन् । समग्रमा राम्रै वर्ष छ, तर साझेदारीमा गरेको कामबाट बेफाइदा हुनेछ । यस वर्षको भाद्र, माघ र चैत्र महिना सचेत हुनुभएको जाति हुन्छ ।

उपाय –

यस वर्ष अझ उत्कृष्ट फल प्राप्त गर्न वर्षको प्रारम्भमा घरमा सत्यनारायणको पूजा गर्नु राम्रो हुन्छ । त्यसबाहेक हरेक हप्ताको आइतबारका दिन व्रत लिनु, आदित्य हृदय स्तोत्रको पाठ गर्नु वा हरेक दिन सूर्यलाई अर्घ्य प्रदान गर्नु पनि तपाईंका लागि लाभदायक रहने छ ।

मीन राशि –

यो वर्ष धनधान्य र सुस्वास्थ्यका दृष्टिकोणले उत्तम समय छ । सुखद र शुभ समाचारहरू प्राप्त हुनेछन् । जग्गाजमिन, मोटरगाडी, आभूषण र गरगहना जोड्ने समय छ । ठूलो पद वा सम्मानको अवसर मिल्नेछ । शुभकर्म र माङ्गलिक कर्मको आयोजना हुनेछ । दाजुभाइसितको सम्बन्ध सुध्रने सङ्केत छ, तर पैतृक सम्पत्ति र लेनदेनको विवाद अझ चुलिन सक्छ । व्यापारीहरूले नयाँ कारोबार सुरु गर्नेछन् । मिडिया र लेखनव्यवसायका व्यक्तिहरूले मानसम्मान र प्रतिष्ठा पाउने छन् । तर सामाजिक र राजनीतिमा लागेकाहरूले अलि बढी चुनौतीको सामना गर्नुपर्ने हुन्छ । दाम्पत्यजीवनमा विश्वासको सङ्कट देखा पर्नेछ, त्यसैले भ्रम र हल्लाका भरमा कुद्नु हुँदैन । वर्षको पूर्वार्द्धमा अष्टमभावमा राशिस्वामी रहेकाले रोगव्याधि र चोटपटकको भय हुनेछ, सचेत हुनुपर्छ । विशेषगरी यस वर्षको वैशाख, असोज र फाल्गुन महिना तपाईंका लागि लाभप्रद रहने छैनन् ।

उपाय –

हरेक मङ्गलबारका दिन गणेशजीको व्रत लिनु राम्रो हुन्छ अथवा हरेक मङ्गलबार वा बुधबारका दिन गाई वा कालो बोकोलाई हरियो घाँस खुवाउनु पनि लाभप्रद रहने छ । एउटा पन्ना रत्न सुनमा जडान गरी औंठी वा लकेट बनाएर धारण गर्दा पनि लाभ लिन सकिने छ । पैतृक कर्म र कुलायनको पूजाआजामा सहभागी हुँदा पनि शुभफल बढ्ने छ ।

ज्योतिष कृष्णप्रसाद कोइरालाद्रारा लिखित राशिफल र साथमा बिबिध जानकारीको सम्पर्क नम्बर ९८५२०५९७६४/९८१४३४८१११  www.jyotishsathi.com