शंकर बिसीले रुदै मागे माफी, कमेन्ट पढ्दा खेरि एकछिन त आत्महत्या गर्न मन लाग्यो (भिडियोसहित)

काठमाडौं, १६ चैत ।

पत्रकारलाई धम्काएको भिडियो सार्वजनिक भएपछि जताततै चर्को आलोचनाको सिकार बनेका चर्चित कलाकार शंकर बिसीले माफी मागेका छन् । साथै उनले आफुले पत्रकारलाई धम्काएको भनि मिडियामा एकोहोरो समाचार आएको भन्दै असन्तुष्टि पनि पोखेका छन् ।

बिसीले आफु जानाजान क्यामेरा अगाडि नगएको प्रष्ट पार्दै अन्जानरुपमै त्यसो हुन पुगेको बताए । संचारकर्मी उत्सव रसाइलीसंगको कुराकानीका क्रममा बिसीले भने- ‘मैले त्यत्तिकै उहाँलाई त्यस्तो भनेको होईन, बजारमा एकतर्फी समाचार आयो । कार्यक्रमको स्टेज पछाडी ड्रेस चेन्ज गर्ने रुमकै छेउमा एक जना पत्रकारले कलाकारसंग अन्तरवार्ता लिइरहनु भएको रहेछ, ढोकै निर, त्यो मलाई थाहा भएन । म भित्रबाट बाहिर आँउदा उहाँको क्यामरा छेकीएछ, मैले सरि सरि…भन्दै उता गए ।’

यो भिडियो पनि हेरौ शंकर बिसी संग कुराकानी

उनले आफुलाई ति पत्रकारले हेपेर थर्काएको र त्यसपछि आफु आवेगमा आएर प्रतिक्रिया दिएको पनि स्वीकार गरेका छन् । उनले भनेका छन्,- ‘क्यामराको अगाडी जानु हुन्न भन्ने कुरा मलाइ पनि थाहा छ, म पनि डाईरेक्टर हुँ । तर उहाँले मलाई यसरि घुरेर हेर्नु भयो की, आएर झम्टेला, कुट्ला झै गरि, ह्याँ देखेन ? भनेर मलाई थर्काउनु भयो । यो सुरुको घटना पनि आउनु पथ्र्यो तर, उहाँले त्यो नगरेर म अलि रिसाएको मात्रै भिडियो बाहिर ल्याउनु भयो । मलाई हेपेर त्यसरि थर्काएपछि म अलि आबेगमा आएको हुँ । म कामको प्रेसरमा पनि थिए, त्यत्रो सास्ंकृतीक कार्यक्रमको संयोजकै म थिए ।’

निर्देशक समेत रहेका बिसीले घटनाको एकहोरो समाचार मात्रै बाहिर ल्याएर आफुलाई बदनाम गर्न खोजिएको दुखेसो पोखे । बिसिको उक्त भिडियो भाइरल भएपछि सामाजिक सञ्जाल उनिबिरुद्ध खनिएको छ । केहि व्यक्तिहरुले उनको व्यक्तिगत कुरालाई जातीयतासँग जाेडेर गालीगलौजमा उत्रिएको समेत भेटिएको छ । तर बिसीले भने जातीयताको कुरा उठाएर आफुमाथि गालीगलौज भैरहेको भन्दै त्यसको कानुनी उपचार खोज्ने पनि बताए ।

आफ्नो आत्मसम्मानमा आँच आउने गरी जातीयताको बिषयलाई लिएर गरिएको गालीगलौजले सिङ्गो ६० लाख दलित समुदाय माथि नै अन्याय भएकाले उनले बताए । उक्त कुराकानीका क्रममा बिसी निक्कै भावुक देखिन्छन् । संचारकर्मी रसाइलीको कुराकानीका क्रममा उनि रोएका समेत छन् ।

नेपालको संविधानमा कुनै पनि ब्यक्तीलाई उसको, जात, धर्म, लिँग, भाषाका आधारमा भेदभाव गर्न पाइने छैन भनिएको छ । यदि त्यस्तो गरेको पाइएमा कानुन अनुसार दण्डनिय हुनेछ समेत भनिएको छ । त्यसैगरि, जातिय रुपमा गाली गलौच तथा भेदभाव गर्नेलाई जातिय भेदभाव तथा छुवाछूत कसूर सजाय ऐन २०६८ अनुसार त्यस्तो गर्ने जोसुकैलाई दण्ड जनिवाना सहित जेल सजाय हुने कानुनी ब्यवस्था छ ।

काठमाडौंको भृकुटी मण्डपमा आयोजना भईरहेको राष्ट्रिय स्तरको लोकदोहोरी प्रतियोगितामा रिपोर्टीङका लागि पुगेका फिल्मिजुम डटकमका फोटो पत्रकार प्रकाश ढकालमाथि बिसीले कुट्ने धम्की दिएका थिए । उक्त भिडियो आफुलाई घुरेर हेरेको भन्दै बिसीले प्रष्टसँग भनेका छन्- ‘राम्रोसँग ब्यबहार गर है ! कुटाइ राम्रो भेट्ला नि !’

दोहोरी प्रतियोगितको उद्घाटन समारोह चलिरहदा दर्शकका लोकप्रिय मानिएका यी कलाकारले बोलेका केही शब्दहरु सुन्दा उनैका फ्यानहरुलाई पनि अपाच्य बनेका छन् ।

बिसीबारे २ शब्द

शंकर बिसी कलाकारिता क्षेत्रमा एक चर्चित नाम हो । उनि नृत्य कलाकार मात्र हैनन् निर्देशक पनि हुन् । उनि कलाकार भैसकेपछि उनको जीवन, लवाई खवाई, रहनसहन, अरुसँग गर्ने बोली ब्यबहार आम नागरिकको भन्दा नितान्त फरक हुनुपर्छ । अर्थात् उनि एक नेपाली नगारिक मात्र नभएर सिङ्गो कलाकारिता जगतका सम्पति हुन् । भनिन्छ नि, कलाकार देशका गहना हुन् । त्यो कुरा सत्य हो उनि पनि यो देशका एक अनमोल रत्न नै हुन् ।

उनले बोल्ने प्रत्येक शब्द, उनले लगाउने हरेक पहिरनदेखि र देखाउने ब्यबहारलाई उनका लाखौं फ्यानहरुले फलो गरिरहेका हुनसक्छन । त्यसैले सार्वजनिक रुपमा बोल्दा उनले ख्याल गर्नुपर्ने हुन्छ । आफ्नो अभिव्यक्तिले सिङ्गो कलाकारिता क्षेत्र र आफ्ना फ्यानहरुको माझमा कस्तो असर गरिरहेको छ ? उनले त्यसबारे ध्यान पुर्याउनुपर्ने नै हुन्छ ।

अन्यथा शंकर बिसीले के गर्दैछन् र के बोल्दैछन् ? भन्ने निगरानी मिडिया अथवा पत्रकारले मात्र हैन उनकै दर्शक श्रोतालेहरुले पनि गरिरहेका हुन्छन् ।

भृकुटिमण्डपमा घटेकाे घटना पनि यस्तै लापरबाहीको परिणाम हो । त्यहाँ धेरै केहि पनि भएको छैन । भिडियोमा बिसीले पत्रकारको हैसियत सोधेका छन र आफुलाई घुरेको भन्दै दह्रो कुट्ने कुरा मात्रै गरेका छन् । कुटिहालेका चाँहि हैनन् । उसो याे विषयलाई यसरी चर्चामा ल्याउन आवश्यक नै थिएन पनि । तर सार्वजनिक हैसियत कायम गरेका कलाकारले सार्वजनिक रुपमै देखाएको असभ्य ब्यबहारबाट निस्कने परिणाम यस्ताे हुन्छ भन्ने पाठ अाम सार्वजनिक हैसियत कायम गरेका ब्यक्तिहरुले पनि सिक्न जरुरी छ ।

जातीयताको आधारमा गरिएकका गालीगलौजहरुको सन्दर्भमा

कलाकार बिसीले आवगेमा आएर ‘कुटाइ भेट्लास नी ख्याल गर’ भन्दै पत्रकारलाई थर्काएजस्तै उनको भिडियो हेरेपछि दर्शकहरू पनि आवेगमा अाए त्याे ठुलाे कुरा भएन । तर उनको नितान्त व्यक्तिगत स्वभावलाई लिएर जातीयतासँग जोड्नु भनेको अपराध गर्नु सरह नै हो । त्यस्ता व्यक्तिहरुलाई कानुनी दायरामा ल्याउन जरुरी छ । आलोचनात्मक सुझाव दिनुको सट्टा जातीयताको कुरालाई जोडेर यसरी सार्वजनिक रुपमै गालीगलौजमा उत्रिनुले बढ्दो साइबर क्राइमको उदाहरण पेश गरेको छ ।

हाम्रो समाजमा विभिन्न खालका उत्पीडन, शोषण, दमन, विभेद र अन्याय अत्याचारका स्वरुपहरु अझै पनि कायम छन् । ती विविध खालका स्वरुपमध्ये जातजाति, वंश, समुदाय र पेशाका आधारमा गरिंदै आएको शोषण, दमन, अन्याय, अत्याचार, मानव जीवन र समाज भित्र रहेका देखा पर्ने सबै उत्पीडन भन्दा गम्भीर, जटिल र कष्टकर रहेको हामी देख्न सक्छौं ।

त्यस्तो उत्पीडन नेपाली समाजमा लामो कालखण्डदेखि वर्ण व्यवस्था तथा ब्रह्माणवादी सोच, चिन्तनले सिर्जना गरेका अन्य जातिहरुले भोग्दै आएका छन् । जातजाति, वंश, समुदायमा आधारित भएर विभिन्न पेशा, व्यवसाय, गर्नुपर्ने र त्यस्तो पेशा, व्यवसायमा वा श्रमका आधारमा समाज उच, निच जातिका रुपमा परिभाषित गरिएको पाइन्छ ।

कथित उपल्लो र तल्लो जातिजाती बीचको विभेद, उत्पीडन, अन्याय, अत्याचार एवं दमन नै हाम्रो समाजमा सबैभन्दा कष्ठकर, मानव विरोधी घृणित र जघन्य प्रकृतिको छ । यसलाई निर्मुल पार्न सबैतिरबाट कडा संघर्ष र जनचेतना जगाउन आवश्यक छ । (संचारकेन्द्रको सहयोगमा)

हेर्नुहोस् यस्तो छ भिडियो ।

यस्तो छ बिसीले पत्रकारलाई थर्काउदै गरेको भिडियो