कामदा एकादशी : प्रेमजीवन, दाम्पत्यसुख, पारिवारिक सम्मृद्धि, भोगविलास र मोक्ष प्रदान गर्ने व्रत


सनातन हिन्दू धर्ममा कुनै पनि एकादशीको उत्तिकै महत्त्व हुन्छ, तीमध्ये चैत्र महिनाको शुक्लपक्षमा आउने कामदा एकादशीको महत्त्व अझ धेरै छ । यस एकादशी मानव मनका प्रेम, अनुराग, वात्सल्य, इच्छा, आकाङ्क्षा, कामना आदि पूर्ण गर्ने भएकाले यसलाई कामदा एकादशी भनिएको हो । यस एकादशीको अर्को नाम फलदा एकादशी पनि हो । पद्म पुराणमा यस एकादशीको व्रतविधि र महात्म्य उल्लेख गरिएको छ । यस एकादशीमा भगवान् विष्णुको भक्ति र पूजाआराधना गर्ने गरिन्छ । यस व्रतको प्रभावले मनुष्यले पूर्वजन्ममा गरेका यावत् पापराशिको नाश गर्दछ र यस जन्ममा भौतिक सुखसुविधा प्राप्त गरी प्रशस्त सुखभोग गरी अन्त्यकालमा वैकुण्ठ लोक पुग्दछ । कामदा एकादशीको व्रत लिन चाहने भक्तजनले एकादशीका दिन बिहानै ऊषाकालमा उठेर शौचस्नानादिबाट निवृत्त भई नित्यपूजा आराधना गरेपछि भगवान् विष्णुको प्रतिमा स्थापना गरी यथाशक्य पाद्य, अर्घ्य, आचमनीय, चन्दन, अक्षता, पुष्प, फल, फूल, दूध, पञ्चामृत, तिल आदि चढाउँदै षोडशोपचार प्रक्रियाबाट पूजा गरी व्रतको सङ्कल्प गर्नु पर्दछ । दिनभरि सकेसम्म निराहार रही, अथवा आफ्नो शारीरिक अवस्थाबमोजिम केवल चामलमात्र त्याग गरी दिनभरि व्रत लिनुपर्दछ, साँझमा सन्ध्या आरती गरी रातभरि जागरण गर्नुपर्दछ । सम्भव भएसम्म दिनभरि र राती भगवान् विष्णुको कथाश्रवण र नामसङ्कीर्तन गर्दै बिताएर भोलिपल्ट बिहानै स्नानादि कृत्यबाट निवृत्त भई ब्राह्मण बोलाएर सिधा/दक्षिणा प्रदान गरी व्रतसमापन गर्नु पर्दछ ।

कामदा एकादशीको महात्म्य विभिन्न पुराणहरूमा उल्लेख गरिएको भेटिन्छ । यस प्रसङ्गमा एउटा कथा पद्म पुराणमा उल्लेख गरिएको छ । उक्त कथाप्रसङ्गअनुसार धेरैधेरै अघि भारतवर्षमा भोगीपुर नाम गरेको एउटा नगर थियो । त्यहाँ अनेकानेक पेसा र व्यवसायमा संलग्न भएका नागरिकहरू धनधान्य र ऐश्वर्यले भरिपूर्ण भई निवास गर्दथे । त्यस नगरको राजाको नाम पुण्डरीक थियो । राजा पुण्डरीकको दरबारमा अनेकौं अप्सरा, किन्नर तथा गन्धर्व पनि थिए । दरबारमा गायन र नृत्यको मुख्य जिम्मेबारी प्राप्त गरेका ललित र ललिता नाम गरेका गन्धर्वका जोडी पनि निवास गर्दथे । राजाले ती गन्धर्व दम्पतीलाई राम्रो सुखसुविधा, वाहन र निवासको व्यवस्था गरिदिएका थिए । दुबै दम्पती एकअर्काको अनुराग र स्नेहमा अनुरक्त थिए । एकअर्काको कामको प्रकृति एउटै भएकाले उनीहरू जहाँ गए पनि जे गरे पनि सँगसँगै हुन्थे । एकअर्काको अनुपस्थितिमा निराश हुन्थे र एकछिन छुट्टिनु पर्दासमेत व्याकुल हुन्थे । एक दिनको कुरा हो, राजा पुण्डरीकको दरबारमा भव्य नाचगान चल्दैथियो, तर कार्यक्रमको संवेदनशीलतालाई बेवास्ता गर्दै ललित र ललिता एकअर्कालाई हेरेर आफ्ना क्रियाकलाप गर्दैथिए । ललितले वाद्यवादनको जिम्मेबारी पाएको थियो भने उसकी पत्नीले गायनको भूमिका निर्वाह गरिरहेकी थिई । तर उनीहरू एकअर्काप्रति यति आशक्त भए कि तिनको गायन र वादनको सुर र तालमा ध्यानकेन्द्रित हुन सकेन, सभामा उपस्थित सबैले चाल पाउने गरी गीत र सङ्गीतको लय बिग्रियो । सभामा उपस्थित सबैले ललित र ललिता दुबैको गम्भीर त्रुटि भएको ठहर गरे र तिनलाई सजाय तोक्न कर्कोटक नागलाई अधिकार दिए । पशु झैं यौनाकर्षणमा अनुरक्त भएको आरोप लगाउँदै कर्कोटकले ती दुबै गन्धर्व दम्पतीले वियोग सहनु पर्ने र ललित नाम गरेको गन्धर्वले राक्षस योनिमा गिर्नुपर्ने सजाय सुनाउँदै सराप दिए । कर्कोटकको श्राप सुन्नासाथ ललित गन्धर्व विशालकाय राक्षस बन्नपुग्यो र भोगिपुर नगरबाट खसेर पाताललोकमा पुग्यो । आफ्ना पतिसँगको वियोगबाट तड्पिएकी ललिता असाध्यै दुःखित भई, पतिलाई पुनः प्राप्त गर्न अनेकानेक उपाय, प्रयास गरी, धेरै ठाउँमा घुम्दै भौंतारिंदै अन्त्यमा ऊ श्रृङ्गी ऋषिको आश्रममा पुगी । त्यहाँ पुगेपछि ऋषिसामु उभिएर नम्रतापूर्वक आफ्ना वेदना बताउन थाली । उसका वेदना र छटपटीको वृत्तान्त थाहा पाएर ऋषि श्रृङ्गीले आज्ञा गर्नुभयो “हे गंधर्वकन्या! अब केही दिनमा चैत्र शुक्ल एकादशी आउन लागेको छ । त्यस एकादशीको नाम कामदा एकादशी हो । कामदा एकादशीको व्रत लिएमा मानिसले पूर्वजन्मदेखि गरेका त्रुटि, गल्ती र पापलाई सच्याएर सुधार्ने मौका पाउँदछ अनि यस जन्ममा मनका अनेकानेक इच्छा र आकाङ्क्षा पूर्ण गरी मनुष्यका सम्पूर्ण कार्य सिद्ध हुने गर्दछन् । तिमीले पनि कामदा एकादशीको व्रतको विधिपूर्वक पालना गरेर त्यसको पुण्यको फल आफ्ना पतिलाई समर्पण गरेमा तिम्रो पति तुरुन्त राक्षस योनिबाट मुक्त हुनेछ र तिमीहरूले वियोगको समय समाप्त भई पुनः सुखद दाम्पत्यजीवन भोग गर्न पाउने छौ । अझ अबउप्रान्त कामदा एकादशीका दिनदेखि सुरु गरी प्रत्येक एकादशीको व्रत लिने दम्पतीले कहिल्यै वियोग सहनु पर्दैन र घरमा पूर्ण पारिवारिक सुख प्राप्त गर्नुका साथै समस्त भौतिक सुखसुविधा पाउनुका साथै मरणोपरान्त वैकुण्ठलोकमा वास गर्न पाउने छन् ।
श्रृङ्गी ऋषिले बताएको कुरालाई ललिता नाम गरेकी गन्धर्वकन्याले अक्षरशः पालना गर्दै चैत्र शुक्ल पक्षको एकादशी तिथिका दिन पर्ने कामदा एकादशीको व्रत सम्पादन गरी । व्रतको सङ्कल्प गर्दा नै ललिताले ‘मैले लिनलागेको यस कामदा एकादशीको पुण्यफल राक्षस योनिमा रहेका मेरा पति ललितले प्राप्त गरून्’ भनी कामना गरी । त्यसरी एकादशी व्रतको पुण्यफल पतिलाई समर्पण गर्नासाथ ललिताको पति राक्षस योनिबाट मुक्त भएर पुनः गन्धर्व भई आफ्नो पुरानो स्वरूपमा रूपान्तरित भयो। बिछोड भएका पतिपत्नीको पुनर्मिलन हुन पुग्यो । उनीहरूले खुसी र उमङ्गका साथमा बाँकी जीवन बिताए । बाँचुन्जेल प्रत्येक एकादशीको व्रत लिए र अन्त्यकालमा ती दुबैलाई भगवान् विष्णुका पार्षद आई विमानमा राखी वैकुण्ठलोकमा लिएर गए । त्यसैले कामदा एकादशीको व्रत लिंदा मनुष्यका यावत् कामना र इच्छा पूर्ण हुने गर्दछन् । प्रेम जीवन, प्रणय सुख, दाम्पत्य जीवन र कामशक्ति प्रदान गर्ने व्रत कामदा एकादशी हो । यसबाहेक मनुष्यमात्रले जानी वा नजानी गरेका समस्त पाप नाश हुन्छन्, भूतप्रेत, पिशाच, डाकिनी, शाकिनी आदि विभिन्न योनिमा जन्म लिन पुगेका मृत पितृ र आफन्तको उद्धार हुन्छ र समस्त सांसारिक भोगविलास र सुखलाई भोग गर्ने शक्ति प्राप्त हुन्छ भनी विभिन्न पुराण र स्मृति ग्रन्थमा उल्लेख गरिएको छ । कामदा एकादशी व्रतबराबरको कुनै अन्य व्रत छैन त्यसैले व्रत लिन नसक्ने र नभ्याउनेले यस एकादशीको कथा र महात्म्यको श्रवण गरे गराएमा समेत उक्त फलको हकदार बन्न पुग्छ, र वाजसनेय यज्ञ गरेसरह पुण्य प्राप्त गर्दछ भन्ने कुरा पद्मपुराणमा उल्लेख गरिएको पाइन्छ ।

ज्योतिष कृष्णप्रसाद कोइरालाद्रारा लिखित राशिफल र साथमा बिबिध जानकारीको सम्पर्क नम्बर ९८५२०५९७६४/९८१४३४८१११  www.jyotishsathi.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.