त्यही बन्दुक उचाल्ने तपाईको जिवनमा हरियाली तर अरुको जिवन उजाड किन ? मन्त्री बिना मगरलाई प्रश्न ?

माननीय खानेपानी मन्त्री बिना मगरज्यु,
खानेपानी मन्त्रालय,
सिंहदरबार, काठमाडौ

खानेपानी मन्त्री बिना मगरज्यु,
सर्वप्रथम त यति सानै उमेरमा यति छिटो मन्त्री हुनुभएकोमा हार्दिक बधाई अनि शुभकामना टक्र्याउन चाहन्छु । नेपालमा यस्तो अवसर अनि भाग्य बिरलै मान्छेहरूले बोकेर आएका हुन्छन् । आजसम्मको यात्रामा तपाईले कति अरोहअवरोहको यात्रा अनि कति अवसरलाई च्याप्प पक्रेर नछोडी हिड्नुभयो त्यो त मलाई भन्दा हजुरलाई नै थाहा होला । खैर नेपाली इतिहासमै यो अवसर पाउने पहिलो कान्छी महिला, जनजातिकी छोरी हुनुभएकोमा फेरि पनि बधाई अनि कार्यकालको शुभकामना ।

धेरैले भन्ने गरेका छन् तपाईले यो अवस्थासम्म आइपुग्नको लागी धेरै संघर्ष गर्नुभएको छ, देश नै परिवर्तन हुनेगरी गरेको संघर्षमा तपाईले यो पुरस्कार स्वरुप पाउनुभएको रे तर तपाई जत्तिकै संघर्ष गर्नेहरूको एउटा भिड म अरबमा पसिना चुहाइ रहेको देख्छु, तपाई जत्तिकै संघर्ष गर्नेहरू दुइछाक खानकै लागी अहिले पनि संघर्ष गरि नै रहेको देख्छु । तपाईहरुले भनेकै भाषामा भन्ने हो भनेपनि सामन्ती शासन भइन्जेल उत्तिकै हैसियत हुनुभएको तपाईहरु कोहि आसमानमा पुग्नुभयो, कोहि भने अहिले पनि एकछाक भात खाएर आफ्नो बचेको जिवनलाई बचाउने कोशिस गर्दैछन् किन ? तपाईमा त्यस्तो के बिशेष खुबी थियो र त्यही बन्दुक उचाल्ने तपाईको जिवनमा हरियाली आइपुग्यो अनि त्यही बन्दुक उचाल्ने अरुमा के खुबी थिएन र उनीहरुको जिवन अझै उजाड बन्दै गयो ? कहिलेकाही यो प्रश्नले मेरो मन बारबार घोच्ने गर्छ ।

सुने २,३ दिन अगाडी आफ्नो श्रीमानलाई सम्झेर तपाई एक्कसी भक्कानीनु भयो रे, त्यो स्वाभाविक हो किनकी जिवनको लामो बाटोमा यति छोटो समयमै आफ्नो जिवनसाथीले एक्लै पारेर सदाको निम्ति जादा पिडा हुन्छ नै त्यो कुरा म पनि बुझ्छु तर तपाई महलमा बस्नेलाई त्यस्तो पिडा हुन्छ भने हिजोको दिनमा सामन्तीहरु भन्दै ४,५ हजार रुपैयाँको जागिर खाने ति गरिब बाउआमाको छोराछोरीलाई गोलि ठोकेर मारेको खबर सुन्दा, श्रीमान सायद यो दशैमा त छुट्टि मिलाएर आउछ होला भन्दै पर्खिएकी श्रीमतीले अकास्मात तपाईहरुको बन्दुकको संगिनले घोचेर मारेको खबर सुन्दा, दुधे बालबालिकाको पिताहरु तपाईहरुको हतियारले रेटिएर मर्दा आजपनी बाउआमाको अनुहार राम्ररी थाहा नपाउने ति अबोधहरुलाई कति पिडा भाको थियो होला अनि आजपनी झुपडीमा नै बस्ने तिनका परिवारहरुले ति दिन सम्झिदा कति भक्कनिएर बस्दा हुन । हिजो आतंककारी भन्दै तपाईहरुको सफायामा लागेका काङ्ग्रेस र एमालेसँग त तपाईहरुले घाटी जोड्नुभएको छ, विभिन्न कार्यक्रममा हास्दै पेय पदार्थको चुस्की पनि मार्नुभएको होला तर तिनै काङ्ग्रेस र एमालेको आदेशमा गोलि ठोकिएको श्रीमानको यादमा, आमाबुवाको यादमा, श्रीमतीको यादमा आसु बहाउदै भक्कानिनेहरु झुपडीतिर अहिले पनि यत्रतत्र भेटिन्छन तर पनि तपाईको भाग्य ति सबैको भाग्यमध्ये अब्बल हुन पुग्यो किन होला ?

खैर यि त भए तपाईको भाग्य अनि उनीहरुको दुर्भाग्यको कुरा अब कुरा गरौ तपाईले गर्नुपर्ने कामहरुको बारेमा । नेपाल एउटा पितृसत्तात्मक देश हो, यहाँ पुरुषहरुको अलवा नारीहरुले पनि नारीलाई शोषण गरेको पाइन्छ । तपाईं एकजना नारी भएको कारणले पनि अबका दिनमा हिजो जनयुद्धको नाममा एकल हुनुभएको नारीहरुको बारेमा तपाईले काम गर्नुहुन्छ भन्ने आसा गरेको छु, हिजो अपांग भएर कष्टकर जिवन बिताइरहनु भएको नारीको पक्षमा आवाज उठाउदै उद्दार गर्नुहुनेछ भन्ने आसा राखेको छु । घरमा श्रीमती, छोराछोरी हुदाहुदै बिचल्ली पारी अर्को महिलालाई लिएर हिड्ने पुरुषहरुलाई कारबाही गर्नुहुनेछ भन्ने बिश्वास गरेको छु, पुरुषको घरमा श्रीमती, छोराछोरी हुदाहुदै सौता पस्न आइ ति नारी र तिनको छोराछोरीलाई बिचल्ली बनाइदिने नारीलाई समेत कारबाही गर्न हिम्मतका साथ अगाडी बढ्नुहुनेछ भन्ने बिश्वास गरेको छु ।

अन्त्यमा फेरि पनि मन्त्री बन्नुभएकोमा लाखौलाख शुभकामनाको साथै लाखौ पीडित नेपाली जनताको पक्षमा काम गर्नुहुनेछ भन्दै बधाई दिन चाहन्छु ।

अरुण कुमार लुइँटेल
झापा, हाल युएई
(पानाखबरबाट)

यो पनि हेर्नुहोला