ओली सरकारका गृहमन्त्री केन्द्रिय कारागारमा (भिडियोसहित)

गृहमन्त्री रामबहादुर थापाले कारागार सुधारका लागि आवश्यक योजना तत्काल ल्याउने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । गृहमन्त्री थापाले मंगलबार विहान सुन्धारास्थित केन्द्रिय कारागारको निरीक्षण गरेलगत्तै संचारकर्मीमाझ कारागार सुधार योजना तत्काल ल्याउने प्रतिक्रिया दिनु भएको हो ।

उहाँले केन्द्रिय कारगारमा ठूलो सुधारको आवश्यक्ता रहेको पनि बताउनु भयो । ठाउँ सानो तर कैंदी धेरै भएको पाइएको उल्लेख गर्दै यसको सुधारका लागि तत्काल काम सुरु गर्ने योजना पनि सुनाउनु भयो । गृहमन्त्री थापाले केन्द्रिय कारागारको सुधारका लागि तत्काल भौतिक संरचना निर्माण कार्य सुरु गर्ने पनि बताउनु भयो ।

गृहमन्त्री थापाले केन्द्रिय कारगारमा कैंदी र बिरामी कैंदीलाई छुट्टाछुट्टै राख्ने व्यवस्था गर्ने आश्वासन पनि दिनु भयो । निरीक्षणका क्रममा कैदीहरुले विरामीहरुलाई समेत कैदी सरह व्यवहार गर्ने गरेको गुनासो गरेपछि उहाँले अव छुट्टाछुट्टै बाससहितको व्यवस्था गर्ने बताउनु भएको हो । त्यस क्रममा गृहमन्त्री थापासँग झुटा मुद्दामा आफूहरुलाई फसाएको भन्दै तत्काल रिहा गर्न माग पनि गरेका थिए ।