कर्मचारीलाई लालबाबु पण्डितको नयाँ चेतावनी (भिडियोमा)

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले तोकिएको कार्यक्षेत्रमा नजाने कर्मचारीलाई बर्खास्त गर्ने चेतावनी दिएका छन् । मन्त्री पण्डितले तोकिएको कार्यक्षेत्रमा नगएका कर्मचारीको रेकर्ड संकलनको काम सुरु भईसकेको पनि स्पष्ट पारेका छन् ।

उनले कार्यक्षेत्रमा नजाने कर्मचारीहरुको रेकर्ड संकलन गर्न मातहतका निकायलाई निर्देशन दिइएको पनि जानकारी दिएका छन् । आफ्नो कार्य क्षेत्रमा नजाने निजामति कर्मचारीहरुले लिँदै आएको सुविधा पनि खोस्ने मन्त्री पण्डितको योजना छ ।

मन्त्री पण्डितले जनताको सेवामा समर्पित भएर कर्मचारीहरुले काम गर्ने वातावरण बनाउने प्रतिवद्धता पनि व्यक्त गरेका छन् । उनले मन्दिरमा जाने पुजारीले झैं पवित्र भावनाका साथ जनताको सेवा गर्न पनि कर्मचारीहरुलाई सचेत गराएका छन् । मन्त्री पण्डितले निजामति कर्मचारी ऐनले व्यवस्था गरे अनुसार जनताको भावना र विश्वास जितेर काम गर्न पनि कर्मचारीलाई निर्देशन दिए ।

मन्त्री पण्डितले कार्यालय समयमा कर्मचारी संगठनका गतिविधिलाई निषेध गर्ने घोषणा पनि गरेका छन् । उनले कर्मचारी संगठनहरुको दवावमा कुनै पनि गतिविधि आफूले नगर्ने दृढता पनि व्यक्त गरेका छन् ।

मन्त्री पण्डितले नीति निर्माणका बेला कर्मचारी संगठनहरुबाट आवश्यक सुझाव लिने काम सरकारले गर्ने योजना पनि सुनाए । उनले सुरुवा, बढुवा गर्ने काम दवावमा नहुने पनि स्पष्ट पारे । मन्त्री पण्डितले निजामती कर्मचारीलाई लामो विदामा बस्ने छुट नरहेको पनि स्मरण गराए ।