राधामाथि कुटपिट हुँदा रामिते बनेका मेयरलाई कसले हान्यो गोली ? अवस्था चिन्ताजनक !

काठमाडौँ, २८ फागुन ।

कैलालीको घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीमाथि अज्ञात समुहले गोली हानेको छ । चौधरीलाई उनको घरैमा गोलीहानिएको हो । सोमबार साँझ आएको करिब १० जनाको समूहमध्ये एकले मेयर चौधरीमाथि गोली प्रहार गरेको हो ।

त्यही समूहमा रहेका अर्का व्यक्तिले चौधरीको टाउकोमा खुकुरी समेत प्रहार गरेका छन् । सुख्खडस्थित घरैमा आक्रमणबाट घाइते भएका चौधरीलाई अहिले घोडाघोडी अस्पताल सुख्खडमा भर्ना गरिएको छ ।

उनको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी विनोद घिमिरेले जानकारी दिए । घिमिरेका अनुसार चौधरीको पेट र कम्मर आसपासमा छर्रा लागेको छ ।

सोही नगरपालिका निवासी राधा चौधरीलाई बोक्सीको अारोपमा ६ घण्टासम्म यातना दिँदा समेत रमिते बनेको अारोप लागेको थियो । यस्तै चौधरीमाथि कुटपिट हुदा पीडकहरुलाई संरक्षण दिएको आरोप समेत लागेको थियो ।

त्यही घटनालाई लिएर चौधरीमाथि गोली हानिएको हुन सक्ने प्रहरीको अनुमान छ । सोमबार ८ः३० तिर मेयर चौधरीमाथि गोली प्रहारी भएको बताइएको छ तर कसले र किन हानेको भन्ने केही जानकारी अाएको छैन ।

मोटरसाइकलमा आएको अज्ञात समूहले गोली प्रहार गरेर फरार भएपछि चौधरीको स्थानीय घोडाघोडी अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ । यस्तै अन्यत्र लाने तयारी भइरहेको जनाइएको छ ।

राधामाथि कुटपिट भएको घटनापछि ममताप्रसादले यस्तो विवादास्पद अन्तरवार्ता दिएका थिए ।

मेयरज्यू, तपाईंको नगरपालिकास्थित देउकलिया गाउँमा बिहीबार बोक्सीको आरोपमा एउटी किशोरीलाई समाजकै अगाडि मरणासन्न हुने गरी कुटपिट गरेको घटना सार्वजनिक भएको छ, यो विषयमा तपाईंलाई जानकारी छ कि छैन ?

किन नहुनु ? जानकारी छ । पीडितलाई अहिले धनगढी लगिएको छ, अस्पतालमा उपचार भइरहेको छ । कुटपिट गर्ने व्यक्तिलाई पनि सार्वजनिक अपराधको मुद्दा लगाउन जाहेरी परेको छ ।

जाहेरी कसले दिएको हो ?

पीडित पक्षले ।

जाहेरी त आज मात्र परेको छ, घटना हिजोको हो, तपाईंलाई कहिले थाहा भयो यो घटना ?

हिजो नै भयो ।

कुटपिटबाट घाइतेलाई हिजो नै एम्बुलेन्समै राखेर प्रहरी चौकीमा लगिएको थियो, तपाईं पनि त्यहाँ पुग्नुभएको थियो भन्ने जानकारी आएको छ नि ?

हो, म एकैछिन पुगेको थिएँ ।

कुटिएकी किशोरीलाई पनि चौकीमा राखिएको थियो, घटना कसरी भएको हो, उनीसँग केही जानकारी लिनुभयो ?

अहँ, किन लिनु र ?

होइन, पीडित किशोरीसँग सोधपुछ पनि गर्नुभएन ?

मैले पीडितसँग पनि गरिनँ, पीडकसँग पनि गरिनँ ।

त्यसो भए किन जानुभएको त चौकीमा ?

बाटोमा जाँदै थिएँ, भिडभाड देखेँ, के रहेछ भनेर हेरेको । मान्छेहरू आपसमा बाझाबाझ गरिरहेका थिए । त्यस्तोमा के बोल्ने भनेर आफ्नो बाटो लागेँ ।

ए, त्यसो भए ‘रमिता’ हेरेर फर्कनुभयो ?

हो, अरू पनि काम हुन्छन् नि मान्छेका ।

साँच्चै, तपाईं मेयर हुनुअघि त्यहाँको उमाविमा पढाउनुहुन्थ्यो रे, हो ?

हो, राष्ट्रिय उमाविमा अंग्रेजी पढाउँथेँ ।

ए, तपाईं आफैँले अंग्रेजी कहाँ पढ्नुभएको हो नि ?

काठमाडौं, कीर्तिपुर केन्द्रीय क्याम्पसतिर । ०६८ तिर मास्टर्स पास गरेको हुँ ।

त्यसो भए त तपाईं युवा नै हुनुहुन्छ ?

हो, भर्खर ४० वर्षको भएँ ।

युनिभर्सिटी क्याम्पसबाट अंग्रेजीमा मास्टर्स पढेको एउटा युवा जनप्रतिनिधि भएको छ, तर आफ्नै गाउँमा एउटी किशोरी बोक्सीको आरोपमा सार्वजनिक रूपमा कुटिँदा बोल्न सक्नुहुन्न भने तपाईंको शिक्षालाई, तपाईंको उमेरलाई र जनताबाट तपाईंले पाएको विश्वासलाई के भन्ने होला ?

त्यसमा कारबाही गर्ने काम प्रहरीको हो, मेयरको होइन ।

ती किशोरी तपाईं आफैँ शिक्षक भएको राष्ट्रिय उमाविमा कक्षा ११ कि विद्यार्थी पनि हुन् नि, जानकारी छ तपाईंलाई ?

जानकारी भएन ।

आफ्ना नगरपालिकाभित्रकी बासिन्दामाथि बोक्सीको आरोपमा कुटपिट भएको छ, सार्वजनिक रूपमा दुव्र्यवहार भएको छ, तर ती को रहिछन्, के गर्छिन् भन्ने विषयमा तपाईंलाई चासो भएन ?

मैले तपाईंलाई भनिसकेँ, त्यो काम प्रहरीको हो ।

जनतामाथि अन्याय भएको छ भने आवाज उठाउने भूमिका पनि छैन तपाईंको ?

त्यो तपाईंले सिकाउनुपर्दैन । मलाई आफ्नो दायित्व थाहा छ ।

गोठमा गोबर सोहोरिरहेकी बालिकालाई लछारपछार गर्दै लगेर सात घन्टासम्म कुटपिट भएको छ, ती बालिका कसकी छोरी हुन्, तर आफ्नो गाउँ–टोलकी ती बालिकाको विषयमा तपाईंलाई ३० घन्टासम्म पनि जानकारी किन छैन ?

मैले तपाईंलाई भनिसकेँ, मान्छेका अनेक काम हुन्छन् । आफ्नो गाउँमा मैले के गर्ने भनेर काठमाडौंमा बसेको पत्रकारले फोन गरेर सिकाउनुपर्दैन, तपाईं आफ्नो काम गर्नोस् ।

देश संघीयतामा गएको छ, जनताले स्थानीय जनप्रतिनिधि पाएका छन्, तपाईंजस्ता युवा निर्वाचित पनि भएका छन् । तर, आफ्नै छिमेककी चेलीमाथि यत्रो ज्यादती हुँदा पनि तपाईं थाहा नपाएजस्तो गर्नुहुन्छ भने त्यसविरुद्ध आवाज उठाउनु, प्रश्न गर्नु ताप्लेजुङदेखि दार्चुलासम्मका सचेत नागरिकको कर्तव्य हो नि, होइन र ?

तपाईं आफ्नो कर्तव्य पूरा गर्नोस्, तर मलाई नसिकाउनुस् ।

तर, अन्तिममा तपाईंलाई एउटा कुरा भनौँ है, मेयरज्यू

भन्नोस् ।

नामचाहिँ ममताप्रसाद कसले राख्यो होला ? तपाईं त निष्ठुरप्रसाद हुनुहुँदो रहेछ ?

त्यो तपाईंको मूल्यांकन हो । मलाई त्यसमा चासो छैन ।

  • संचारकेन्द्र बाट साभार :