रेखा रोइन् ! छविले शिल्पा र रेखालाई लिएर फिल्म बनाउने !

मन छुने मंगलम, छवि ब्यानरको उत्कृष्ट फिल्म
जीवनमा पहिलो पटक फिल्म हेरेर रोएँ, हिम्तवाली नायिकाको रुपमा चिनिएकी नायिका रेखा थापाले फिल्म मंगलम हेरेपछि प्रतिक्रिया दिइन् । मलाई फिल्मको हरेक पक्षले छोयो । प्रत्येक परिवार, श्रीमान श्रीमती र प्रेमि प्रेमिकाले हेर्नुपर्ने फिल्म मंगलम बनेको छ, रेखाले भनिन् । भिडियो हेर्नुस् ः
मंगलम हेरेर रेखा मात्रै होइन, बिग मुभिज फिल्म हलमा उपस्थित सबै दर्शक रोए । धेरैको मन रोयो, केहीको आँखा । फिल्म सकिएको लामो समयसम्म पनि एक महिला सञ्चारकर्मी रोएर हलमै बसिन् । कस्तो मन छोयो, हुँक्क हुक्क गर्दै ती सञ्चारकर्मीले भनिन् । मैंले स्क्रिप्ट सुनाउँदै बा (निर्माता छवि ओझा) रुनु भएको थियो, मंगलमका निर्देशक नवल नेपालले भने, अहिले दर्शक रोइरहनु भएको छ । हाम्रो काममा हामी सफल भयौं जस्तो लाग्छ ।

म त आज पनि रोएँ, नायिका शिल्पा पोखरेलले सुनाइन्, अब उहाँले (रेखा थापा) तारिफ गर्नु भनेको एकदम ठुलो कुरा हो । हामीले सबैको मन जित्यौं भन्ने लाग्छ । मंगलममा सशक्त अभिनय गरेर सबैको मन जितेका नायक पुष्प खड्का सबैबाट पाएको प्रशंसाले दंग छन् । कथा धेरै भेटिन्छन् । तर कथा भित्रका व्यथालाई प्रस्तुत गर्न कमै सफल हुन्छन् जस्तो लाग्छ, पुष्प भन्छन्, फिल्म हेरिरहंदा कसैले आफ्नो आँखाबाट आँसु रोक्न सक्नु भएको छैन । यही नै हाम्रो सफलता हो । नायक पृथ्वीराज प्रसाईंले पनि फिल्मबाट तारिफ पाइरहेका छन् । अभिनेत्री मिथिला शर्माले अब्बल अभिनय गरेकी छन् । अभिनेता नीर शाह आफ्नो भूमिकामा फिट छन् । दिपक शर्माको संगीत रहेको पर्ख पर्ख मायालु हिट छ । सिनेम्याटोग्राफर विष्णु कल्पितले राम्रो खिचेका छन् ।
पुरानो धारलाई छोड्न नसकेको आरोप खेप्दै आएका निर्माता छविराज ओझा मंगलम बाट मल्टीप्लेक्समा पनि आफु भित्रिएको बताउँछन् । म लोफरबाट मल्टिप्लेक्समा छिर्ने कोशिस गरेको थिएँ । छिरें पनि तर सफल भइँन, फिल्म क्षेत्रमा बाघ निर्माताको रुपमा चिनिएका ओझाले भने, मंगलममा आएर म सफल भएको छु । शनिबार सबै मल्टिप्लेक्स हाउसफूल भएका छन् । यसमा म खुसी छु । हालसम्म निर्माता छविराज ओझाले बनाएका फिल्महरुमा मंगलम पहिलो नम्वरमा पर्न आउने फिल्मकर्मीको भनाई छ ।