“होली ” को दिन आज

“होली ” को दिन आज

रंगको दिन आज !

रुमानी यादहरू कल्पनाभरि

म यसै हराउँछु अनायासै …

रंगै रंगको वर्षा हुन थाल्छ मनभरि ,

हावामा रंग छ ,

आकाश रंगीन छ ,

मन रंगीन छ …

एक पिचकारी रंग लिन्छु म

तिमी हाँस्दै भागे झैँ गर्छ्यौ

म पछि पछि दौडे झैँ गर्छु

तिमी थाके झैँ गर्छ्यौ ,

म मुश्किलले समाएँ झैँ,

नजिक पुग्ने गर्छु

म तिम्रो हँसिलो अनुहारभरि

पिचकारी भरिको रंग छर्कीदिन्छु

तिम्रो तनभरि रंगले भिजाईदिन्छु !

रंग पोखिन्छ तिमीभरि ,

छिन भर मै ,

तिमी बिहानीको उषा हुन्छ्यौ

साँझको गोधुली र घाम पानी भित्रकी

इन्द्रेणी हुन्छ्यौ ,

तिमी लाजले पानी पानी हुन्छ्यौ …!!

तिमी पो के कम र !

खोइ कहाँ लुकाएकी थियौ

त्यति धेरै रंग !

सबै म भरि खन्याई दिन्छ्यौ

बिहानीपखको ओलांगचुन्गा शिखर बन्छु ,

राताम्मे ,

पूर्णिमाको रातमा जूनले चुमेको सगरमाथा बन्छु

अनायासै …

हामी रंगीन हुन्छौ , पूर्ण रंगीन !

रुख , चराहरू , फूलहरू र आकाश

हाम्रा रहरहरू , चाहनाहरू र समुन्द्र

हाम्रा रहरहरू , पुतली र सारा धर्ती

सबै रंगीन भै दिन्छ हाम्रा सपना सँगसँगै

एकाएक !

सबै दुनियाँ रंगको गोला देखिन्छ …

यथार्थमा …

रेल दौडेको छ , जिन्दगी दौडे झैँ

कहीँ अँध्यारा टनेलहरू , कहीँ पतझड जंगलहरू

कहीँ उकाली जस्तो , कहीँ ओराली कस्तो !

रेलको झ्यालबाट हेर्दा यस्तो लाग्छ

दृश्यहरू परिवर्तन हुँदै छन् जिन्दगी झैँ छिटो रफ्तारमा !

हो ! म सोच्छु

जिन्दगीको अलिकति रंग उडेकै हो ,

फुंग भएर !

नियास्रो देखिएकै हो ,

ब्ल्याक एण्ड ह्वाईट भएर !

हिउँ पग्लिने आशा बसेका छन् चिसा सडकहरू

वसन्तको पर्खाइमा छन् देवदारुका रुखहरू ,

गन्तव्यको खोजीमा लम्केका छन् पाइलाहरू

म हिँड्दै छु ……..हिँड्दै छु …….

मेरो रंगीन भविष्यको खोजीमा !

मेरो रंगीन ” होली ” को खोजीमा …

एभरेष्ट सूर्य बोहरा

हाल ,काठमाण्डौं

प्रकाशित मिति, २०७४ साल, फाल्गुण १५ गते, सोमबार