सँधै गोप्य राख्नुपर्ने छ कुरा के के हुन्

मनोविद करुणाजी, नमस्कार

मेरो नाम सतीश हो । काठमाडौंको बासिन्दा हुँ । सम्पन्न पनि छु । अहिले ४७ वर्षको भएँ । यो उमेरसम्म आइपुग्दा मेरो अनौठो अनुभव छ । त्यो के भने मसँग लामो समय मानिस संगत गर्न चाहँदैनन् । रुप, गुण, सम्पन्नता भएर पनि किन मानिसहरुसँग लामो सम्बन्ध कायम रहँदैन ?

गुण भन्नुस् वा अवगुण, म खुल्ला छु । मित्रता भएपछि घर–परिवारका मात्र होइन, आफ्ना अन्तरंग कुराकानी पनि गर्छु । श्रीमतीका अनुसार मेरो यही अति खुल्लापनले नै मेरा साथीसँगीसँग लामो सम्बन्ध कायम नभएको हो । के यो सत्य हो ? मानिसले आफ्ना निकटसँग कुन–कुन कुरा भन्न हुन्छ, कुन भन्नुहुन्न ?

सतीशजी,

तपाईंको मन सफा छ । सबै कुरा आफ्ना साथीहरुसँग भन्नुको अर्थ हो, तपाईंसँग लुकाउनुपर्ने कुरा पनि धेरै छैनन् । अथवा, लुकाउनुपर्ने कुरा छैन भन्ने ठान्नुहुन्छ । यो आफैंमा राम्रो कुरा हो ।

तर, जीवनमा यस्ता केही कुरा हुन्छन्, जुन आफ्ना निकटलाई पनि बताउनु हुँदैन । कतिसम्म भने कतिपय कुरा आफ्नी श्रीमतीसँग पनि गर्नुहुँदैन भने कतिपय कुरा आमा–बुवासँग पनि लुकाउनुपर्ने अवस्था हुन्छ । मित्रहरु भनेका आमा–बुवा र श्रीमतीभन्दा अझै टाढाका हुन् । हाम्रा शास्त्रहरुले पनि यी कुरा उल्लेख गरेका छन् ।

सतीशजी, आजको समाज व्यावसायिक समाज हो । जतिसुकै निकट सम्बन्धमा पनि केही न केही स्वार्थ गाँसिएको हुन्छ । यही कारण स्वार्थ बाझ्ने कुनै पनि कुरा निकटतमसँग गर्नुहुँदैन ।

मानौं, तपाईं कुनै युवतीको रुपलाई मनपराउनु हुन्छ । तर, घरमा श्रीमती हुनुहुन्छ भने कुनै बाहिरी युवतीको रुपको वर्णन गर्न थाल्दा समस्या आउँछ । चाहे त्यो सौन्दर्यका विषयमा कुनै लगाव होस् अथवा नहोस् ।

यही कारण केही विशेष कुरा बाहिरी व्यक्तिलाई नभन्नु नै हितकर हुन्छन् ।

गोप्य राख्नुपर्ने ५ कुरा

क) तपाईंको निकट मित्रहरुलाई पनि श्रीमान्–श्रीमतीबीचको खिचातानी, झगडा र यौनका समस्याहरु बताउनुहुँदैन । ठूलो समस्या आएको अवस्थामा मनोविज्ञ वा परिवारका विश्वासयोग्य व्यक्तिसँग कुरा गर्न सकिन्छ । तर, स–साना कुरा सबैसँग बताउँदा यसले चाँडै तपाईंका मित्र टाढिएको महसुस गर्नुहुनेछ ।

ख) माथि नै भनियो, आजको युग व्यावसायिक युग हो । आफ्नो व्यवशाय चलाउन विभिन्न समस्यामा हामी परिरहेका हुन्छौं । धेरै व्यक्तिसँग र बैंकसँग पनि ऋण लिएका हुन सक्छौं । आफूले लिएको ऋण, आफूलाई परेको आर्थिक समस्या वा आर्थिक अभावले आफूले मार्नुपरेका इच्छाहरुका बारेमा पनि बाहिरी व्यक्तिलाई भनिहाल्नुहुँदैन ।

मानौं, तपाईंले पाँच जनासँग ऋण लिएर कुनै कारोबार गरिरहनुभएको छ भने आफ्ना ती ऋणीहरुमध्ये कसैलाई पनि अरु चार जनासँग आफूले ऋण लिएको कुरा आवश्यक नभएसम्म बताउनुहुँदैन । बाहिरी व्यक्तिलाई आफू ऋणमा डुबेको कुरा आवश्यक अवस्थामा बाहेक थाहा दिनुहुँदैन ।

ग) हरेक मानिसले जीवनमा राम्रो काम गरेको हुन्छ । कसैप्रति सहयोग गर्नु मानव धर्म हो । सबैले आ–आफ्नो ठाउँबाट सबैले केही न केही पुण्यको काम गरिरहेका हुन्छन् । तर, आफूले गरेका सहयोग, दान वा उद्धारका कुरा आफूले नै गर्ने व्यक्तिलाई उति राम्रो मानिस मानिँदैन । त्यस्ता कुरा अरुले गरिदिनु राम्रो हुन्छ ।

घ) आजको युगमा तपाईं एक्लो केही होइन । तपाईं कति ठूलो व्यक्ति भन्ने कुराको मापन तपाईंका पछाडि कति व्यक्ति छन् र कस्ता व्यक्ति छन् भन्ने कुराले मापन गर्छन् ।

तपाईंका पछाडि जति ठूला मानिएका व्यक्ति जति धेरै छन्, तपाईं त्यति नै सम्मानित व्यक्ति मानिनुहुन्छ । तर, तपाईंका पछाडि रहेका व्यक्तिसँग भएका मनमुटाव, समस्या वा झगडाका विषयमा बाहिरी व्यक्तिलाई भन्नुभयो भने तपाईंको महत्व घट्न शुरु हुन्छ ।

आफ्ना मानिससँग सधैं राम्रो सम्बन्ध हुन्छ भन्ने छैन, तर त्यो सम्बन्धका विषयमा बाहिर कुन रुपमा सम्वद्र्धन गर्न सक्नुहुन्छ, त्यसमा तपाईंको व्यक्तित्व बढ्ने गर्छ ।

ङ) मानिस जति सफल हुन्छ, त्यति नै राम्रा गुण ऊसँग हुन्छ भन्ने आम धारणा हुन्छ । यही कारण कतिपय अवस्थामा तपाईंले सार्वजनिक जीवनमा धेरै कुराको गोपनीयता राख्नुपर्छ ।

हरेक मानिसका धेरै अवगुण हुन्छन् । मानिस जति सफल भयो, उसले आफ्ना अवगुणलाई चिनेर त्यसलाई सार्वजनिक रुपमा व्यक्त गर्नु हुँदैन । विशेषगरी, केही विश्वासी व्यक्तिले तपाईंमा भएका गुण देखेर निकट भएका हुन्छन् । उनीहरु जुन कारणले निकट भएका हुन्छन्, त्यही विषयमा आफ्ना कमजोरी देखाउनुभयो भने यसले समस्या निम्त्याउन सक्छ ।

सतीशजी, तपाईंमा यी समस्या छन् कि छैनन् त्यसबारे विचार गरेर मानिससँग व्यवहार गर्नुभयो भने सम्बन्धमा सुधार आउन सक्छ ।अनलाइनखबरबाट