चिन्दै नचिनेको व्यक्तिलाई अदालतले श्रीमान् बनाइदिएपछि निरमाया न्याय खोज्दै राजधानीमा

फाल्गुन ५ गते, काठमाडौँ – न कहिल्यै भेटेको छ, न त चिनेको नै छ । नाम समेत नसुनेका एक पुरुषलाई अदालतले श्रीमान् ठहर गरिदिएपछि बाग्लुङकी एक महिला अहिले आश्चर्यमा परेकी छन् ।

जिल्ला अदालत दाङले बाग्लुङकी निरमाया पुनलाई अपरिचित पुरुषलाई श्रीमान् ठहर गरिदिएको हो । आफ्ना श्रीमानसँग बहुविवाह मुद्दा लडिरहेकी उनलाई सो मुद्दामा कमजोर बनाएर सम्पत्ति नदिलाउन थाहै नदिई अर्को मुद्दा दायर गरेर अर्को व्यक्तिलाई श्रीमान् ठहर गराइएको हो ।

जिल्ला अदालतले फनाधर धर्तीलाई उनको श्रीमान् भएको ठहर गरेको हो । फनाधर नामक व्यक्तिलाई उनले अहिलेसम्म भेटेकी छैनन् । प्रहरी र न्यायालयकै मिलेमतोमा यस्तो काम भएको भन्दै निरमाया न्याय माग्दै राजधानी आएकी छिन् ।

यस्तो थियो थियो घटना

निरमायाको २०५६ सालमा भारतीय सेनामा कार्यरत प्रेमबहादुर पुनसँग विवाह भएको थियो । उनीहरुको दुई बच्चा भए । करिब १० वर्षपछि उनीहरुबीच सम्बन्ध बिग्रँदै गयो । आफूलाई खर्च समेत दिन छाडेपछि उनले उजुरी गरेर तलबको आधा पैसा आफूले लिने व्यवस्था मिलाइन् ।

जागिर छाडेपछि श्रीमानले अर्की महिलासँग बिहे गरेको थाहा पाएपछि उनले २०७२ असार १७ गते प्रहरीमा उजुरी दिइन् । कास्की प्रहरीले साउन १८ गते उनका श्रीमान् प्रेमबहादुर र कान्छी श्रीमतीलाई पक्राउ गर्‍यो । बहुविवाह बाग्लुङमा भएकाले कास्की प्रहरीले उनीहरुलाई बाग्लुङमा बुझायो ।

बहुविवाह मुद्दामा सामान्यतया अदालतले अभियुक्तलाई धरौटीमा छाड्ने नजिर भेटिन्न । तर, बाग्लुङ जिल्ला अदालतले दुवै जनालाई साउन २८ गते न्यूनतम धरौटीमै छाड्ने आदेश दियो ।

त्यसका पछाडि प्रहरीको पनि सहयोग थियो । प्रहरीले पक्राउ गरेको एक सातामा अनुसन्धान सकिएको भन्दै अभियुक्तलाई फाइदा पुग्नेगरी मिसिल बनाइदिएको थियो । २४ दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न पाउने भएपछि प्रहरीले पीडितहरुको जानकारीबिना नै मुद्दा अगाडि बढाएको थियो ।

पछि थाहा पाएपछि पीडित निरमायाले एसएसपी सुभाषचन्द्र चौधरीलाई उजुरी गरिन् । प्रारम्भिक छानबिनमा प्रहरीको गल्ती देखिएपछि तीन जना प्रहरीलाई कारबाही गरिएको थियो । उक्त मुद्दा दायर हुँदा डिएसपी प्रेम बस्नेत बाग्लुङमा कार्यरत थिए । मुद्दा शाखाका प्रहरीलाई एसएसपीले कारबाही गरेका थिए । कारबाहीमा पर्नेमा सई शैलेन्द्र खड्का लगायत छन् ।

बाग्लुङ अदालतमा बहुविवाह मुद्दा चलिरहेकै थियो । श्रीमानको पेन्सन तथा जग्गा रोक्का नै थियो । त्यही क्रममा अदालतका कर्मचारीले एक दिन निरमायालाई भने ‘तपाईं विरुद्ध पनि दाङमा मुद्दा चलेको रहेछ नि ?’

उनी बुझ्न दाङ पुगिन् । अदालतमा पुग्दा उनी आश्चर्यचकित भइन् । चिन्दै नचिनेको एक व्यक्तिसँग बिहे गरेको भन्दै उनी विरुद्ध बहुविवाह मुद्दा दायर भएको रहेछ । चेमा घर्तीमगर नामक महिलाले २०७२ असोज ८ गते सो मुद्दा दायर गरेकी थिइन् ।

‘दुवै जनालाई मैले चिनेको समेत थिइनँ’, निरमाया भन्छिन्, ‘एक दिन अदालतमा चेमासँग भेट भयो, उनीसँग कुरा गर्न खोज्दा अदालतबाट भागिन् ।’

जिल्ला प्रहरी कार्यालय दाङले कुनै बलियो प्रमाण बिनै त्यसरी मुद्दा अदालतमा पुर्‍याएको थियो । बहुविवाह गरेको एउटा पनि बलियो प्रमाणबिना र अभियुक्तलाई पक्राउको लागि प्रयास नै नगरी मुद्दा दायर गर्नुले घटनामा प्रहरीको समेत मिलेमतो प्रस्ट हुन्छ ।

प्राप्त मिसिलमा उनीहरुले बिहे गरेर भोजभतेर खुवाएको भन्ने सुनेको विषयलाई मुख्य प्रमाण बनाइएको छ । विवाह दर्ता, फोटो लगायत बहुविवाह मुद्दाका अन्य कुनै प्रमाण छैन । अचम्म त के भयो भने, त्यति प्रमाणकै आधारमा जिल्ला अदालत दाङका न्यायाधीश चुरामान खड्काले गत जेठ २९ गते निरमायालाई फनाधरको श्रीमती भएको फैसला सुनाए । फनाधरलाई एक वर्ष कैद र ५ हजार रुपैयाँ जरिवानाको फैसला भयो ।

फनाधर विरुद्ध बहुविवाह मुद्दा मात्र दायर हुनु र अंश मुद्दा दायर नहुने तथा दुवै आरोपीलाई पक्राउ गर्न समेत चासो नदिई मुद्दा चलाउनुले यसका पछाडि गलत मनसाय रहेको देखिन्छ ।

उक्त मुद्दामा फनाधरको बयान नै लिइएको थिइएन । जबकि उनै फनाधरलाई बाग्लुङको मुद्दामा निरमाया आफ्नी श्रीमती भएको भनेर कागज गर्न लगाइएको थियो । तर, पछि फेरि अदालत गएर उनले आफूलाई आर्थिक प्रलोभनमा पारी त्यसो गर्न लगाएको भन्दै आफ्नो श्रीमती नभएको व्यहोराको अर्काे निवेदन दिएका छन् ।

स्रोतका अनुसार, निरमायालाई आफ्नो श्रीमती भएको भनिदिएवापत ४ लाख दिने आश्वासन दिइएको थियो । तर, थोरै मात्र पैसा दिएपछि उनले अदालतमा अर्को निवेदन दिएका हुन् ।

यो मुद्दामा अर्काे संयोग के छ भने, फैसला भएको केही दिनमै निरमायाका श्रीमान् प्रेमबहादुरको रोक्का रहेको पेन्सनको २० लाख रकम फुक्का भयो । दाङकै अदालतको फैसलाका आधारमा उक्त पेन्सन फुकुवा गरिएको थियो । जबकि बाग्लुङमा चलेको मुद्दाका आधारमा सो रकम रोक्का भएको थियो ।

‘फनाधरको श्रीमतीलाई आर्थिक प्रभावमा पारी यसरी नाटक रचिएको रहेछ,’ पीडित निरमाया भन्छिन्, ‘अदालतले कहिल्यै देख्दै नदेखेको व्यक्तिलाई श्रीमान् बनाइदियो ।’

अदालतमा पेश गरेका प्रमाणमा पनि उनीहरुबीच बिहे भएको तथा सँगै बसेको देखाउने कुनै प्र्रस्ट प्रमाण छैनन् । फनाधरले श्रीमती खोजिदिन भनेर प्रहरीमा दिएको उजुरी तथा श्रीमतीसँग होटलमा बसेको भन्ने जस्ता कागजहरु मात्र प्रमाणका रुपमा पेश गरिएका छन् । जसबाट प्रहरीले गम्भीर अनुसन्धानबिना नै बहुविवाह मुद्दा दर्ता गरेको देखिन्छ । घटनापछि उनले प्रहरीसँग समेत गएर झगडा गरिन्, तर प्रहरीको माथिल्लो निकायले उनलाई सहयोग गरेन ।

मुख्य अभियुक्तलाई खोजी नै नगरी फैसला हुनुलाई निरमाया आश्चर्य व्यक्त गर्छिन् । उनी पीडित रहेको बाग्लुङ जिल्ला अदालतमा दायर भएको मुद्दा साढे दुई वर्षदेखि विचाराधीन छ । श्रीमानले छाड्दा दुई वटा बच्चा पाल्न समेत आफूलाई समस्या भएको उनी बताउँछिन् ।

जिल्ला अदालत दाङका तत्कालीन न्यायाधीश चुरामान खड्का हाल जिल्ला अदालत काठमाडौंमा कार्यरत छन् । पीडित निरमायाले यस्तो फैसला गर्ने न्यायाधीशमाथि कारबाहीको माग गर्दै प्रधानन्यायाधीश गोपाल पराजुलीलाई भेटेकी छिन् । उनले न्याय परिषद्‌मा समेत उजुरी गरेकी छिन् ।

‘फैसला देखेर न्याय परिषद्का कर्मचारीले नै आश्चर्य व्यक्त गरे’, उनले भनिन् ।

जिल्ला अदालत दाङले फनाधर घर्ती निरमायाको पति भनेर गरेको फैसला,

– नेपाल लाइभ