बालुवाटारमा प्रधानमन्त्रीको ‘बर्थ डे’ पार्टी, छचल्कियो ओली दम्पतीको मायाप्रेम (भिडियो रिपोर्ट)

काठमाडौँ  । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले आज बालुवाटारमा ‘फुटबल केक’ काटेर जन्मदिन मनाएका छन् । ओलीले मन्त्रिपरिषद बैठक लगतै केक काटेर उपस्थित नेताहरुलाई ख्वाएका हुन् ।

ओलीको बर्थ डे केक खान भारतीय राजदुत, चिनिया राजदुतदेखि बिभिन्न पार्टीका नेता कार्यकर्ता समेत् बालुवाटार पुगेका छन् । छोरालाई शुभकामना दिन ओलीका पिता मोहनप्रसाद ओली पनि बालुवाटार पुगेका छन् । कार्यक्रममा चिनिया राजदूत यु होङ बालुवाटार पुगेको केहि समयपछि मात्र भारतीय राजदुत मन्जिभ सिंह बालुवाटार पुगेका थिए ।

प्रधानमन्त्री ओलीको जन्म तेह्रथुमको ईवा गा वि स मा २००८ सालमा भएको हो । उनी–स्व मधु ओली र मोहनप्रसाद ओलीका सन्तान हुन् ।जन्म दिनलाई बिशेष बनाउन यही अवसरमा ओलीले एमाले तथा माओवादीका मन्त्रीहरुलाई सपथ खुवाउने सम्भावना समेत प्रबल छ ।

प्रधानमन्त्री ओलीले बिहीबार राति १२ बजे नै पत्नी राधिकासाथ जन्मदिनको केक काटे । ओलीको जन्मदिनका अवसरमा पार्टीका नेता, कार्यकर्ता र शुभेच्छुकले सामाजिक सञ्जाल र टेलिफोनमार्फत शुभकामना दिइरहेका छन् । २०७० सालमा पहिलोपटक निजी निवास बालकोटमा जन्मदिनको अवसरमा भोज आयोजना गरियो । कम्युनिस्ट नेताले जन्मदिन बनाएर शाही प्रवृत्ति देखाएको भन्दै आलोचना भयो । अर्को वर्ष उनले जन्मदिनको कुनै कार्यक्रम राखेनन् । तर, लोक संगीतकर्मीहरुसमेतलाई लिएर निकट कार्यकर्ता र शुभेच्छुक बालकोट पुगेपछि उनी सरिक भएका थिए ।

रोचक के छ भने २०७० सालमा जन्मदिन मनाएको भन्दै आलोचना गरेका एमाले वरिष्ठ नेता माधवकुमार नेपालको जन्मदिन ओलीले नै आयोजना गरिदिए । त्यसपछि एमालेमा जन्मदिनको विषयमा हुने बहस नै अन्त्य भयो । अहिले सिनियर नेताहरु धमाधम जन्मदिन बनाउन थालेका छन् । अघिल्लो पटक प्रधानमन्त्री रहेकै बेला भारतीय नाकाबन्दीको चर्को आलोचना गरेपछि ‘राष्ट्रवादी’ छवि बनाएका ओलीले त्यसकै आडनमा चुनावमा एमाले र बाम गठबन्धनलाई सानदार विजय दिलाए ।

२००८ साल फागुन ११ गते तेह्रथुमको इवामा जन्मिएका ओलीको बाल्यकाल कष्टकर थियो । सामान्य गाउ“ले परिवारमा जन्मलिएका ओलीले मातृप्रेम पाउन सकेनन् । बाल्यकालमै आमा मधु ओलीको निधन भएपछि पिता मोहनप्रसादले ओलीको रेखदेख गरे । १४ वर्ष जेल जीवन बिताएका ओली २०२३ सालदेखि निरन्तर राजनीतिमा सक्रिय छन् ।

२०२८ सालमा जिल्ला कमिटी सदस्य र २०२९ सालमा झापा आन्दोलन कमिटीको प्रमुख बनेका ओली २०४४ सालमा जेलबाट छुटेपछि तत्कालिन मालेको केन्द्री कमिटी सदस्य भए । २०४८ सालदेखि एमालेको स्थायी कमिटी सदस्य रहेका ओली २०७१ सालको असारमा भएको नवौं महाधिवेशनबाट एमाले अध्यक्ष निर्वाचित भएका थिए ।

२०४८, २०५१ र २०५६ सालको आमनिर्वाचनमा झापा–६ बाट निर्वाचित ओली २०६४ सालको संविधानसभाको पहिलो निर्वाचनमा भने झापा ७ बाट पराजित भए । उनी २०५१ सालमा गृहमन्त्री र २०६४ सालमा उपप्रधान एवं परराष्ट्रमन्त्री थिए ।२०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा विजयी भएपछि एमाले संसदीय दलका नेता चुनिएका ओली पहिलो पटक २०७२ असोज २४ गते मुलुकको ३८ औं प्रधानमन्त्री निर्वाचित भएका थिए ।

ओली उखानटुक्का प्रयोग गरेर व्यंग्यवाण प्रहार गर्न पनि खप्पिस छन् । विपक्षीलेसमेत उनलाई प्रष्ट र वैचारिक अडान भएका नेता मान्छन् । कुनै बेला माओवादीका कटु आलोचक ओली दुवै पटक माओवादीकै समर्थनमा प्रधानमन्त्री भएका हुन् ।

हेर्नुहोस् भिडियो रिपोर्ट