मुख्यमन्त्री पौडेलले दिए राजिनामाको धम्की, पत्रकार ऋषि धमला माथीनै ठाडो आक्रमण (भिडियोसहित)

फागुन ७, काठमाण्डौ । प्रदेश तीनका मुख्यमन्त्री डोरमणि पौडेलले संचारमाध्यहरुले अष्टलक्ष्मी शाक्यलाई मात्र मुख्यमन्त्रीको रुपमा हेर्ने गरेको तर आफू धेरै पहिलेदेखि नै तयार भएर बसेको खुलासा गरेका छन् ।

टेलिभिजन कार्यक्रम धमलाको हमलामा ऋषि धमलासँग कुरा गर्दै पौडेलले एमालेभित्र प्रदेश तीनको मुख्यमन्त्री बन्नका लागि अरु पनि सक्षम र योग्य व्यक्ति छन् भन्ने कुरा मिडियाले नबुझेको उनको भनाई थियो ।

“मिडियाले के बुझ्यो भने अष्टलक्ष्मी शाक्य सिनियर हुनुहुन्छ । उपाध्यक्ष हुनुहुन्छ । राजेन्द्र पाण्डे पोलिटव्यूरो सदस्य हुनुहुन्छ । उहाँहरुको चर्चा बढि भयो । तर जसले जे गरे पनि म नै मुख्यमन्त्री हुनेवाला थिँए ।” पौडेलले भने ।

आफू पनि अरु दाबेदार जस्तै प्रदेशसभाको सदस्य भएको नाताले मुख्यमन्त्रीका लागि योग्य भएको बताउँदै पार्टीभित्रको बरियाता मात्रै आफु तल भएकाले कसैले अनुमान नगरेको पौडेलको भनाई छ ।

उपाध्यक्ष शाक्यले मुख्यमन्त्री बन्ने चाहना राखे पनि आफूसँग केही कुरा नराखेके पौडलेको भनाई छ । “उहाँले तपाईले छोड्दिनुस् भनेको भए मैले सोच्थेँ । निर्वाचनको मिति घोषणा भएदेखि मसँग केही कुरै गर्नुभएन । आफैल जित्छु भन्ने आत्मविश्वास बढि भयो ।” पौडेलले भने ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले भने आफूलाई चुनाव नलड्नुस भनेर आग्रह गरेको पौडेलको दाबी छ । तर आफूले चुनाव जित्ने दाबीसहित मुख्यमन्त्रीका लागि लड्ने बताएपछि अध्यक्ष ओलीले जित्ने सम्भावना छ भने लड्नुस् भनेर आफूलाई भनेको पौडेलले बताए ।

अबका दिनमा प्रदेश कमिटिको संस्थागत निर्णय मानेर नै आफू काम गर्न तयार रहेको पौडेलको भनाई छ । प्रदेश नम्बर तीनको प्रदेश संयोजकको हैसियतले अष्टलक्ष्मी शाक्यको निर्देशन मान्न आफू तयार रहेको पौडेले बताए ।

“म पार्टीको लाइन र निर्देशनभन्दा बाहिर गएर कहिल्यै पनि काम गर्दिन । अनावश्यक कुरा लाद्न खोज्यो भने चाँही मान्दिन ।” पौडेलले भने ।

प्रक्रियाअनुसार चुनाव लडेर आफू मुख्यमन्त्री बनेकाले अब कोही पनि असन्तुष्ट हुनु नहुनेमा उनले जोड दिएका छन् ।
आफ्नो कारणले अष्टलक्ष्मी शाक्य पराजित नभएको भन्दै विधि पूरा गरेर आफू संसदीय दलको नेता बन्दै मुख्यमन्त्री बन्न सफल भएको उनको तर्क छ ।

चुनौतिकाबिच मुख्यमन्त्री भएकाले प्रदेश नम्बर तीनलाई समृद्ध बनाउने जिम्मेवारी आएकाले सोही अनुसार काम गर्ने पौडेलको भनाई छ । तर सबै कुरा अरु कसैको नियन्त्रणमा हुन थाल्यो भने आफूले काम गर्न नसक्ने उनले बताए ।
पार्टीसँग सल्लाह गरेर मन्त्रीमण्डल विस्तार गर्ने तयारीमा आफू रहेको पौडेलले बताए ।

पार्टीको नेतृत्व तहसँग पनि छलफल गरेर काम गर्ने उनको भनाई छ ।
आफ्नो कार्यकालमा भ्रष्टाचार अन्त गरेरै छाड्ने बताउँदै पौडेलले भ्रष्टाचार अन्त्य गर्न नसके पद छोड्ने समेत बताएका छन् ।