सबै छोरीका बाबु आमाले शेयर गरौँ । ट्याग पनि गर्नु है ।

आमा मुस्कुराऊ,  हामीले छोरी पायौं….

  • सरगम भट्टराई

आमा ! तिमी खुशी छैनौ ? 
छिमेकमा लड्डु बाँडिनौ? 
छैठी, न्वारान र सुत्केरीलाई,
माली गाईको घ्यु साँच्यौ साँचिनौँ?
हिजो बालेको दियोमा 
आज तेल थप्यौ थपिनौं? 
मुटुकी टुक्रा हुन नि छोरी पनि !
मुस्कुराऊ न आमा….
हामीले छोरी पायौँ ।।

बा ! 
धुलेटो कोर्यौ कोरेनौ?
ग्रह दशा हेर्यौ हेरेनौँ ? 
छिमेकमा खबर गर्यौ,गरेनौ?
काठको चौंठीमा तेल भर्यौ भरेनौँ ?
तल कोठामा ओछ्यान सार्यौ सारेनौं?
छोरी त लक्ष्मीकी प्रतीक हुन,
साक्षात सरस्वती, गौरी हुन,
मुस्कुराऊन बा ! 
हामीले छोरी पायौँ ।
……………………..
हो आमा !
छोरी जून जस्तै उजेली छिन,
फूल जस्ती कोमल छिन,
सृष्टिले रचेकी साक्षात् देवी हुन्,
पूर्णिमाको चन्द्रजस्तै सफा,
तिमी जस्तै महान ,
तिमी जस्तै सरल र ,
तिमी जस्तै  ममतामयी छिन छोरी,
मुस्कुराऊ आमा,…
हामीले छोरी पायौ….
……………………
हो आमा, समाज अन्धों छ,
हामीले छोरी पाउँदा
 कुन्जना काकीले शुभकामना दिईनन्,
केशब दाईले बधाई भनेनन्,
डल्ली दिदीले ओँठ लेप्र्याईन् !
तर तिमी सुर्ता नमान,
हो बाबा, 
नझोक्र्याऊनू है अब पनि 
हामीलाई छोरीले पाल्नेछिन,
भोलि हाम्रो शासमा आश र ,
लासमा दागवत्ती दिनेछिन,
हामी यिनलाई छोरो बनाउँला,
कर्मठ र योग्य बनाउँला 
यो समाजलाई नज़ीर बनाउँला,
छोरी छोरा एउटै हुन,
शास्त्रमा त भेद छैन नि बा ? 
संस्कारको भेद त हटाउँला नि…..
मुस्कुराऊ न बा ….
हामीले छोरी पायौँ ! 
…. …………………….
छोरी पनि कम हुन्निन  आमा ,
माया, हिम्मत र अवसर पो दिनुपर्छ,
छोरा जस्तै ममता र समता दिनुपर्छ,
त्यो प्रशवको पीडा संझ त ! 
एउटै त  हो, दुरुस्त एउटै हैन र ? 
रगत उस्तै रातो न हो,
त्यसैले रगतमा भेद नगर,
छिमेकी डाकौँ,
छैठी मनाऊँ , खुशियाली मनाउँ…
हामी आउदैछौ आज घर अस्पत्तालबाट,
बा !  मुस्कुराऊ न,
आमा ! मुस्कुराऊ न, 
हामीले छोरी पायौँ…..