समाजसेवी राजेन्द्र अधिकारीद्धारा अनाथ बालबालिकालाई आर्थिक सहयोग

लालबहादुर ढेंगा, दुबई, युएई
दुबई । मानिसको जिन्दगी बिडम्वना हि बिडम्वनाले भरिएको पाईन्छ । जन्म लिएर धर्तीमा आए पनि आखिर जिन्दगीले कुन मोड लिने हो कस्लाई के थाहा हुन्छ । अझै आफु जन्म हुने कोखले नै साथ नदिएपछि अरुको के नै भरोसा रहन्छ । जिन्दगीदेखि बेखबर ममताको आंचलमा हुर्केर आमाको औला समाटेर हिड्न सिखाउनेले साथ नदिएपछि ३ जना अनाथ बालबालिकाहरुको भविश्य भयानक कष्टकर बन्दै गएको छ ।
विगत लामो समयदेखि युएईमा कार्यरत समाजसेवी राजेन्द्र अधिकारीले अर्घाखांची जिल्ला सुन्दर पोखरा मालारानी गाउंपालिका–१, का ३ जना अनाथ बालबालिकालाई नेपाली ४३ हजार ६ सय रुपैयां आर्थिक सहयोग गरेको छ । सो रकम गएको १६ जनवरी मंगलबारका दिन दुबईस्थित सन एण्ड मुन ट्राभल्सको आफिसमा अर्घाखांची सम्पर्क समितिका अध्यक्ष कृष्ण भुसाललाई हस्तान्तरण गरेको हो । जसमा अध्यक्ष भुसालको भाई नेपाल जाने भएकाले पीडित बालबालिकालाई गाउंमा गएर हस्तान्तरण गरिने भएको छ ।

हाल १२ बर्षकी छोरी मनिषा पोखरेल, ८ बर्ष र ५ बर्षको भाई हजुर बाबाको सहारामा रहेका छन् । भारतमा कार्यरत रहेका बुबाले आत्महत्या गरेपछि आमाले पनि गाउंकै एक जनासंग बैवाहिक जीवन बिताउन लागेपछि यि बालबालिकाहरु बेसाहारा हुन पूगेका हुन् । आखिर बुढा हजुर बाबाको सहारा कहिलेसम्म होला ? भोलीका दिन कस्ले सहारा दिने ? यस्ता खालका हजारौ प्रश्नहरु यि अवोध बालबालिकाका मस्तिक मन्डराई रहेको छ ।
समाजसेवी अधिकारी पर्वत सेवा समाज युएईका निवर्तमान अध्यक्ष तथा नेपाली जनसम्पर्क समिति युएईका उपसभापतिको पदमा समेत कार्यरत रहेका छन् । फेसबुकमा राखेको भिडियो हेरेपछि एकल प्रयासमा रकम संकलन गर्न थालेको जानकारी दिएको छ । यस संकलन अभियानमा साथ दिने सम्पूर्ण सहयोगीहरुलाई बिशेषगरी धन्यबादको पात्र बताएका छन् । यस सहयोगले ति बालबालिकाहरुको प्रयाप्त जीवन सुरक्षित छ त ? छैन भने अरु राजेन्द्र अधिकारी पनि अगाडि आउन आवश्यक देखिन्छ ।