जग्गा भारतमा गाभिएपछि स्थानीय भक्कानिदै भन्छन् – ‘स्तम्भ सिमानामा होइन छातीमा गाडिएको छ’ (भिडियोसहित)

 

माघ ०४, विरगंज । भारतसँग जोडिएको नेपालको अतिव्यस्त तथा ऐतिहासिक नाका वीरगन्जमा सरकारले सामान्य सावधानी अपनाउन नसक्दा नेपालको ५० बिघा जमिन भारतमा गाभिने अवस्था सिर्जना भएको छ।

वीरगन्ज महानगरपालिका–१ स्थित छपकैयामा वर्षौंदेखि भोगचलन गर्दै आएको जग्गामा नेपाल-भारत सीमा स्तम्भ गाडिएपछि स्थानीय बासिन्दा जग्गाविहीन बन्ने अवस्थामा पुगेका हुन्। उनीहरुले सीमा स्तम्भ सिमानामा नभई आफ्नो छातीमा गाडिएको गुनासो गरेका छन्।

केही समयअघि मात्र नेपाल-भारत संयुक्त सर्वेक्षण टोलीले स्तम्भ ३९१ र ३९२ अन्तर्गतका सहायक स्तम्भ निमार्ण गर्ने कार्यलाई तीव्रता दिएको थियो। नेपाल हुँदै भारत बग्ने सिरिसिया खोलाको धार केही वर्षदेखि परिवर्तन भएको थियो। यसैको फाइदा उठाउँदै भारतीय पक्षले परिवर्तित धारमा सीमा स्तम्भ सार्ने कार्यलाई अगाडि सारेपछि नेपाली भूभाग भारततिर गाभिएको स्थानीयबासी बताउँछन्। यो जग्गाको लालपुर्जा अहिले पनि नेपालीसँगै छ। लामो समयदेखि जग्गाको भोगचलन गर्दै आइरहेका नेपालीहरू यही कारण भूमिहीन बन्ने अवस्था आएपछि हतास मुद्रामा छन्। उनीहरूको गुनासो कतै सुनुवाइ भएको छैन।

सीमा स्तम्भ विवादका कारण आफ्नो जमिनबाट वञ्चित हुने अवस्थामा पुगेका उनै नेपालीहरूसँग कुरा गरेर स्थानीय पत्रकार सन्तोष देउजाले तयार पारेको स्थलगत भिडियो रिपोर्टः

स्रोत:नेपाललाइभ