डोटीमा लाठीले हानेर प्रहरीले १ जनाको खुट्टा भाँच्यो, २ को शारीरभरि चोटैचाेट

डोटी, ४ माघ ।

डोटीमा प्रहरीको लाठीचार्जबाट ३ प्रदर्शनकारी घाइते भएका छन् । घाइते हुनेमा सिलगढी नगरपालिका ४ का भरत बिक, सोहि नगरपालिका १ का ४० बर्षिय नारायण खडका र सोहि नगरपालिका ७ का करी भण्डारी रहेका छन् ।

सरकारले प्रदेश नं. ७ को अस्थायी मुकाम धनगढीलाई तोकेको भन्दै सुरु भएको आन्दोलनको क्रममा आन्दोलनकारी र प्रहरीबीच झडप भएको हो ।

प्रदशर्नकारीले देउवाको जलिरहेको पुत्ला क्षेत्रीय प्रशासन कार्यालयभित्र फालेपछि प्रहरीले प्रदर्शनकारीहरु माथि लाठी चार्ज गरेको थियो ।

स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले ५ सेल अश्रुग्यास समेत प्रहार गरेको छ । क्षेत्रीय प्रशासन कार्यालय राजपुर अगाडि प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला जलाउने क्रममा दोहोरो झडप भएको हो ।

प्रहरीले प्रदर्शनकारीहरुले क्षेत्रीय प्रशासन कार्यालयमा ढुङ्गामुढा गर्दै आगो लगाउन खोजेपछि स्थिति नियन्त्रणमा लिन सामान्य बल प्रयोग गरेको बताएको छ ।

बिकको देब्रे खुट्टा भाचिएको छ भने उनलाई थप उपचारका लागि धनगढी रिफर गरेको छ । खड्का र भण्डारीको शरीरका विभिन्न भागमा चोट लागेको छ । उनीहरुकोको सुजङ्ग अस्पताल राजपुर डोटीमै उपचार भइरहेको छ । (सञ्चारकेन्द्र डटकम )