मन्त्रीले आफ्नै ड्राईभरलाई ठगेको आरोप, मन्त्रीको लाईभ जवाफ । ल्यावको गल्तीले झण्डै गयो ज्यान !

सिधाकुरा जनप्रतिनिधीहरुलाईः ‘के राजनीति गर्ने योग्यता ठेकेदारी नै हो त ?’

जनप्रतिनिधीहरुका बारेमा कुरा गरौँ आज । जनताको भावना जनताको दुख, पिर मर्का समस्या प्राथमिकतालाई बुझेर त्यस उपर काम गर्न भनी जनताले भोट दिएर पठाएको मानिस नै जनप्रतिनिधी हुन्छ । राजनीतीक दललाई रिझाएर, चन्दा टक्राएर चुनाव उठेर जितेकाहरु जनप्रतिनिधी हुन् सक्छन् तर जनभावना र जनमर्का बुझेर त्यसको समाधानका लागि सिन्को नभाँच्नेहरु जनप्रनिनिधी हुन सक्दैनन् ।

आज तराई मधेशका समस्याहरु किन समाधान हुन सकेका छैनन भने त्यस भेगमा जन्मेर, त्यस भेगको दुख सुख बुझेर, गरिबी, अपहेलनासँग जुधेर राजनीति गरेकाहरु जनप्रतिनिधी भए पो तिनले जनताका वास्तबिक समस्या समाधान गर्न दिन रात काम गर्छन । प्राय जसो जनप्रतिनिधीहरु जमिन्दार, साहु महाजनहरु छन् । गरिबको प्रतिनिधीत्व गर्न गरीबै हुनु पर्छ भन्ने त छैन तर जमिन्दार र धनाढ्यहरुले गरिब जनताको मर्का बुझेनन् ।

राजनीतिक दलले पनि टिकट दिँदा खाइलाग्दो शरीर, टनाटन चन्दा र लठैत पाल्न सक्ने क्षमता हेरेर टिकट दियो । पैसा नहुनेले विचार र भिजनको आधारमा चुनाव जित्न मरेपनि सक्दैन । लाखौ खर्च नगरी चुनाव जित्नेहरु औलामा गन्न सकिएलान् त्यो पनि एउटै हातको । अर्को कुरा यो मुलुकमा सबै भन्दा अस्तव्यस्त भएको क्षेत्र नै विकास निर्माण ।

बिकास निर्माणको जिम्मा लिएका ठेकेदारहरुले सही काम नगरेर, छिटोे काम नगरेर अथवा यो वा उ बाहानामा निर्माण सम्पन्न नगरेका साना ठुला आयोजनाको लिस्ट निकै लामो छ ।

तर गत स्थानिय चुनावमा राजनीतिक पार्टीको टिकट लिएर चुनाव समेत जित्ने ठेकेदारहरु यति छन् कि भनेर र गनेर साध्य छैन । खोज पत्रकारीता केन्द्रले सार्वजनिक गरेको रिपोर्ट अनुसार सुदुरपश्चिमका ९ जिल्लामा मात्र ३६ जना निमार्ण व्यवसायीहरु कोही मेयर भएका छन् कोही उपमेयर, कोही वडा अध्यक्ष, कोही वडा सदस्य ,गाँउपालिका सदस्य भएका छन् ।

कुनै पेशा र व्यवसायसँग रिस राग र आपत्ती दोष, पुर्वाग्रह छैन तर के राजनीति गर्ने योग्यता ठेकेदारी नै हो त ? साना तिना ठेक्का पट्टा बाट शुरु ग¥यो, सेटीङ मिलायो, कानुन छल्यो, ठुलो ठेकेदार बन्यो, राजनीति ग¥यो, आफ्नो घर बलियो बनायो बस् । देशका बाटाघाटा, भवन, पुल भाडमे जाए । हिजो तिनै ठेकेदारहरुले बनाएका बाटाहरु केही महिनामै बिग्रिएको हाम्रै आँखा अगाडि छ ।

तिनै ठेकेदारहरु हुन जसले आजपनि आफुले लिएका ठेक्काहरु पुरा गरेका छैन्न । तर तिनै ठेकेदारहरु आज जनप्रतिनिधी छन् । सोच्नुस बाटा पुलहरुको के हालत होला ? मुलुकले चाँडै नयाँ सरकार पनि पाउने छ, तर क्षमता बिहिनहरु मन्त्री बने भने मुलुकको अर्को ५ बर्ष खेर जान्छ र मुलुक थप ५० बर्ष पछि पर्छ ।

क्यानडाको मन्त्रीमण्डलको सानो उदाहरण दिन उपयुक्त ठान्दछु । स्वास्थ्य मन्त्री एक प्रशिद्ध डाक्टर छन्, कृषी मन्त्री पुराना किशान हुन, ४५ बर्षका व्यक्ति युवा मन्त्री छन् । एक सफल व्यापारी अर्थ मन्त्री छन् । एक अन्तरीक्ष यात्री यातायता मन्त्री छन् । खेलदकुद मन्त्री ओलम्पीक खेलाडि छन् । विज्ञान मन्त्री पिएचडी गरेका भूगोलविद छन् । क्याविनेटमा ५० प्रतिशत महिला छन् र स्वयं प्रधानमन्त्री जस्टीन टुरुडो ४५ बर्षका छन् ।

मलाई थाहा छ यो क्यानडा होइन नेपाल हो र मलाई यो पनि थाहा छ, ठेकेदार, गुण्डा, तस्कर, शिक्षा र स्वास्थ्य क्षेत्रका माफिया, जग्गा माफियाहरु मात्र राजनीतिमा लागे र यी र यस्ताहरुको क्याबिनेट बन्यो भने यो मुलुक, ३३ कोटी देउता, गौतम बूद्ध, जिसस क्राइष्ट, मोहम्द लगायतका सबै देवताहरुले तथास्तु भने पनि बन्न सक्दैनन् ।

ठग मन्त्रि – हामीले कार्यक्रममा पटक पटक बिभिन्न वहानामा सर्वसाधारणलाई ठगी गरी भाग्ने व्यक्तिहरुको बिषयमा रिपोर्टीङ गर्दै आएका छौँ । विदेश लैजाने वाहाना देखि नेपालमा विभिन्न जागिर लगाइदिने आश्वासनमा विभिन्न व्यक्तिहरुले पैसा असुलेर फरार हुने गरेका छन् । तर यी लमजुङ बेसिशहरका दुर्गा परियार भने मन्त्रीबाटै ठगीए । २०६७ सालमा झलनाथ खनाल प्रधानमन्त्री हुँदा नेकपा मालेका तर्फबाट संस्कृत तथा पर्यटन मन्त्री भएका खगेन्द्र प्रसाईको गाडी चलाउने परियारलाई किर्ते जग्गा बेचेर मन्त्रीले नै ठगेका हुन् ।

१० बर्षसम्म साउदी अरेबीयमा पसिना बगाएर स्वेदश फर्किएका दुर्गा परियारले संयोगबश उनै मन्त्रीको गाडी चलाउने काम पाए ।यही दौरानमा पुर्व मन्त्री प्रसाईले दुर्गालाई भएको पैसा जग्गामा लगानी गर्न लगाएर आफ्नै जग्गा दिने आशा देखाए । मन्त्री जस्तो व्यक्तिले सस्तोमा आफ्नै जग्गा मिलाइदिने भनेपछि दुर्गा परियार पनि चुपचाप जग्गा किन्न पुगे । भक्तपुर सिपडोल स्थीत चल्तीमा प्रति आना ४ लाख पर्ने जग्गा परियारलाई २ लाखमा दिने भन्दै ४ आना जग्गाको कागज बनाए । बसन्त स्याङतानको जग्गा भएको भन्दै एक महिनापछि जग्गा पास गरिदिने भन्दै उनले तत्कालै साढे २ लाखको कागज बनाए भने थप साढे २ लाख ऋण स्वरुप मन्त्री प्रसाइले लिए ।

त्यसपछि महिना बिते, बर्ष पनि बिते तर मन्त्रीले उनको जग्गा पास गरिदिएनन् । पछि मालपोतमा गएर हेर्दा उनले किनेको भनिएको जग्गा किर्ते रहेछ । बसन्त स्याङतानको भनिएको जग्गा त धर्मरत्न शाक्य र श्यामरत्न शाक्यको रहेछ । आँफु मन्त्रीबाटै ठगीएको थाहा पाएपछि उनले अदालतमा मुद्वा पनि हाले । ठगीको केस चलेपछि पुर्व मन्त्री प्रसाई २४ दिन हनुमान ढोकाको जेलमा पनि बसे । तर पछि अदालतले धरौटीमा छाडिदियो । उनको पैसा अन्य २ व्यक्तिले भुक्तानी गर्नुपर्ने भनि फैसला भयो । भुक्तानी गर्नुपर्ने भनिएको बसन्त स्याङतान श्यामकाजी स्याङतानलाई उनले राम्रोसँग भेटेका पनि छैनन् ।

अहिले पनि खानेपानी मन्त्रालयको गाडी चलाउँदै आएका उनलाई परिवार पाल्न मुस्कील छ । रगत पसिना बगाएर बिदेशमा कमाएको पैसा पुर्व मन्त्रीले नै ठगे पछि अहिले छोराछोरी बिरामी पर्दा समेत उपचार गर्न समस्या पर्छ दुर्गा परियारलाई । अहिले पनि समयमा समयमा पुर्व मन्त्रीलाई उनले सम्पर्क गर्दा काठमाडौ आएर मिलाइदिने बताउँछन् । तर ७ बर्ष भईसक्यो उनि भने कहिलै आएन्न । हाम्रै कार्यालयमा बसेर फोन गर्दापनि मन्त्रीले आँफु काठमाडौ आएर मिलाउने भन्दै टारे ।

न्युजट्वान्टी फोरबाट

प्रकाशित मिति: २०७४ माघ २ , मंगलबार