युएईमा एक बर्षको अवधिमा ८४ जना नेपालीले ज्यान गुमाए

लालबहादुर ढेंगा, दुबई, युएई
दुबई । खाडी मुलुकहरुमध्ये नेपाली रोजगार दाताहरुका लागि युएई एकदमै उत्तम थलो बन्दै गएको पाईन्छ । वैदेशिक रोजगारका लागि विगतमा साउदी अरब त्यसपछि कतार अब भने युएईमा आउनेहरुको घुईचो लागेको देख्न सकिन्छ । युएईमा छिर्नका लागि खासै झन्झट नहुने, प्रक्रियाका लागि सहज र सरल बातावरण भएका कारण दिनाहुं भित्रिने क्रममा बृद्धि भएको हो ।
युएईमा नेपाली कामदारहरुको जनसंख्या आधिकारिक सरकारी तथ्याङ्क नभएता पनि आम जनमानसको अन्दाजमा लगभग २ लाख ५० हजारको हाराहारिमा रहेको अनुमान गरिन्छ । (इम्पलोयमेन्ट) काम गर्ने भिषामा भन्दा भिजिट भिषामा आउनेहरुको संख्या ह्वाट्टै बढ्न थालेको छ । व्लडभित्र आफन्ती पर्नेहरुको भिजिट भिषालाई कानुनी वैधानिक रुप दिनका लागि नेपाली राजदूतावास अबुधावीमा मासिक ४ सयदेखि ५०० सयसम्म सिफारिस लिन पुगेको दूतावासले जानकारी दिएका छन् ।
गत साल २०१७ एक बर्षको अवधिमा विदेशी भूमिमा आएर धन सम्पत्ती कमाई घर परिवारलाई सुख र खुशीयाली दिने सपना बोकेर युएई छिरेका ८४ जना नेपालीहरुले ज्यान गुमाउन पुगेका छन् । जसमा ७६ जना पुरुष रहेको छ भने ८ जना महिला रहेको छ । मृत्यु हुनेहरुमा प्राकतिक रुपले ४३% जनाएको पाईन्छ । त्यसैगरी आत्महत्या ३१% र दुर्घटना २६% देखाएको छ । नेपाली राजदूतावास अबुधावीको ४ बर्षको रिकर्ड सरसर्ती हेर्ने हो भने सन् २०१६ मा ६६ जना, सन् २०१५ मा ६४ जना, सन् २०१४ मा ६३ जना र सन् २०१३ मा ७० रहेको छ ।
पछिल्लो समयमा युएईस्थित नेपाली व्यसायीहरु निकै मौलाउंदै गएका छन् । धेरै जसो व्यवसायीहरु लामो समयको रोजगारबाट विभिन्न व्यवसायी क्षेत्रमा हानिएका हुन् । लगभग सबै प्रकारका नेपाली सामान र नेपाली परिकारका स्वादहरु लिन पाईन्छ । नेपाली भाकाका लोक सांगीतिक पस्किने लोक दोहोरी सांझदेखि लिएर स–साना पसलहरु समेत रहेका छन् । सबै व्यवसायीहरुमध्ये रेष्टुरेण्ट, ट्राभल्स एण्ड टुरिजम र व्यूटी पार्लर फस्टाएको पाईन्छ ।