रसुवाको गोसाँईकुण्ड मा.वि.लाई नवनिर्मित पुस्तकालय भवन हस्तान्तरण

भीम लामा
पुस २४, काठमाडौं । रसुवाको नौकुण्ड गाउँपालिका वडा ६ मा रहेको श्री गोसाँईकुण्ड माध्यमिक विद्यालयमा नवनिर्मित पुस्तकालय भवन उद्घाटन तथा हस्तान्तरण गरेको छ ।


नेपाल स्कटल्याण्ड एशोसियसनको आर्थिक सहयोग तथा पाहार ट्रष्ट नेपाल पोखराको प्राविधिक सहयोगमा उक्त पुस्तकालय भवन निर्माण सम्पन्न पछि एक कार्यक्रमबीच आइतबार हस्तान्तरण गरिएको हो । कार्यक्रममा नेपाल स्कटल्याण्ड एशोसियसनका नेपाल निर्देशक किशोर ढंगोल र पाहार ट्रष्ट नेपालका अध्यक्ष चन्द्रबहादुर गुरुङले संयुक्त रुपमा उद्घाटन तथा हस्तान्तरण गरेका थिए । उक्त भवन करिब १३ लाखमा सम्पन्न भएको बताएको छ ।

सोही कार्यक्रममा बोल्दै पाहार ट्रष्टका सचिव भगवान पन्तले पुस्तकालयको भवन प्राप्त भएपनि त्यसका लागि आवश्यक आधारभूत सामाग्री जुटाउन स्थानीय अभिभावक, व्यवस्थापन समिति तथा शिक्षकहरुले चासो दिनुपर्ने बताए । पुस्तकालय ज्ञानको भण्डार भएकाले सबै विद्यार्थीले पुस्तकालयमा पुस्तक पढ्ने बानीको विकास गर्नु पर्ने तथा विद्यालयले विद्यार्थीको लागि उचित वातावरणको व्यवस्थापन गर्न आग्रह गरे ।

त्यस्तै पाहार ट्रष्टका अध्यक्ष चन्द्रबहादुर गुरुङले विद्यालयको भवन निर्माणले मात्र नभई त्यहाँभित्रको आवश्यक शैक्षिक सामाग्री तथा पुस्तकहरुको आवश्यकतालाई पनि मध्यनजर पु¥याउन व्यवस्थापन समिति तथा उक्त विद्यालयका शिक्षकहरुलाई आग्रह गरे । अध्यक्ष गुरुङले पुस्तकालयमैत्री वातावरणमा मात्र विद्यार्थीले नयाँ कुराको ज्ञान प्राप्त गर्न सकिने बताउँदै रचनात्मक पोस्टर र नेपाली शब्दवली पुस्तक समेत हस्तान्तरण गरे । उनले विद्यार्थीको पढ्ने अधिकारलाई कुण्ठित नगरी विद्यालय पठाउन अभिभावकलाई आग्रह गरे ।
कार्यक्रममा नेपाल स्कटल्याण्ड एशोसियसनका नेपाल निर्देशक किशोर ढंगोलले विद्यार्थीहरुको अतिरिक्त अध्ययन क्षमता वृद्धि बनाउन पुस्तकालयको आवश्यकता रहेको बताए । उनले भवन निर्माणमा स्कटल्याण्डमा रहेका नेपालीहरुको सहयोग रहेको बताउँदै नेपालको भूकम्पपछिको पुर्ननिर्माण कार्यमा सहयोग गर्दै आएको उल्लेख गरे । गोरखा, सिन्धुपाल्चोक, काभ्रे लगाएत ठाँउहरुमा समेत पुस्तकालय तथा आधुनिक शौचालय निर्माण गर्दै आएको बताउँदै विकासको हिसावले पिछाडि परेको उक्त रसुवाको समुदायिक विद्यालयमा पुस्तकालय निर्माण गरेको बताए ।

कार्यक्रममा ढंगोलले भने–‘नेपाल स्कटल्याण्ड एशोशियसनका अध्यक्ष तथा नेपाल मामिला प्रमुख निशान रिजालले समेत सो कार्यको लागि शुभेच्छ प्रकट गर्दै आगामी दिनमा पनि सक्दो सहयोग जुटाउने प्रतिवद्धता गरेका छन् ।’ कक्षा १० सम्म अध्यपन हुने उक्त विद्यालयमा ५ सय १३ विद्यार्थी अध्ययनरत छन् भने लेखा तथा बाल विकास गरि १८ जना कर्मचारी रहेका छन् । जसमा १० जना प्रा.वि दरबन्दी र २ जना निमावि दरबन्दी रहेको सो विद्यालयमा शिक्षक कर्मचारीको आवश्यकता भएको उल्लेख गर्दै प्रधानाध्यापक गुणराज पौडेलले थप आवश्यक शिक्षक दरबन्दीको माग गरेका छन् । शिक्षकको अभावमा गुणस्तरिय शिक्षा प्रदान गर्न कठिनाई भएकाले स्थानीय जनप्रतिनिधिमार्फत सम्बन्धित निकायलाई ध्यानाकर्षण गरेका छन् ।

कार्यक्रममा जिल्ला शिक्षा कार्यालय रसुवाको स्रोत व्यक्ति भेगराज थापा, कालिका हिमालय मा.वि. स्रोत व्यक्ति बासुदेव लामिछाने वडा अध्यक्ष लगाएत स्थानीयहरुको सहभागी रहेको थियो ।
(आयोखबर)