‘कृ’को नयाँ गीत रिलिज गर्ने तयारी, यस्तो देखिएका छन् अनमोल

काठमाडौं । अभिनेता अनमोल केसीको मुख्य भूमिका रहेको चलचित्र ‘कृ’को ट्रेलर २ साता अगाडि रिलिज भयो । यो चलचित्रको ट्रेलरलाई दर्शकले मन पराए । लामो समय नेपालको नम्बर १ ट्रेन्डिङमा बसेको चलचित्रको ट्रेलरलाई १५ लाख ५० हजार भन्दा बढी दर्शकले हेरिसकेका छन् ।

चलचित्रको ट्रेलरमा अभिनेता केसीको द्धन्द्धात्मक शैली, उनको गेटअपका साथै अभिनेत्री अदिती वुढाथोकी र खलपात्र अनुप विक्रम शाहीको गेटअपलाई पनि अधिकाँशले रुचाएका छन् । अदितीले पनि यो चलचित्रबाट संभावना देखाएकी छिन् । सुरेन्द्र पौडेलले निर्देशन गरेको चलचित्रको ट्रेलर हिट भएपछि अब क्लब गीत सार्वजनिक गर्ने तयारी यसको निर्माण टोलीले गरेको छ ।

चलचित्रमा समावेश ‘यति यति पानी गंगै रानी’ बोल रहेको गीत डिसेम्बर ३१ तारिख अर्थात पुस १६ गते आइतबार रिलिज गरिनेछ । अंग्रेजी नयाँ बर्षको शुभकामना स्वरुप गीत सार्वजनिक गर्न लागिएको निर्माण टोलीले बताएको छ । यो गीतमा अनमोल केसी क्लबमा नाँचेका छन् । रेनशा वान्तवा राइले कोरियोग्राफी गरेको गीतलाई पुरुषोत्तम प्रधानले खिचेका हुन् । माघ २६ गतेबाट रिलिज हुने यो चलचित्रलाई सुवास गिरी र भूवन केसीले मिलेर बनाएका हुन भने चलचित्रका कार्यकारी निर्माता कमल गिरी हुन् ।
[youtube https://www.youtube.com/watch?v=ybg1GKcjvgU]