भो प्रेमदाई, देश बनाउने स्वाभिमानका मखमली सपनाहरु त्यागिदिनुस् भिडियो सहित !!

ज्वाला संग्रौला,
भर्खरै प्रेम बानियाँको फेशबुकमा एउटा आर्टिकल पढें। आफू बिदेशिनु परेपनि मुटुभरि देशप्रेम र स्वाभिमानका खहरेहरुसँगै बगेर चाँडै देश फर्किने र बिदेशमा श्रम र पसिनासँगै उमेर बेचिरहेका नौजवान युवाहरुलाई पनि आफ्नै देशमा फर्काएर केहि गरौँ भन्ने दृढ़ संकल्पसहितका मार्मिक शब्दहरु छरपस्ट बिछ्याएका रहेछन्। पढ्दै जाँदा निक्कै भावुक लाग्ने उनका प्रत्येक शब्दहरुले भित्रभित्रैआन्दोलित बनाईदियो। तुरन्तै आफ्नै देश फर्किएर आफूले बिदेशमा सिकेको सीप, आर्जन गरेको ज्ञान, बिदेशीहरुको समयप्रतिको महत्व , काममा मेहनत, अनुशासन, ईमानदारीता,एक अर्काप्रतिको शिष्टाचार र यहाँ देखेको बिकाशको चरमचुलीका ढिस्काहरुलाई आफ्नै देशमा लगेर बिसाउन पाए हुन्थ्यो भन्ने मेरो मनमा पनि नलागेको होइन। तर जब आफ्नो देशको स्थिति आँखामा ठोकिन्छ र त्यहाँका नेताहरुको खोक्रो राष्ट्रबादका मौसमी बिगुलहरु कानमा गुन्जायमान हुन्छन्, अनि केहि उदण्ड र गलगाँड नागरिकहरुका भड्किला स्वाभाव र भिडलाई उत्तेजित बनाएर राम्रो मान्छेलाई खेदो गरिरहेका भुत्ते गिरोहहरुको बजार देख्छु , तब एउटा देश बनाउने सानो सपनाको संसारमा तुषारापात हु्न्छ। मुलुकमाथी संकटका चाङ थुपार्ने तथाकथित नेताका अनुहार र तिनै बेईमानी नेताका अनुहारमा चाटिरहेका केहि दुईजिब्रे गोटीहरुले आज मुलुकमाथी खेलिरहेका छक्कापन्जाका बेइमानी खेलहरु फस्टाएका बेला अब कसरी देश फर्कने हो ?