प्रेम बानियाले फर्किन्छु भन्दा ज्वालाले किन रोकिन ? भिडियो सहित !!

अमेरिका : प्रेम बानियाको पोस्ट

शेयर गरेर सहयोग गरिदिनू है ।


हजारौं प्रिय साथीहरुले फेसबुक अनि अन्य सञ्जालमा पठाइरहनु भएका सयौं म्यासेजहरु (जसभित्र गहिरो माया र आत्मीयता हुनुपर्छ) पढ्न र प्रतिक्रिया दिइरहन भ्याएको छैन (सकेसम्म कोसिश गरिरहेछु) यसप्रति माफी माग्दै सबैलाई यसै स्टाटसबाट सम्बोधन गर्ने प्रयत्न गर्दैछु ।

हजारौं शुभचिन्तकहरु ‘लौन चाँडो नेपाल फर्किनुपर्यो’ भनिरहनु भएको छ । राजनीतिमा आएको नयाँ क्षितिजसँगै कतिपय राजनीतिकर्मीहरु, सरकारी सेवामा रहनुभएका व्यक्तित्वहरु, टेलिभिजन जगतका मेरा अनन्यहरु, सवभन्दा बढी त प्यारा दर्शकहरुले निरन्तर म्यासेजहरु गरिरहनु भएको छ र चाँडै नेपाल आउनुहोस् भनिरहनु भएको छ । एक शुभचिन्तक निलमनी भण्डारीले त ‘जनताको आँसुले पोल्ला, टुहुरो बनायौ’ जस्ता उच्चसमवेदनामा (म र मेरा प्रिय मित्र रबिजीका बारेमा) गीत गाएर यूट्यूबमा अपलोड गर्नुभएको भिडियोले नै मनमा पोलेको छ, छट्पटी त स्वभाविक नै छ ।

र, मैले यी सबैका प्रति केही न केही बोल्नैपर्छ जस्तो लागेर यो लेख्दैछु ।

देश र स्वाभिमानप्रतिको मेरो तपस्यामा एक इन्च पनि तलमाथि परेको छैन भलै, भन्नेहरुलाई बाटो छ । म झन् नजिक पुगेको छु र झन् बलियो बन्दैछु मेरो स्वाभिमानको उचाईतर्फ । मेरो मातृभूमिका निमित्त मैले जेजे आर्जन गरिरहेको छु, जेसुकै, कुनैपनि सर्तबिना देश र स्वाभिमानको हितमा मात्रै प्रयोग गर्नेछु । र, विदेसमा केही वर्ष पढ्न, सिक्न आएको ‘मान्छे’सँग यतिधेरै अपेक्षाहरु बर्सिरहँदा मेरो एउटा खास सपनामा साथ दिनका लागि सबैलाई अनुरोध गरिरहेको छु ।
सपना स्वदेशकै हो र स्वाभिमानकै हो । देश बनाउने सबैको साझा सपनाका लागि एक विशेष अभियानको । संसारभर छरिएर रहेका नेपालीबीच ‘स्वाभिमानी नेपालीका समूहहरु’ बनाउँदै क्रमश एक खास वातावरण निर्माण गरेर विदेशिएका धेरै नेपाली स्वदेश फर्किने अभियान । अनि स्वदेशमै श्रम र रोजगारीको वातावरण बनाउने विशेष अभियान । केही समय लाग्ला तर पवित्र उदेश्यका साथ देश र स्वाभिमानमा समर्पित यो अभियानमा विदेश र स्वदेशमा रहेका सबै नेपाली एक हुनुहुनेछ भन्ने आशा र भरोसा लिएको छु ।

बिदेशमा एक वर्ष र केही महिना बितेर गएको छ तर यसबीच स्वदेशमा धेरै प्रकारका परिवर्तनहरुको गाँज देखिरहेछु । हरेक क्षेत्रमा युवा पुस्ताको जबर्जस्त उपस्थिती प्रभावी बन्दैछ, यसले मलाई यतिधेरै आल्हादित बनाएको छ कि अब देश समृद्धिको बाटोमा अघि बढ्नुको कुनै विकल्प छैन भन्ने विश्वासको जग बसेको छ मनमा ! यसो हुँदैगर्दा मैले आफ्ना केही मिशनहरुलाई फरक गर्ने अभ्यास थालेको हुँ र जति समय बिदेशमा बस्छु स्वदेशकै लागि केही गर्ने कोशिसको प्रारम्भ गर्दैछु जसमा सबैको साथको आशा छ ।
संसारका कतिपय देशहरुमा हाम्रो टिम बनिसकेको छ र त्यसलाई हामीले ‘स्वाभिमानी समूह’ भनेका छौं, जस्तो कि स्वाभिमानी समूह (देश वा जिल्ला वा शहरको नाम) तपाईंहरु जोजो, जहाँजहाँ हुनुहुन्छ स्वतन्त्ररुपले स्वाभिमानी समूह बनाउँदै देश र स्वाभिमानका प्रति सकारात्मक कामहरु गर्दै जानुहोस् । तर, निर्मम् सत्यचाही यो कुनैपनि राजनीतिक दल, धर्म, जातजाति, वर्ग वा भेदहरुबाट माथि उठेर त्यस्तो पक्षपाती समूह बनोस् जसको ‘सवथोक’ देश र स्वाभिमान मात्र होस् । विदेश गएकाहरुसँग स्वाभिमान नै हुदैन भन्नेहरुलाई देशका प्रति सानाठूला काम गर्दै सकारात्मक जवाफ दिने मञ्च बनोस्, नेपालभित्र देश र स्वाभिमानका प्रति काम गर्ने युवाहरुको समूह बनोस् । यसरी संसारभर बन्ने हाम्रा समूहहरुले विदेशमा रहेका लाखौं नेपालीलाई स्वदेश फर्किने अभियानका लागि वातावरण बनाउँदै र मद्दत गर्दै जाओस् । तपाईले आफू रहनुभएको देश वा स्थानमा यस्तो समूह बनाउनु भएपछि सामान्य जानकारी आपसमा साटासाट गरिदिनु भयो भने आभार व्यक्त गर्दथें अन्यथा कसैलाई नभनीकन देश र स्वाभिमानका पक्षमा खुरुखुरु राम्रा कामहरु गर्दा पनि आनन्द बेग्लै हुन्छ । मलाई विश्वास छ, संसारभर छरिएर रहनुभएका नेपालीहरु स्वतन्त्ररुपले स्वाभिमानखातिरको यो पवित्र अभियानमा एकएक भएर जुट्दै जानुहुनेछ ।
र, यस अभियानबारेका जानकारीहरु क्रमश शेयर गर्दै जानेछौं ।

जय स्वाभिमान ।

जापान : ज्वाला संग्रौलाको पोस्ट 

प्रेम बानियाको लेख पढे पछी ज्वाला संग्रौलाले आफ्नो फेसबुकमा यस्तो लेखिन :

भर्खरै प्रेम बानियाँको फेशबुकमा एउटा आर्टिकल पढें। आफू बिदेशिनु परेपनि मुटुभरि देशप्रेम र स्वाभिमानका खहरेहरुसँगै बगेर चाँडै देश फर्किने र बिदेशमा श्रम र पसिनासँगै उमेर बेचिरहेका नौजवान युवाहरुलाई पनि आफ्नै देशमा फर्काएर केहि गरौँ भन्ने दृढ़ संकल्पसहितका मार्मिक शब्दहरु छरपस्ट बिछ्याएका रहेछन्।पढ्दै जाँदा निक्कै भावुक लाग्ने उनका प्रत्येक शब्दहरुले भित्रभित्रैआन्दोलित बनाईदियो। तुरन्तै आफ्नै देश फर्किएर आफूले बिदेशमा सिकेको सीप, आर्जन गरेको ज्ञान, बिदेशीहरुको समयप्रतिको महत्व , काममा मेहनत, अनुशासन, ईमानदारीता,एक अर्काप्रतिको शिष्टाचार र यहाँ देखेको बिकाशको चरमचुलीका ढिस्काहरुलाई आफ्नै देशमा लगेर बिसाउन पाए हुन्थ्यो भन्ने मेरो मनमा पनि नलागेको होइन। तर जब आफ्नो देशको स्थिति आँखामा ठोकिन्छ र त्यहाँका नेताहरुको खोक्रो राष्ट्रबादका मौसमी बिगुलहरु कानमा गुन्जायमान हुन्छन्, अनि केहि उदण्ड र गलगाँड नागरिकहरुका भड्किला स्वाभाव र भिडलाई उत्तेजित बनाएर राम्रो मान्छेलाई खेदो गरिरहेका भुत्ते गिरोहहरुको बजार देख्छु , तब एउटा देश बनाउने सानो सपनाको संसारमा तुषारापात हु्न्छ। मुलुकमाथी संकटका चाङ थुपार्ने तथाकथित नेताका अनुहार र तिनै बेईमानी नेताका अनुहारमा चाटिरहेका केहि दुईजिब्रे गोटीहरुले आज मुलुकमाथी खेलिरहेका छक्कापन्जाका बेइमानी खेलहरु फस्टाएका बेला अब कसरी देश फर्कने हो ?
बेथिति र दण्डहिनताले बिरामी बनाएर कोमामा हुत्याईएको कमजोर देशमा न्यायको लागि ईमानदारीतापूर्बक आफ्नो ड्युटीमा अहोरात्र खटिरहेका हरुका बिरुद्द एक डबका जाँड र एक प्लेट बंगुरको बोसोमा आफ्नो स्वाभिमान चढाईरहेका केहि कुच्चिएका अनुहारहरुका उदण्ड चरित्र देख्दा लाग्छ,प्रेमदाई तपाईँ किन जय स्वाभिमानको नारा बोकेर नेपाल फर्कने तयारी गर्दै हुनुहुन्छ?तपाईंका स्वाभिमानका रहरलाग्दा ईन्द्रेणी रङहरुमा लुटतन्त्रको बाक्लो तुवाँलो लाग्नेछ। तपाईं अमेरिकै बस्नुस्।दलाल र बिकाशबिरोधी लम्पट नेताहरुको दुर्गन्धित मानसिकता र दुषित फरमानको पछि दगुर्नु भन्दा आफ्नो मर्यादा बचाउनु उत्तम ठानेर अमेरिका होमिएका नारायण श्रेष्ठ किन नेपाल फर्किने? जब तपाईंको इमानदारिता र खरो पत्रकारिता माथीको धर्म र योगदानको कुनै मुल्यांकन भएन भने तपाँई पनि नेपाल नफर्कनुस्। अमेरिका तिरै बस्नुस्। रबी लामिछानेले पनि दुनियाँलाई उद्दार गरे, भ्रष्टचारीको पर्दाफ़ाश गरे, कतिको जीबन बर्बाद हुनबाट बचाए तर त्यसको बदला “अनागरिक”को ईनाम पाए। देश भ्रष्टाचार मै गाडियोस्, चेलीहरु बलात्कृत भैरहुन्। प्रहरी प्रशासनले नागरिक माथी ज़्यादती गरिरहोस्, बजारमा कुहिएका चामल बोरा का बोरा बिकीरहुन् , सरकारको तलब र राजस्व हसुरेर कर्मचारीहरु दिनदिनै बिदा बस्दै आफ्नो मनमर्ज़ी गरुन् । रबीले किन टाउको दुखाउनु पर्ने ?अब रबि अमेरिकै फर्केको जाती..!
राजनीतिमा धमाधम ठेकेदार , गुण्डा, मेडिकल माफिया, भू माफिया, हत्यारा,कुख्यात भ्रष्टाचारी, नामुद डन र काला तस्करहरुको पुनरागमन भएर दिपक मनाँगेले जित्ने अनि रबीन्द्र , बिश्वप्रकाशहरुले हार्ने देशमा अझै जनमतको कदर गरौँ भन्ने नारा सुन्दै मुर्खहरुको शासनको अण्डरमा आफूलाई खुम्च्याउन रबीन्द्र मिश्र र सूर्यराजहरुले किन अझै समृद्दि हेरेरै मर्ने सपनामा अल्झिरहने? नेपालमा सर्बसाधारणको हक़ हित र उद्दारमा लागेकाहरुको कुनै मुल्य नै छैन। यहाँ त बिभिन्न हिसाबले राज्यमा लुट मच्चाईरहेका तथाकथित नक्कली राष्ट्रबादी र जनयुद्दको नाम बेचेरै हिरो बन्न खोज्ने क्यान्टोनमेन्ट बाहिरका डुब्लिकेट खाओबादी बटालियन तथा छातीको दाहिनेपट्टि मुटु बोकेका मतिहिन जल्लादहरुकै चकचकी छ।नाकै पुरिने गरि माला र खादाले सिँगारिएका गणतन्त्रका बरिष्ठे राजाहरुका अगाडि आफूलाई लगाईदिएको खादा पनि नागरिकलाई नै फिर्ता दिने रबीन्द्रहरु तपाईँहरु यस्तो अनौठो हर्कत नगर्नुस् । भाषण गर्दा तपाईहरुलाई स्टेज नचाहिने, माला र खादा बहिस्कार गर्ने, आफूलाई नेता होईन जनताको सेवक हुँ भन्ने तपाईहरु नेता जस्तै देखिनु हुन्न। नेता हुनलाई त दुईचार हनुमान दाँयाबाँया हुनुपर्छ, प्रत्येक कलेजहरुमा आफ्ना राजनैतिक भातृ सँगठनहरु झाँगिनु पर्छ, जनतालाई ढाँटेर , धम्क्याएर या एक प्लेट सुकुटिमा उनीहरुको भविस्य किनेर आफ्नो पक्षमा पार्ने कला हुनुपर्छ, जुन तपाईहरुमा छैन। त्यसैले तपाईहरुको ईमानको राजनीति नेपालमा संभब नै छैन । तपाईंहरुलाई नपुग्दो के थियो र, बरु अब आफ्नै दुनियामा फर्कनुस्।
मेरा प्यारा देशबासी तथा बिदेसबासी युवा मित्रहरु,यो मन आजभोलि यस्तै यस्तै कुराहरुले तरंगित हुन्छ, मनमा हुरी चल्छ , बिद्रोह जन्मिन्छ। अनि सोच्छु, कस्ता कस्ता हरुले त नेपालको परिस्थितिबाट हार खाए, के मेरो देश बनाउने सपना अब पुरा हुन्छ त?हुन्न भने म किन नेपाल फर्किने?धनीमानी पूजिपति नेता हरुले खाएर बाँकी रहेको एक टुक्रा सुख्खा रोटी टोकेर बाँच्न बाध्य बनाईएका नागरिकहरुको बिरक्तलाग्दो दैनिकी हेर्न जाने? लुटेरा र गुण्डाराजहरुलाई मलजल गरेर इमानदारहरुलाई पछार्ने राजनैतिक परेडमा सिट्ठी फुक्न जाने? कि मालिकहरुको झोले भएर इमान जमान बेचेर गतिछाडा बन्दै पब्लिक लाई मिस्लिडिङ गरिरहेका अपराधी नाइकेहरुका कुरुप अनुहार हेर्न जाने? इमानदारिता कहाँ प्रयोग गर्ने? पढेको कुरा के मा लागु गर्ने? जुनसुकै ठाउँमा पनि नाताबाद, कृपाबाद र डनबाद नै हाबी छ, जागिर कसरी पाउने? बिहान आठ बज्नु अघि नै साना हातले दुईभारी घाँस काटेर तीन घण्टाको बाटो बिधालय धाएर प्राप्त गरेको शैक्षिक प्रमाणपत्र कुनै एउटा प्राईभेट स्कुलमा बन्धकी राखेर बिहानको ९ बजेदेखि साँझको ४ बजेसम्म घोटिंदा पनि आधा प्लेट मम किनेर खान ३ चोटी सोच्नुपरेको पीडा र बेथिति भोगेर आएकी म, अहिले त देश झन् लथालिंग भैसक्यो अब कसरी जाने? त्यसैले भो प्रेमदाई, तपाईंपनि देश बनाउने स्वाभिमानका मखमली सपनाहरु त्यागिदिनुस्। जुनदिन नारायण, प्रेम ,रबीन्द्र र रबीहरु जस्ताको इमानदारीताको कदर हुनेछ, त्यो दिन हामी पचास लाख युवाहरु सँगै देश फर्कौंला..! #जययुवा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.