चलचित्र ‘भैरे’ ‘कृ’को उचाई छुँदै अगाडि

काठमाण्डौं – नेपालय सिनेमा ईन्टरनेशनल प्रा.लि.को ब्यानरमा निर्माण हुन लागेको निर्देशक एभरेष्ट सूर्य बोहराको चलचित्र “भैरे”को मुस्ताङको जोमसोममा धमाधम छायांकन भइरहेको खबर प्राप्त भएको छ । भैरेको अधिकांश सुटिङ जोमसोममा गरिने र बाँकी पोखरा र अन्य ठाउँमा गरिने जानकारी उक्त चलचित्रका निर्देशक श्री एभरेष्ट सूर्य बोहराले दस्तावेज डट कमलाई दिनुभयो । नेपाली मौलिकताको बेजोड प्रस्तुति,नेपाली परिवेशको अत्यन्त मनछुने कथा,पटकथा,संगीत एवं बहुआयामिक शैलीमा करोडौं दर्शकको मन जित्ने उद्धेश्यले निर्माण हुन लागेको चलचित्र ‘भैरे’को कुल बजेट “एक करोड” रहेको छ ।

लाखौं नेपाली युवाको जीवन्त कथा बोकेको यस चलचित्र ‘भैरे’ यस वर्षकै सर्वाधिक हिट हुने निर्देशक बोहरा दावी गर्नुहुन्छ । किनकि चलचित्र ‘भैरे’ मा आजसम्मकै उत्कृष्ट कथावस्तु ,उच्च छायांकन प्रविधि साथै चलचित्रलाई शिखरमा पुर्याउन नेपाली चलचित्र क्षेत्रका सर्वाधिक लोकप्रिय कलाकारहरू ,लिइएको छ । विषयवस्तुको गहिराईसम्म पुग्नको लागि कथाले मागेको स्थान छनौट गरिएको छ । समग्रमा भन्नुपर्दा चलचित्र ‘भैरे’ ले हाल सर्वाधिक चर्चामा आएको चलचित्र ‘कृ’ भन्दा बढी उचाइ लिने लगभग निश्चितप्राय: छ ।

“एक उत्कृष्ट सिनेमाको सफलताको लागि उत्कृष्ट कथा,पटकथा,संवाद,दूरदर्शी निर्माता कुशल निर्देशक र पवित्र सोच भएको टिम हुनु जरुरी छ । मलाई लाग्छ हाम्रो टिम यी सबै कुराहरूले परिपूर्ण छ । हाम्रो टिमले चलचित्र “भैरे”लाई सर्वाधिक हिट बनाउन कुनै कसर बाँकी राख्ने छैन ,तसर्थ चलचित्र “भैरे” यस वर्षकै उत्कृष्ट र सफल चलचित्र बन्नेमा कुनै दुईमत छैन । साथै व्यवसायिक रूपमा चलचित्र भैरे’ले राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा निकै ठुलो बजार लिनेमा म ढुक्क छु । निर्माता प्रेम पौड्यालले दस्तावेज डट कमको एक कुराकानीमा बताउनुभयो ।

अनुभवी व्यवसायी निर्माता प्रेम पौड्यालको उत्साहजनक आगमन भएको यस चलचित्र व्यवसायिक रूपले पनि सबैभन्दा अगाडी बढ्ने दाबी गरिएको छ । चलचित्र ‘भैरे’ नेपाली सिने जगतमा अहिलेसम्मकै अत्यधिक चर्चा परिचर्चा एवं उत्कृष्ट कथा,पटकथा,उत्कृष्ट टेक्निसियन,कथा,पटकथा,संवाद,संगीत,एवं सुपरहिट गीतहरुद्दारा निर्माण हुन लागेको दमदार प्रस्तुति बोकेको चलचित्र हो । दूर दराजमा छरिएर रहेका तमाम गाउँले युवकहरुको कथा बोकेको चलचित्र ‘भैरे’ मा दया दयाहाङले ‘भैरे’को ज्वलन्त भूमिका निर्वाह गर्दैछन् भने सुरक्षा पन्तलाई उनको जोडीका रूपमा देख्न पाईनेछ ।

‘भैरे’मा दर्शकहरूले रुचाएका सर्वाधिक हिट कलाकारहरू जस्तै दयाहाङ राई लगायत दर्शकहरुको मन मुटुमा बसेका जल्दा बल्दा कलाकार बुद्धि तामाङ,सफल अभिनय गर्न माहिर सुरक्षा पन्त,वर्षा सिवाकोटी,अनुभव रेग्मी, चर्चित नायक बिक्रान्त बस्नेत,जयनन्द लामा लगायतका उत्कृष्ट कलाकारहरुका साथै नेपालका सुप्रसिद्ध छायाँकार पुरुषोत्तम प्रधानलाई लिइएको छ ।

यस चलचित्रमा सुनिल थापा (रातेकाईंला), चर्चित नायक बिक्रान्त बस्नेत, वर्षा शिवाकोटी, बुद्धि तामाङ (हैट) जयनन्द लामा, सबिता गुरुङ, जान्हवी बोहरा, कुमारी लामा लगायतका कलाकारहरू मुख्य भूमिकामा रहने छन् भने बाल कलाकारहरुमा अनुभव रेग्मी, कञ्चन ठकुरी,अंकित पौडेल लगायतको पनि अभिनय रहने छ । पुरुषोत्तम प्रधानको छायाङ्कन रहने चलचित्रमा कविराज गहतराजको नृत्य निर्देशन, वसन्त सापकोटा, अर्जुन पोख्रेल एवं चर्चित गायक एम बरालको सङ्गीत रहने छ । समग्रमा भन्नुपर्दा चलचित्र ‘भैरे’ आर्थिक,सामाजिक एवं मनोरन्जनको हिसाबले पनि निकै अगाडी बढ्नेछ ।

चलचित्र ‘भैरे’का निर्माता प्रेम प्रसाद पौडेल हुनुहुन्छ भने कार्यकारी निर्मातामा देवी माया अधिकारी रहनुभएको छ । निर्देशक एवं कलाकार एभरेष्ट सूर्य बोहराको लेखन तथा निर्देशन रहेको उक्त चलचित्रमा चर्चित गायक एम बराल, लेख बहादुर पुन : (डेनिम),देवीमायाँ अधिकारी र रघु पुरी सह-निर्माता रहनुभएको छ भने सूर्य थोकर र चन्द्र पन्तको द्दन्द निर्देशन रहनेछ । पटकथा तथा संवाद अभिमन्यु निरवी र दिनेश न्यौपानेको रहेको उक्त चलचित्रको छायाङ्कन अवधि ४० दिन तोकिएको छ । आगामी तिजमा धुम धडाकासाथ चलचित्र प्रदर्शनमा आउने जानकारी चलचित्र युनिटले दिएको छ ।