जनार्दन शर्मालाई चप्पलले हिर्काउने निर्मला भन्छिन्: सहिद र बेपत्ता परिवारबारे सोच्नु पर्दैन ?

दिया चन्द।

माओवादी केन्द्रका प्रभावशाली नेता जनार्दन शर्मामाथि आफ्नै गृहजिल्लामा चप्पल प्रहार भयो भन्दा धेरैले पत्याएनन् । इमान्दार मिडियाले पहिलोपटक ब्रेक गरेको उक्त समाचार ‘बिग मिडिया हाउस’ हरुले कभर नगरेपनि भाइरल बन्यो ।

साना लगानीका मिडियाहरु कयौंले इमान्दार मिडियालाई स्रोत राख्दै उक्त समाचार प्रकाशित गरे भने कसैले मात्र कपि-पेस्ट गरे । कसैले त यो ‘हावा’ समाचार हो सम्म पनि भन्न भ्याए ।

एउटा मिडियाको लागि त्यो भन्दा ठुलो दुखको क्षण अरु केहि पनि हुदैन, जब उसले प्रकाशन / प्रशारण गरेको समाचारलाई ‘झुटो’ र अफवाहको संज्ञा दिइन्छ । भनिन्छ ‘तितो सत्य हुन्छ ।’ सूचना दिने स्रोत गलत थिएन । अर्थात् समाचार गलत या माअाेवादी केन्द्रका केहि कार्यकर्ताहरूले भनेकाेजस्ताे ‘झुटाे’ पनि थिएन यसमा म ढुक्क थिए ।

उसो त जनार्दन शर्माले मलाई चिन्दैनन् होला, तर उनको इतिहास मलाई राम्रोसँग थाहा छ ।

अत्यन्तै छोटो तरिकाले भन्नुपर्दा रुकुम जिल्लाको खलंगा गा.वि.स. वडा नं. ३ सेरीगाँउका स्थानीय हुन शर्मा । २०२० सालमा घरकै जेठो सन्तानका रुपमा जन्मिएका शर्मालाई उमेरका हिसाबले मैले काका भन्न पनि सुहाउछ ।

दशबर्षे जनयुद्धले उनलाई जनार्दन शर्माबाट ‘प्रभाकर’ बनायो । तात्कालिक नेकपा (माओवादी)का केन्द्रीय सदस्य तथा जनसेनाका डेपुटी कमान्डर र त्यसपछिको एकीकृत नेकपा(माओवादी)का पोलिटव्यूरो सदस्य रहेका शर्मा नेपाल सरकारका शान्ति तथा पुननिर्माण मन्त्री, उर्जा मन्त्री र गृहमन्त्री समेत भइसकेका व्यक्ति हुन् ।

जनमुक्ति सेना नेपालका चारजना डेपुटी कमाण्डरमध्ये एक हुन जनार्दन शर्मा प्रभाकर । २०४८ सालमा जनमोर्चा नेपालको तर्फबाट सांसद उठेका जनार्दन संविधानसभामा रुकुमको सोही २ नं क्षेत्रबाट संविधान सभामा विजयी पनि भए।

राजनैतिक परिवारमा हुर्केका शर्मा २०३४ सालदेखि नै राजनीतिमा लागे, शर्माका बाबु स्कन्द शर्मा रुकुममा कम्युनिष्ट पार्टीलाई संस्थागत गर्नेमध्येका एक हुन्।

जनयुद्धको समयमा कहिले सेना, कहिले संगठन गर्दै केही समय सेती महाकालीको तत्कालिन ब्युरो इन्चार्ज समेत भएका जनार्दन प्लाटुनदेखि बटालियन कमिसार हुदै डिभिजन कमाण्डर बने । जब २०६२ सालमा जनसेनाको संख्या ७ वटा डिभिजनमा बढेपछि उनि डेपुटी कमाण्डर बने ।

जनार्दन शर्माको उच्च इतिहास सम्मानजनक छ । उनको बारेमा धेरै लेख्नुभन्दा पनि अब म उनिमाथि भएको चप्पल प्रहारको प्रसंगतिर जान चाहन्छु ।

कुरा गत कार्तिक ३० गतेको हो । रातिको करिब ८ बजेतिर हाेला अफिसमै थिए । एउटा परिचित नम्बरबाट फोन आयो । सूचना थियो रुकुमको बाफिकोटमा जनार्दन शर्मामाथि चप्पल प्रहार भएको ।

होइन होला की ? भन्ने पनि लाग्यो, मैले ४ पटकसम्म कन्फर्म गरे तर सूचना भरपर्दो स्रोतबाट आएको थियो । तत्काल जिल्ला प्रहरी कार्यालय रुकुमलाई फोन गरे । प्रहरीले घटनाको पुष्टी गरेन । सूचना दिने मान्छेलाई पुनः फोन गरे । चप्पल प्रहार गर्ने मान्छेसँग सम्पर्क गराईदिन आग्रह गरे । तर उनलाई भने प्रहरीले घटनालगत्तै नियन्त्रणमा लिएको भन्ने जानकारी आयो ।

समाचारबारे एकछिन् टिममा छलफल पनि भयाे । अन्त्यमा निर्णयमा पुगियो, अब समाचार ब्रेक गर्नुपर्छ । फटाफट समाचार तयार पारेर ब्यानर न्युजमा हालियो, शीर्षक थियो- ‘BREAKING : रुकुममा जनार्दन शर्मामाथि शहिद परिवार निर्मलाले गरिन चप्पल प्रहार’ त्यो समाचार आज पनि हामीसँग सुरक्षित छ, उक्त समाचार पढ्न यहाँ क्लिक (रातो अक्षरमा) गर्नुहोला ।

यो समाचार प्रकाशित भएलगत्तै कयौं अनलाइनहरुले जस्ताको त्यस्तै सारे पनि । केहिले इमान्दार मिडियाबाट साभार भनेर लेखे । कहिले रि-राइट पनि गरे ।

हेर्नुहोस यो समाचार प्रकाशित गर्ने केहि अनलाइनहरुका लिंक

यी युवतीले मन्त्री शर्मालाई मञ्चमै दिइन गाला रातो हुने गरेर चप्पलले दनक (नेपाल पाना)

जनार्दन शर्मामाथि शहिद परिवार निर्मलाले गरिन चप्पल प्रहार अखबार दैनिक

रुकुममा जनार्दन शर्मामाथि शहिद परिवार निर्मलाले गरिन चप्पल प्रहार (राम्रोपोस्ट)

रुकुममा यी युवतीले यसकारण प्रहार गरिन जनार्दन शर्मा माथि जुत्ता प्रहार (नेट पत्रिका)

जनार्दन शर्मालाई चप्पल हान्ने युवती को हुन, किन प्रहार गरिन चप्पल ? (हाम्रा कुरा)

जनार्दन शर्मामाथि शहिद परिवार निर्मलाले यसकारण गरिन् चप्पल प्रहार (न्युज नेपाल)

जनार्दन शर्मामाथि बम पछि महिलाद्वारा चप्पल प्रहार ll को हुन् चप्पल प्रहार गर्ने महिला ? (आइटिभी)

यी महिलाले मञ्चमै दिईन्, जनार्दन शर्मालाई तोरीको फुल देख्ने गरी चप्पलले दनक (कामना न्युज)

जनार्दन माथि रुकुममा आज फेरि जुत्ता प्रहार (लोकसत्ता)

रुकुमबाट आयो यस्तो खबर, नेता जनार्दन शर्मा माथि निर्मलाले गरिन् चप्पल प्रहार, कारण यस्तो छ (पुरा विवरण हेर्नुहोस्) (इलाइभ)

माओवादी नेता प्रभाकरलाई जनयुद्धका सहिद परिवार निर्मलाले किन हानिन् चप्पल ? यस्ता छन् कारण (सिम्पल अनलाइन)

यी अनलाईहरु त मात्र उदाहरण हुन् । गुगल क्यासमा यो समाचार प्रकाशित भएको अरु थुप्रै अनलाइन र ब्लगहरुका लिंक भेटिन्छन ।

अब कुरा आयो – के भन्छिन निर्मला खड्का ?

प्रहरीले निर्मलालाई कार्यक्रम स्थलबाटै गिरफ्तार गरेर लग्यो र हिरासतमा राख्यो । तर गिरफ्तार गरेकै छैन भनेर गैरजिम्मेवारीपन देखायो।

२९ गते नै नर्मला खड्कालार्इ सम्पर्क गर्न खाेजिए पनि उनलार्इ फाेन लागेन । २४ घण्टा नबित्दै उनलार्इ स्थानीय प्रहरीले रिहा गर्याे । गत मंगलबार मैले निर्मलासँग टेलिफोनमा कुरा गर्ने बातावरण बन्यो ।

केहि बेरको सामान्य कुराकानीपश्चात उनलाई मैले अनुमति माग्दै सोधे – माओवादी केन्द्रका नेता जनार्दन शर्मामाथि तपाईले चप्पल प्रहार गरेकै हाे त ?

निर्मलाले निर्धक्कका साथ् भनिन् – हो ।

गत ३० गते बिहीबार बाँफीकोटको नेटामा चुनावी सभा भैररहेको बेला मञ्चमै नजिकैबाट निर्मलाले शर्मामाथि चप्पल प्रहार गरेकी हुन् । स्यार्पु बहुमुखी क्याम्पस, बाँफिकोटमा कक्षा १२ मा अध्यनरत निर्मला जनयुद्धमा बलिदान गर्ने सहिदकी बहिनी रहेछिन ।

उनको परिवारबाट ७ जनाले जनयुद्धमा बलिदान गरेका छन् । परिवारमा उनकी आमाबाहेक अहिले पनि सबै सदस्यहरु नेपाल कम्युनिष्ट पार्टीका पुर्णकालिन कार्यकर्ता रहेछन । उनका बुबा चन्द्रबहादुर नेकपा रुकुमका सचिवालय सदस्यसमेत भएको उनले खुलाइन ।

निर्मला धेरै बोलिनन् तर सोधेजति सबै प्रश्नहरुको उत्तर फटाफट उत्तर दिइन ।

उनि भन्छिन- ‘शक्ति र पैसाको बलमा पटक–पटक सत्तामा पुगेका र अरबौ सम्पत्ति जम्मा गरेको आलोचना खेपिरहेका शर्मा माओवादी केन्द्रका नेता मात्र होइन नि ! गृहमन्त्री, उर्जा मन्त्री र शान्तिमन्त्री समेत बन्दा पनि उनले सत्तामा पुगेपछि सहिद परिवार, बेपत्ता परिवार, र कार्यकर्ताका बारेमा सोच्नु पर्दैन ?’

१६ वर्षीया निर्मलाले आफ्ना सहिद दाजुहरुको राहत रकम पनि परिवारले नपाएको दुखेसो इमान्दार मिडियासँग पोखिन ।शान्तिमन्त्री हुँदा जनार्दनले नै राहत रकम रोकिदिएको उनको बुझाई छ ।

‘अस्ती मात्र विद्यालय पढ्न गएको मेरो सानो १४ वर्षको भाइ पूर्णलाई विप्लव निकट नेकपाको विद्यार्थी संगठनमा बस्यो भनेर जनार्दनले पक्राउ गर्न लगाएर ३९ दिन हिसासतमा राखे ।’ उनले गम्भीर हुँदै आक्रोशित स्वरमा भनिन् – ‘बुवाको अवस्था पनि त्यस्तै छ, मलाई यस्तै कुराले रिस उठ्यो र उनलाई सार्वजनिक स्थानमा चप्पल हान्न पुगे ।’

उनले जनार्दन शर्मालाई चप्पल प्रहार गर्नुको अर्को कारण खोलिन– ‘म कार्यक्रम कस्तो रहेछ भनेर हेर्न गएकी थिएँ, जनार्दन बोल्दै थिए । अनि नजिकै गएर केही समय सुनेँ । उनले भाषणमा भनेका कुरा र साच्चै व्यवहारमा लागु हदै आएका कुराबीच त आकाश पातालको फरक छ नी । गफ मात्र दिएर हुन्छ ? मैले नजिकैबाट प्रहार गरेको चप्पलका कारण उनको ज्याकेटमा धुलोको छाप मात्र बस्यो । अनि हल्लाखल्ला मच्चियो । मलाई अरु क-कसले धकेलपकेल पनि गरे । त्यसपछि महिला प्रहरीहरूले समातेर लगे ।’

उनले हास्दै अर्को कुरा थपिन- ‘त्यहाँ प्रहरीले मलाई रातभरी म्यादी प्रहरीसंगै राख्यो ।’ ‘तर फाेनमा कुरा गरेकाे अाफ्नाे अडियाे भने न्युजमा नराखिदिनु है दिदी’- निर्मलाले अाग्रह गरिन ।

प्रहरीले घटना लुकाए पनि त्यहाँका स्थानीय भक्त बहादुर केसीले इमान्दार मिडियालाई घटनाबारे सबै विवरण सुनाए । निर्मलाको परिवार नेपाल कम्युनिष्ट पार्टीसँग आबद्ध भएका कारण हामीले नेकपाका रुकुम सेक्रेटरी चन्द्रबहादुर बुढालाई यस विषयमा सोधेका थियौं ।

सेक्रेटरी बुढा भन्छन– ‘त्यो घटना साँचो हो । निर्मला बहिनिलाई पक्राउ गरेको २४ घण्टानबित्दै प्रहरीले छोड्यो । किनभने लामो समयसम्म उनलाई प्रहरी नियन्त्रणमा राखिएपछि त चप्पल काण्डले झन् चर्चा पाउने र नेता मन्त्री जस्तो व्यक्तिको बेइज्जत हुने निश्चित भयो । त्यसैले उनीहरुले तत्काल रिहा गरे । नभए हाम्रा १९ जना नेता कार्यकर्ता अझै पनि प्रहरी हिरासतमा छन् ।’

यता जनार्दन शर्माको कार्यक्रम स्थलमै भएका रुकुमका पत्रकारहरुले समेत यो घटनालाई लुकाउन धेरै प्रयत्न गरे । सल्हा गरेर नै यो घटनालाई जति सक्यो सामान्यकरण गर्दै जाने र हैन भन्दै जाने भनिएको रैछ । केही पत्रकारहरुले त इमान्दार मिडियाको समाचार लिंकमै कमेन्ट गर्दै केही घण्टासम्म समाचार साचो हुदै हैन भन्दै जनार्दनले दिएको योजना कार्यन्वयन गर्ने कोशिस पनी गरे ।

अन्ततः जनार्दन शर्माको निकै बेईज्जेत हुने अबस्था आउनसक्छ भन्दै माओवादी र एमालेका स्थानीय नेताहरुले सल्लाह गरेर तल्काल निर्मलालाई रिहाई गरिएको माओवादी केन्द्रका स्थानीय कार्यकर्ताले नै बताउने गरेका छन् ।

स्मरण रहेस रुकुममा २०४६/४७ सालतिर तत्कालिन पञ्चेबाट रातारात कांग्रेस बनेका गोपालजीजंग शाहलाई स्थानीयहरुले जुत्ताको माला लगाएको र कालोमोसो दलेको घटनापछि जनस्तरबाट नेतामाथि कारवाही भएको यो पहिलो घटना हो । बस् , अाफुलार्इ नेपालका बिग मिडिया हाउस भन्नेहरूले यस्ता घटना लुकाएकाे अर्काे न्युज बन्ने दिन नअाअाेस कामना गर्न चाहान्छु ।

(इमान्दारमिडिया बाट जस्ताको तस्तै)