२५ वर्ष नपुग्दै श्रीमानको मायाबाट टाढा हुनुपर्दा अपूर्व पीडा हुन्छ, म के गरौं ?

मनोविद् तथा यौनविज्ञ करुणा कुँवरसँग जिज्ञासा र सुझाव

म २८ वर्षकी युवती हुँ । मेरो नाम नमूना हो । मेरो विवाह भएको तीन वर्ष भयो । श्रीमान् राम्रो पैसा कमाउनुहुन्छ । बाहिरबाट हेर्दा हाम्रो जीवन निकै खुसी देखिन्छ । तर, भित्र त्यस्तो छैन । बीचमा हाम्रो कहिल्यै मीठो अनुभूति महसुस गर्नेखालको यौन सम्पर्क हुन सकेन । सुरु सुरुमा मेरा श्रीमानले निकै माया गर्नुहुन्थ्यो । तर, आजभोलि प्रेममा कमी आइरहेको छ । आजभोलि त उहाँ मसँग खासै बोल्नुहुन्न । घर पनि ढीलो आउनुहुन्छ र विहानै निस्कनुहुन्छ । म सधैं एक्लो-एक्लो महसुस गर्छु । 

यसको कारण सायद यौन सम्पर्क हो भन्ने महसुस गर्छु । खासमा सुरुदेखि नै जव यौन सम्पर्कको समय आउँथ्यो, मलाई गाह्रो हुन्थ्यो । सकेसम्म यौन सम्पर्क गर्नु नपरे हुन्थ्यो भन्ने लाग्थ्यो । यो समस्या बढ्दै गयो । उहाँकै सल्लाहबाट मैले एकजना मनोबैज्ञानिकसँग सम्पर्क गरेको थिएँ । मनोवैज्ञानिकले मेरो पूरानो जीवनसँग यो समस्याको सम्बन्ध हुनसक्ने कुरा गर्नुभयो । तर, मैले आफूसँग भएको एउटा घटना ती मनोवैज्ञानिकसँग बताउन सकिनँ । आज तपाईंलाई सुनाउँदैछु ।

म हलक्क बढेकी युवती थिएँ । घरमा मलाई देख्नेवित्तिकै यो केटी के राम्री देखिएकी भन्ने गर्थे । त्योबेला सायद १५ वर्षकी थिएँ र एसएलसीको तयारी गर्दैथिएँ । मलाई एकजना नजिकको नातेदारले परीक्षाको तयारी गराउँदै हुनुहुन्थ्यो । उहाँ ४० वर्ष हाराहारीको हुनुहुन्थ्यो । उहाँले पढाउन सुरु गरेको केही दिनपछि नै शरीर सुम्सुम्याउने गर्न थाल्नुभयो । सुरुमा मैले उहाँको सुम्सुम्याइको अर्थ बुझिनँ । तर, जसै बुझ्न थालेँ, मलाई नराम्रो लाग्न थाल्यो । तर, उहाँको व्यवहार बढ्दै गयो । मैले विरोध गर्दा उहाँ मलाई डर र धम्की दिनुहुन्थ्यो । र, एक दिन जबरजस्ती गर्ने प्रयास पनि गर्नुभयो । म कोठा बाहिर निस्कन सफल भएँ ।

त्यो दिनदेखि उहाँले मलाई केही पनि गर्नुभएन र विस्तारै विस्तारै पर हुँदै जानुभयो । तर, जब-जब उहाँलाई देख्थेँ, मलाई बान्ता आउला जस्तो हुन्थ्यो । त्यसपछि मैले कुनै पनि पुरुषसँग प्रेम गर्न सकिनँ । त्यो घटनाको ७ वर्षपछि मेरो विवाह भयो । यो बीचमा केही युवाले प्रेम प्रस्ताव राखे पनि मैले उनीहरुलाई उल्टै गाली गरेँ । विवाहपछि एकै पटक हनिमुन मनाउँदा म यौन सम्पर्कका लागि अयोग्यजस्तै भैसकेँछु । आजभोलि मलाई मेरा श्रीमान् अन्त कतै जानुहुन्छ भन्ने महसुस हुन्छ । उहाँलाई केही भन्न सक्तिनँ कारण कमजोरी मेरै हो । तर, मन मान्दैन । २५ वर्ष नपुग्दै श्रीमानको मायाबाट  टाढा हुनुपर्दा अपूर्व पीडा हुन्छ । म के गरौं ?

मनोविद् तथा यौनविज्ञ करुणा कुँवर

समाधानः

तपाईले आफ्नो समस्या खुलारुपमा राख्नुभएको छ । यसका लागि धन्यवाद । सायद ३ वर्षको असफल विवाहको अनुभवले परिपक्व बनाएको छ । यो समस्या तपाईंले सुरुमै भेट्नुभएको मनोवैज्ञानिकसँग राख्नुभएको भए आज त्यो समस्या समाधान भैसक्थ्यो । ढिलो त भयो, बिग्रिसकेको छैन । तपाईले भोग्नुभएको कुरालाई ध्यान दिएर विचार गर्नुभयो र मेरा कुरालाई गम्भीरतापूर्वक लिनुभयो भने तपाईंको समस्या समाधान हुने विश्वास दिलाउन चाहन्छु ।

 

किशोर उमेर संवेदनशील उमेर हो । यसले धेरैलाई आकषिर्त गरिरहेको हुन्छ । तर, आफू कसैको आकर्षणको केन्द्र बनिरहेकी छु र यसको कारण मेरो यौवन हो भनेर बुझ्नुअघि नै कोही अचानक यसरी शारीरिक दुव्र्यवहारमा पर्‍यो भने अचानक मनमा पुरुषहरुप्रति नकारात्मक भावना उब्जन्छ । यो यति गहिरो गरी मनमा बस्छ, लामो समयसम्म समग्र पुरुषप्रति वितृष्णा उब्जन्छ । यस्तो समस्या तपाईंको मात्र होइन, लाखौं वालवालिकाले भोगेको समस्या हो ।

केही समयअघि मानसिक रोगसँग काम गरिरहेको एउटा अन्तर्राष्ट्रिय संस्थाले एकैसाथ २२ वटा देशमा भएका शारीरिक दुब्र्यवहार सम्बन्धी ठूलो सर्भेक्षण गरेको थियो । यो अध्ययनका अनुसार ५ जना युवतीहरुमध्ये १ जना र १२ जना युवाहरुमध्ये १ जना १८ वर्ष भन्दा पहिले यौन दुव्र्यवहारमा पर्ने गरेका छन् । यसरी यौन दुव्र्यवहारमा परेका केटाकेटीहरुलाई शारीरिक र मानसिक असर जस्तै चिन्ता, उदासिपना जस्ता असरहरु परेको देखिन्छ । कतिपयलाई आफ्नो पार्टनर सँग यौन सम्बन्ध राख्न गाह्ो हुन्छ, जुन तपाईले पनि व्यक्त गर्नुभएको छ । त्यसैले यस्तो समस्याको सामना गर्नेमा तपाई मात्र एक्लै हुनुहुन्न ।

अझ भन्नु पर्दा तपाईले आफ्नो समस्या पहिचान गर्नुभएको छ । यो राम्रो पक्ष हो । यस समस्याको समाधान पनि छ । तपाईले अनुभव गर्नु भएको समस्याको पहिचाननै सवैभन्दा महत्वपूर्ण हुन्छ । यसले गर्दा उपचार छिटो हुन्छ र पार्टनरसँगको यौन सम्बन्ध पनि छिटै विकास हुन्छ ।

तपाईको प्रयासले अझै काम गरिरहेको छैन भने तपाईको सम्बन्धलाई बिगार्नबाट बचाउनका लागि तपाईहरु दुवैले खुलेर एकअर्का सँग कुरा गर्नुपर्छ । साथै दम्पत्तिले परामर्श लिन पनि आवश्यक छ । लामो समयसम्म समस्यालाई राखी राख्दा ग्लानी, हीनताबोध, र दम्पत्तिबीचको बुझाइमा कमी आउन थाल्छ ।

तपाईको सन्र्दभमा भन्ने हो भने छिटो भन्दा छिटो मनोविदसँग भेटेर परामर्श लिनु उपयुक्त हुन्छ । किनभने समस्या पहिचान भैसक्यो, अब यो समस्यालाई कसरी समाधान गर्ने भन्ने कुरा बसेर सल्लाहमा अघि बढ्न सकिन्छ ।

यौनहिंसा भएको इतिहासमा एनोरगाज्मिया वा यौन सम्बन्धको क्रममा चरम सन्तुष्टिमा पुग्न नसक्ने हुन सक्दछ । सामाजिक साँस्कृतिक वा धार्मिक विश्वास जसमा महिलाले यौन ईच्छालाई प्रकट गर्न नहुने मान्यता छन् । जटिलता वा कठिनाइका बारेमा भनौं वा यौन सम्वन्धलाई फलिभूत बनाउने बारेमा विस्तृत छलफल तथा कुराकानी आवश्यक हुन्छ । भावनाको साटासाट गर्नुपर्ने हुन्छ । तर दुबैका भावनाहरु ब्यक्त नहुनासाथ समस्याहरु बढ्न थाल्छन् । त्यस्तोमा महिलाले एनोरगाज्मिया वा  एकअर्कावीच हुने सम्बन्धमा विभिन्न जटिलता देखिन थाल्छ । पार्टनरले कम कुराकानी गर्ने, झगडा भैरहने हुन्छ ।

पार्टनरसँग तपाईको मनमा भएको दुविधा अनि तपाईले भोग्नुभएको लामो समयदेखिको समस्याका बारेमा भन्नुहोस्, यदि उहाँ सही पार्टनर हुनुहुन्छ भने अवश्य पनि तपाईको कुरा बुझ्नु हुन्छ ।

तपाईको यौन चाहना नहुनुमा तपाईको या तपाईको पार्टनरको कुनै गल्ती छैन ।  तपाईले बुझ्नैपर्ने कुरा के छ भने हरेक व्यक्ति फरक हुन्छन् । हरेक व्यक्तिको राम्रो पक्ष हुन्छ, । हुनसक्छ, यदि तपाईले कुराकानी गर्ने गर्नुभयो भने श्रीमान्ले यस कुरालाई सकारात्मक रुपमा लिएर उपचारको लागि सहयोग हुन सक्छ ।

कतिपय महिलाहरुले आफूले सामना गरेको समस्याका बारेमा कुराकानी नगर्दा सम्बन्ध राम्रो हुनु भन्दा बिग्रने अवस्था झन् वढी हुन्छ । यदि कुराकानीपछि तपाईका श्रीमानले सहयोगी भावना देखाउनुभएन भने यस्तो सम्बन्धलाई कति समयसम्म राख्ने वा नराख्ने भन्नेबारेमा सोच्न सक्नुहुन्छ ।

श्रीमान्सँगको कुराकानी सकारात्मक रहेमा महिलालाई कसरी उत्तेजना हुन्छ, त्यस्तो विधिको चर्चा गर्न सकिन्छ । यस अन्र्तगत हस्थमैथुन पनि पर्दछ । हस्तमैथुन विधि अपनाउने क्रममा यौन आनन्दको महसूस हुन्छ भने त्यसलाई सफल मानिन्छ । आफूलाई यदि कुनै विधि ठीक लागेमा आफ्नो पार्टनरसँग भन्ने र त्यही विधि अनुसार पार्टनरलाई यौन सम्पर्क राख्न भन्न सकिन्छ ।

नमूना जी, तपाईको बारेमा भन्नुपर्दा तपाई र तपाईका श्रीमानवीच अझै सम्बन्ध जटिल नभई सकेको हुँदा माथि उल्लेखित उपायहरु पछ्याउनुहोला ।

अनलाइनखबरबाट