महिनाबारी शुरु नभएकी छोरीको यौनांग कसरी सफा गर्ने ? थाहा पाउँनुस !

डा:अचला वैद्य,
सरसफाइ सबैका लागि आवश्यक छ। हाम्रो वरपरको वातावरण, खानपानका साथै शारिरीक सरसफाइ पनि उत्तिकै महत्वपूर्ण छ। धेरैले नुहाउनुलाई मात्र सरसफाइ भन्छन्। तर, बाहिरी सफाइसँगै यौनांगको सफाइबारे धेरैले चासो राख्नैनन्। बालिकादेखि वृद्ध महिलासम्मले यौनांग सफाइ गर्ने तरिका र महत्वबारे बुझ्नु जरुरी हुन्छ। हामीले महिलाको यौनांगबारे कुरा गर्दै छौं। सरसफाइ छोरी जन्मेपछि नै सुरु हुन्छ। छोरी जन्मिएपछि नै आमाले कसरी सफाइ गर्ने भन्ने विषयमा थाहा पाउनुपर्छ।

हामीले पहिला नै बुझ्नुपर्ने कुरा के हो भने, योनी सधैं सुक्खा हुनुपर्छ। हाम्रो समाजमा अझै पनि बच्चा जन्मेपछि तोरीको तेलले पुछ्ने चलन छ। जुन गलत हो । तेलका कारण पनि संक्रमण हुन्छ। शिशु छोरीको योनी सफा गर्दा मनतातो पानीमा कपास भिजाएर पुछ्नुपर्छ, किनकि त्यो भाग निकै कोमल र नरम हुने भएकाले सकेसम्म कपास प्रयोग गर्नुपर्छ। त्यसपछि नरम मलमलको कपडाले मनतातो पानीले पुछेको चिसो भाग बिस्तारै पुछेर सुक्खा बनाइदिनुपर्छ।

बच्चाले आची गरेपछि दिसा मनतातो पानीले देब्रे हातले पुछ्नुपर्छ, अर्को महत्वपूर्ण कुरा आची पुछ्न प्रयोग गरिएको हात अगाडिको भाग सफा गर्न प्रयोग गर्नु हुँदैन। बच्चाको आची पुछ्दा वा आगाडिको भाग सफा गर्दा आमाले आफ्नो हात एकदम सफा गरी धुनुपर्छ। त्यसरी सफा गरिसकेपछि मलमलको सुक्खा कपडाले विस्तारै हल्का पुछेर ओभानो बनाइदिनुपर्छ ।

यो भर्खर जन्मेका छोरीको सफाइ गर्ने तरिका भयो। जब छोरी स्कुल जाने हुन्छन् तब पनि हामीले विशेषगरी सफाइ गर्नुपर्छ। उनीहरुलाई सफाइबारे बिस्तारै सिकाउनुपर्छ। तर, पूरै उनीहरुको भरमा छोड्नुहुन्न। जब उनीहरु आफैँ आची धुने हुन्छन् त्यो बेला उनीहरुलाई सफाइ कसरी गनुपर्छ भन्ने कुरा हामीले सिकाउनुपर्छ। त्यसबेला आमाले बच्चालाई विशेष रुपमा सिकाउनुपर्छ। उनीहरु स्कुलमा गएपछि पिसाव फेरेर वा दिसा गरेर धोएपछि पनि सुक्खा पेपरले पुछेर सफा राख्ने बानी सिकाउनुपर्छ।

सबै स्कुलमा ट्वाइलेट पेपर नहुन सक्छ। यस्तो अवस्थामा घरैबाट आमाले साना पेपरको टुक्र बनाएर प्रत्येक पल्ट ट्वाइलेट गएर पिसाव वा दिसा गरेर धोएपछि यो पेपरले पुछेर सुक्खा बनाएपछि मात्र भित्री कट्टु लगाऊ भनेर सम्झउनुपर्छ।उनीहरुले लगाएको कट्टु प्रत्येक दिन फेरिरहुनुपर्छ। भित्री लुगालाई राम्ररी धोएर घाममा सुकाएर मात्र प्रयोग गर्न दिनुपर्छ।हामीकहाँ ‘आफैं धोइहाल्छे नि सिकाएकै छु’ भन्ने आमाहरु धेरै हुन्छन्। तर, छोरीले राम्रोसँग यौनांग सफा नगर्दा उनीहरुमा संक्रमण भइसकेको हुन सक्छ।

म कहाँ कहिलेकाहीँ ‘छोरीले हरेक समय हात योनीमै लगिराख्छे डा’साप’ भन्दै आमाहरुले छोरी लिएर आउँछन्। त्यो समयमा मैले नानीहरुको योनी जाँच गर्दा राम्ररी सफा नगर्दा संक्रमण भएर चिलाउँदा हात त्यहाँ गइरहने बानी परेको बताउँछु।पिसाव फेरेपछि वा दिसा गरेर धोएपछि चिसैमा कट्टु लगाउँदा उनीहरुलाई संक्रमण हुन्छ। फंगल इन्फेक्सन हुन्छ, जसका कारण योनीमा दहीको छोकरा जस्तो सेतो वस्तु जम्मा भइरहेको हुन्छ। त्यसकारण आमाहरुले सफा गर्न त सिकाए तर सही तरिका सिकाएनन् भन्ने बुझिन्छ।

बच्चालाई लगाइदिने कट्टु पनि एकदम राम्रोसँग सुकेको हुनुपर्छ। अलिअलि सुकेकै छ, के हुन्छ र भन्दै चिसैमा लगाइलिने गल्ती कहिले गर्नु हुँदैन। बरु आइरन गरेर, हिटरमा सुकाएर तातो र सुक्खा बनाएर मात्र लगाइदिनुपर्छ।अनि नानीहरुलाई देब्रे हातले दिसा धुने र दाहिने हातले अगाडिको भाग धुने भनेर सिकाउनैपर्छ। किनकि यो तरिका सधैं काम लाग्छ। जीवनभर नै यही तरिकाले सफाइ गर्ने हो। स्वस्थखबरपत्रिकाबाट