मेरो बारेमा आएका हल्ला गलत हुन्,म अहिले पोखरामा पार्टी काममा छु:प्रकाश पत्नी सिर्जना

काठमाडौं–माओवादी अध्यक्ष प्रचण्डका पुत्र प्रकाश दाहालको असामयिक निधनपछि लाजिम्पाट फर्केकी प्रकाश पत्नी सिर्जना त्रिपाठी चुनावी काममा जुटेकी छन् । पार्टी अध्यक्ष एवं ससुरा प्रचण्डको सल्लाह अनुसार परिवारका अन्य सदस्यजस्तै प्रकाश पत्नी सिर्जनापनि पार्टी काममा जुटेकी हुन् ।

पार्टी कामका लागि लाजिम्पाट छाडेर सिर्जना पोखरा गएपछि उनलाई घरबाट बाहिर पठाइएको गलत समाचार बाहिर आएको थियो । उक्त समाचारपछि थप मर्माहत बनेकी प्रकाश पत्नी सिर्जनाले छोरा प्रसिद्धलाई ससुरा प्रचण्डसँगै छाडेर आफू चुनावी काममा पोखरा गएको बताएकी हुन् ।

प्रकाश पत्नी सिर्जनाले अध्यक्ष तथा ससुरा प्रचण्डको सल्लाह अनुसार चुनावका लागि पार्टीको काममा पोखरा गएको बताइन् । प्रचण्डका परिवारका अन्य सदस्यजस्तै सिर्जनापनि शुक्रवार पार्टी कामका लागि काठमाडौं बाहिर गएकी थिइन् ।

‘हामी सवै शोकको घडीमा छौँ । यति हुँदाहुँदै पनि अध्यक्षले चुनावसम्म परिवारका सवै सदस्य पार्टी काममा फर्कन आग्रह गर्नुभयो । त्यसै अनुसार उहाँ आफै चितवन जानुभयो । छोरी र ज्वाईँहरु पनि चुनावी काममा खट्नु भयो । हामी बुहारी पनि आ—आफ्नो क्षेत्रमा चुनावी कामा जुटन आयौँ’ प्रकाश पत्नी सिर्जनाले भनिन्, ‘हामी राजनीतिक परिवारका सदस्य हौँ । परिवारमा शोकमा परेका बेला पनि देश, जनता र पार्टीप्रति आफ्ना भूमिका पुरा गर्नुपर्ने हुन्छ । यसैका लागि म अध्यक्षसँगको सल्लाह अनुसार पोखरा आएकी हुँ । अरु बाहिर आएका सवै कुरा गलत हुन् । यस्तो शोकको घडीमा यस्ता गलत कुराको मिडियाबाजी नगर्न म सवै संचारकर्मीसँग आग्रह गर्दछु ।’

सिर्जनाले पारिवारिक समस्या भन्दा शोक ठूलो भएको भन्दै यस्तो बेला कसैले पनि पारिवारिक समस्या अगाडि सार्न नहुने बताइन् । सिर्जनाले भनिन््, ‘शोकबाट परिवार उठेपछि पारिवारिक समस्या हल हुन्छन् भन्ने मेरो विश्वास छ । यसका लागि अध्यक्ष प्रचण्ड, सासु सीता, दिदी रेणुसहित अन्य सदस्यले आआफ्नो भूमिका पुरा गर्नुहुन्छ भन्ने मलाई विश्वास छ ।’

विहिवार प्रचण्ड निवास लाजिम्पाटमा स्वर्गीय प्रकाशको स्मृतिमा श्रद्धान्जलीसभा गरेपछि प्रचण्डसहित परिवारका सवै सदस्य पार्टी काममा फर्केका छन् । शुक्रवार चितवन पुगेर प्रचण्डले केही चुनावी कार्यक्रममा भाग लिएका थिए ।

लाजिम्पाटमा अध्यक्षको सल्लाह अनुसार परिवारका सवै सदस्य चुनावी क्षेत्रमा खटिने योजना बनेपछि सिर्जना शुक्रवार पोखरा गएकी हुन् । सिर्जना पोखरा गएपनि उनका छोरा प्रसिद्ध भने प्रचण्डसँगै चितवनमा छन् ।

हृदयघातका कारण प्रकाश अचानक अस्पताल भर्ना भएको थाहा पाएपछि सिर्जना सवै भन्दा पहिला अस्पताल पुगेकी थिइन् । अस्पतालमा निधनको खवर पाएपछि उनी बेहोस नै भएकी थिइन् । पछि उनी त्यहाँबाट आर्यघाट पुगिन् र साँझ लाजिम्पाट गएकी थिइन् ।

प्रकाशको मंसिर ३ गते आकस्मिक हृदयघातका कारण असामयिक निधन भएको थियो । उक्त निधनले प्रचण्डको परिवार शोकमा डुवेको छ । यति हुँदाहुँदै पनि देश, जनता र पार्टीप्रतिको जिम्मेवारी लिदै परिवारका सदस्य आसन्न प्रतिनीधिसभा र प्रदेशसभाको चुनावी काममा खटेका छन् ।

सिर्जनासँग औपचारिक सम्बन्ध विच्छेद नगरी प्रकाशले अर्को विवाह गरेपछि सिर्जना पोखरा बस्दै आएकी थिइन् । उनको पार्टी संगठन कास्कीमै छ । स्थानीय तहको चुनावमा पनि उनले कास्कीमै गएर पार्टीको काम गरेकी थिइन् । उनी माओवादी केन्द्र कास्कीको जिल्लास्तरीय नेतृ पनि हुन् ।

प्रकाशको असामयिक निधनपछि सिर्जना निकै ठूलो शोकमा छिन् । प्रकाशले अर्को विवाह गरेपछि पनि सिर्जनाले प्रचण्ड परिवारलाई अप्ठ्यारो हुने केही काम गरेकी थिइनन् र केही दवाव पनि दिएकी थिइनन् । बरु, उपयुक्त समयमा न्याय पाउने उनको आशा थियो ।

उनले छोरा प्रसिद्धको बुबाको नाममा जन्मदर्ताको सानो माग राखेकी थिइन् । ढिलो चाडो न्याय पाउने सिर्जनाको विश्वास थियो । तर, पति प्रकाशको अचानक निधनले उनी शोकमा छिन् ।रातोपाटीबाट