मिठो र गहकिलो जवाफ दिएर ‘मिस वर्ल्ड’ बनिन् भारतकी मानुसी

‘आमा सबैभन्दा बढी सम्मानकी हकदार हुन्छिन् । पारिश्रमिकको जुन कुरा छ, यसलाई पैसामा तौलिन सकिन्न । यो प्रेम र सम्मानको कुरा हो ।’

भारतीय सुन्दरी मानुसी चिल्लरले ‘कुन व्यवसायमा सबैभन्दा बढी पारिश्रमिक हुनुपर्छ र किन ?’ भनेर निर्णायकले सोधेको प्रश्नमा माथिको जवाफ दिँदै ‘मिस वर्ल्ड–२०१७’ को उपाधि जितेकी छिन् ।

विश्वका १ सय १८ राष्ट्रका सुन्दरीहरु सहभागी यो स्पर्धामा चिकित्साशास्त्र अध्ययनरत २० वर्षीया भारतीय सुन्दरीले उपाधि जितेकी हुन् ।

उनी यो उपाधि जित्ने छैटौं भारतीय सुन्दरी हुन् । भारतको हरियाणा राज्यकी मानुसीका बुवा–आमा पनि चिकित्सक हुन् । उनले कार्डियो सर्जन बन्ने लक्ष्य राखेकी छिन् ।

यस वर्षको ‘मिस वर्ल्ड’ उपाधि जितेपछि उनलाई गत वर्षकी मिस वर्ल्ड प्योर्तो रिकोकी स्टेफिन डेल भालीले ताज पहिर्‍याएकी थिइन् । टप–५ भित्र प्रवेश गरेका इंग्ल्यान्ड, मेक्सिको, फ्रान्स र केन्याली सुन्दरीभन्दा उनले दिएको उत्तरलाई जजहरुले निकै रुचाएका थिए ।

उपाधिको दाबेदार मानिएकी मिस मेक्सिको फस्ट रनरअप र मिस इंग्ल्यान्ड सेकेन्ड रनरअप भए ।

मानुसी भारतीय शास्त्रीय संगीतकी पनि कुशल नृत्यांगना हुन् । उनी फुर्सदमा स्केच र पेन्टिङ बनाउने सोख राख्छिन् ।

उनले ‘मिस वर्ल्ड’ को एउटा थिम ‘ब्युटी विथ पर्पोज’ का लागि महिलाहरूले रजस्वलाको बेला अपनाउनुपर्ने सरसफाइबारे जनचेतनासम्बन्धी कामलाई आफ्नो ‘प्रोजेक्ट’ बनाएकी थिइन् ।

‘शक्ति’ नाम दिइएको सो प्रोजेक्टका क्रममा उनले २० गाउँका करिब पाँच हजार महिलामा चेतना फैलाएकी थिइन् । ‘मिस वर्ल्ड’ मा उनी यो स्पर्धाको विजेता समेत घोषित भइन् ।

मानुसी सन् २००० मा प्रियंका चोपडाले उपाधि जितेको १७ वर्षपछि भारतलाई उपाधि दिलाउन सफल भएकी हुन् ।

चीनको सान्यामा शनिबार सम्पन्न भएको यो स्पर्धा हेर्न उनको परिवार पनि पुगेको थियो ।

अहिलेसम्म ‘मिस वर्ल्ड’ जित्ने ६ भारतीय सुन्दरी :

१९६६– रिता फारिया

१९९४– ऐश्वर्या राय

१९९७– डायना हेडन

१९९९– युक्ता मुखी

२०००– प्रियंका चोपडा

२०१७– मानुसी चिल्लर

– एजेन्सी