प्रिन्स युवराज कार्कीको देउवालाई सन्देश : संघर्ष होइन अभिभावक बनौँ, गगन थापालाई खुलेर समर्थन गरौँ


काठमाडौँ । युवा व्यवसायी प्रिन्स युवराज कार्कीले नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवालाई समयको पदचाप बुझेर अभिभावकीय भूमिकामा उभिन आग्रह गरेका छन्।

सामाजिक सञ्जालमा स्टाटस लेख्दै कार्कीले देउवाले अब संघर्षको होइन, मार्गदर्शन र अभिभावकको भूमिका निर्वाह गर्नुपर्ने बताएका छन्। “पाउने पाइसक्नुभयो, गुमाउने गुमाइसक्नुभयो—अब भ्रममा बस्ने समय छैन,” भन्दै उनले देउवालाई यथार्थ स्वीकार गर्न सुझाव दिएका छन्।

उनले नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति गगन थापाको नेतृत्वमा गठन भइसकेको र निर्वाचन आयोगले त्यसलाई आधिकारिक मान्यता दिएको उल्लेख गर्दै देउवाले खुलेर थापालाई बधाई तथा शुभकामना दिनुपर्ने बताएका छन्। “केक काटेर होस् वा लड्डु खुवाएर होस्, गगन थापाको जीतमा रमाउन सक्नुपर्छ, किनकि उनी तपाईंका चेला हुन्,” कार्कीको भनाइ छ।

कार्कीले अब गुरु–चेला मिलेर देश र जनताका लागि बीपी पथ स्थापित गर्नुपर्ने आवश्यकता औँल्याएका छन्। विगतमा ‘प्रचण्ड पथ’मा लाग्दा देउवा, उनका परिवार तथा कांग्रेसका नेता–कार्यकर्ताले भोग्नुपरेका कठिनाइ स्मरण गर्दै अब त्यस्तो बाटोबाट फर्किनुपर्ने उनको तर्क छ।

उनले देउवा पक्षका केही व्यक्तिहरू अदालत जाने धम्की दिइरहेको चर्चा उल्लेख गर्दै, जो जान चाहन्छन् उनीहरूलाई जान दिन आग्रह गरे पनि देउवाले स्वयं अगुवाइ गरेर थप अपजस नबोक्न सुझाव दिएका छन्।

स्टाटसको अन्त्यमा कार्कीले ढिला नगरी बीपी पथमा फर्किनु नै एकमात्र विकल्प भएको उल्लेख गर्दै, त्यसो गर्न सके नेपाली जनताले फेरि नेपाली कांग्रेसलाई ठूलो जिम्मेवारी दिने विश्वास व्यक्त गरेका छन्। उनले चेतनाको आह्वान गर्दै #GaganThapa ह्यासट्यागसमेत प्रयोग गरेका छन्।