नेपाली कांग्रेसका युवा नेता महेन्द्र बस्नेतले पार्टीको विशेष महाधिवेशन नेपाली कांग्रेसको भविष्य तय गर्ने सुनौलो अवसर भएको उल्लेख गर्दै महाधिवेशन तत्काल सम्पन्न गरी जनमुखी नेतृत्व चयन गर्नु आजको परिस्थितिमा अपरिहार्य भएको बताएका छन्।

अमेरिकामा व्यवसाय गर्दै आउनुभएका नेता बस्नेतले सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै कुर्सी जोगाउने भ्रष्ट राजनीतिक संस्कारको अन्त्य गर्दै पार्टी जोगाएर देशको मुहार फेर्न सक्ने साहसी नेतृत्व आवश्यक रहेको स्पष्ट पारेका छन्। उहाँका अनुसार कांग्रेसको वर्तमान चुनौती समाधान गर्न जनताप्रति उत्तरदायी, दूरदर्शी र निडर नेतृत्व चयन गर्नु समयको माग हो।
नेता बस्नेतले पार्टीभित्र एकता, अनुशासन र सकारात्मक सोचलाई बलियो बनाउँदै अघि बढ्नुपर्नेमा जोड दिएका छन्। उहाँले विशेष महाधिवेशनले संगठनलाई नयाँ ऊर्जा दिने र कांग्रेसलाई पुनः जनताको भरोसाको केन्द्र बनाउने विश्वास व्यक्त गरेका छन्।
आगामी पुष २७ र २८ गते आयोजना हुने विशेष महाधिवेशन सफल बनाउन सबै महाधिवेशन प्रतिनिधि, नेता तथा कार्यकर्ताहरूलाई एकजुट भएर सक्रिय भूमिका निर्वाह गर्न उनले अनुरोध गरेका छन्।
उनले भनेका छन्, विशेष महाधिवेशन कांग्रेसको आन्तरिक सुधार मात्र नभई देशको लोकतान्त्रिक भविष्यसँग पनि जोडिएको ऐतिहासिक अवसर हो, जसलाई सफल बनाउनु सबै कांग्रेसजनको साझा जिम्मेवारी हो।