काठमाडौँ । नेपालमा वैकल्पिक शक्ति निर्माणका अभियन्ता एवं वरिष्ठ पत्रकार दिनेश सुवेदीले आफ्नो निवासमा सूचना तथा सञ्चार मन्त्री जगदीश खरेलसँग करिब डेढ घण्टा लामो छलफल गरेका छन्। छलफलमा नेपालको वर्तमान राजनीतिक संकट, त्यसको निकास तथा भावी राजनीतिक दिशा प्रमुख विषयका रूपमा उठाइएको थियो।
छलफलका क्रममा सुवेदीले निर्वाचनअघि नै जेन्जीका मार्ग पूरा गरी संविधान संशोधन गर्नुपर्ने, संविधानका विद्यमान त्रुटिहरू सच्याएर मात्र केही समय चुनाव सार्दै निर्वाचन प्रणालीको सुधारसहित प्रत्यक्ष निर्वाचन प्रणालीमा जानुपर्ने स्पष्ट धारणा राखेका थिए। साथै देशमा राजनीतिक स्थायित्व कायम गर्न, भ्रष्टाचार नियन्त्रणका लागि तत्काल प्रभावकारी कदमहरू चाल्नुपर्ने आवश्यकतामाथि पनि गम्भीर छलफल भएको बताइएको छ।

भेटवार्ताको क्रममा समसामयिक राजनीतिक विषयसँगै पारिवारिक विषयवस्तुमा समेत खुलेर कुराकानी भएको जनाइएको छ। मन्त्री खरेलले चासो र महत्व दिँदै स्वयं सम्पर्क गरी भेट्न आएकोमा सुवेदीले विशेष धन्यवाद व्यक्त गरेका छन्।

त्यस अवसरमा मन्त्री खरेलले सुवेदीबाट प्राप्त सुझाव र सल्लाहलाई अत्यन्तै देशभक्तिपूर्ण भन्दै प्रशंसा गरेका छन् र ती विषयमा आवश्यक प्रयत्न र पहल गर्ने प्रतिबद्धता व्यक्त गरेको सुवेदीले आफ्नो स्टाटसमार्फत जानकारी दिएका छन्।