काठमाडौं । स्वतन्त्र, निष्पक्ष तथा विश्वसनीय निर्वाचन सुनिश्चित गर्न नागरिक तहबाट संयुक्त पहल गर्ने उद्देश्यका साथ नेपाल मानव अधिकार संगठन (HURON) र अनौपचारिक क्षेत्र सेवा केन्द्र (INSEC) बीच समझदारीपत्र (MoU) आदान–प्रदान गरिएको छ।

समझदारीपत्रमा नेपाल मानव अधिकार संगठन (HURON) का अध्यक्ष इन्द्र प्रसाद अर्याल र इन्सेक (INSEC) का अध्यक्ष विजय राज गौतमले हस्ताक्षर गर्नुभएको हो। उक्त समझदारीअनुसार आगामी निर्वाचन प्रक्रियामा नागरिक सचेतना अभिवृद्धि, मानव अधिकारको संरक्षण, निर्वाचन अनुगमन तथा लोकतान्त्रिक मूल्य–मान्यताको प्रवर्द्धनमा दुवै संस्थाले सहकार्य गर्ने जनाइएको छ।
समारोहमा बोल्दै अध्यक्ष अर्यालले लोकतन्त्रको मजबुत आधार निष्पक्ष निर्वाचन भएको उल्लेख गर्दै नागरिक समाजको सक्रिय भूमिका अझ आवश्यक रहेको बताउनुभयो। उहाँले मानव अधिकारको रक्षा र न्यायिक मूल्यको संरक्षण बिना निर्वाचनको विश्वसनीयता सम्भव नहुने धारणा व्यक्त गर्नुभयो।
इन्सेक अध्यक्ष गौतमले निर्वाचन प्रक्रियामा पारदर्शिता र उत्तरदायित्व सुनिश्चित गर्न नागरिक अभियान प्रभावकारी हुने विश्वास व्यक्त गर्दै यस सहकार्यले लोकतान्त्रिक अभ्यासलाई थप सुदृढ बनाउने बताउनुभयो।
समझदारीपत्रले निर्वाचनसम्बन्धी मानव अधिकार उल्लंघनको अनुगमन, तथ्य संकलन, प्रतिवेदन तयार गर्ने तथा सरोकारवाला निकायसँग समन्वय गरी सुधारका पहलहरू अघि बढाउने लक्ष्य लिएको छ।