समाजसेवाको उज्यालो उदाहरण: डा. अबुल हुसेन अन्सारीद्वारा राष्ट्रिय गायिका रिता रेग्मी उपाध्यायको उपचारमा सहयोग


काठमाडौं — नेपाली संगीत क्षेत्रकी सम्मानित राष्ट्रिय गायिका, ‘माछी मार्न जाउँ न दाजै कालापानीमा’ जस्ता कालजयी गीतमार्फत आम नेपालीको मन जितेकी आदरणीय आमा रिता रेग्मी उपाध्याय क्यान्सर तथा किड्नी फेल जस्ता गम्भीर रोगसँग जुधिरहेकी बेला समाजसेवाको मानवीय उदाहरण प्रस्तुत भएको छ।

नेपाली कांग्रेसका नेता तथा सक्रिय समाजसेवी डा. अबुल हुसेन अन्सारीले गायिका उपाध्यायको उपचारका लागि रु. २५ हजार १० रुपैयाँ आर्थिक सहयोग प्रदान गर्नुभएको छ। पत्रकार भोजराज थापाले सामाजिक सञ्जालमार्फत उक्त सहयोगको जानकारी दिँदै डा. अन्सारीप्रति कृतज्ञता व्यक्त गर्नुभएको हो।

डा. अन्सारीको यो सहयोग केवल आर्थिक सहायता मात्र नभई, पीडामा परेकाप्रति देखाइएको गहिरो मानवीय संवेदना र जिम्मेवारीको प्रतीक भएको छ। राजनीतिक भूमिकासँगै सामाजिक उत्तरदायित्वलाई पनि उत्तिकै महत्व दिँदै आउनु भएका उहाँले कठिन घडीमा राष्ट्रिय कलाकारप्रति साथ दिनु प्रशंसनीय कदम हो।

देशको कला, संस्कृति र संगीतलाई जीवनभर योगदान दिएकी एक वरिष्ठ गायिकाको उपचारमा देखाइएको यो सहयोगले समाजमा सकारात्मक सन्देश प्रवाह गरेको छ। यस्ता मानवीय कार्यले अरूलाई पनि प्रेरणा दिने विश्वास लिइएको छ।

डा. अबुल हुसेन अन्सारीप्रति राष्ट्रिय गायिका रिता रेग्मी उपाध्यायको शीघ्र स्वास्थ्यलाभको कामनासहित हार्दिक धन्यवाद र सम्मान व्यक्त गरिएको छ।