नेपाली जनसम्पर्क समिति अमेरिका अन्तर्गतका ३३ वटा च्याप्टरमा आज सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन भएको छ। विभिन्न राज्य तथा क्षेत्रमा क्रियाशील च्याप्टरहरूमा नेतृत्व चयन भएसँगै संगठन थप सुदृढ र सक्रिय हुने विश्वास गरिएको छ।
निर्वाचित च्याप्टर सभापति तथा सम्पूर्ण कार्यसमिति सदस्यहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ। नयाँ नेतृत्वले आपसी एकता, सहकार्य र संगठनात्मक मजबूतीमार्फत नेपाली समुदायको हितमा प्रभावकारी भूमिका खेल्ने अपेक्षा गरिएको छ।
अमेरिकामा बसोबास गर्दै आउनुभएका युवा व्यवसायी तथा नेपाली कांग्रेसका नेता महेन्द्र बस्नेतले सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश व्यक्त गर्दै जनसम्पर्क समितिमा विभिन्न च्याप्टरहरूमा नयाँ नेतृत्व जन्मिनु संगठनका लागि सकारात्मक संकेत भएको बताएका छन्। उहाँले सबै निर्वाचित पदाधिकारीहरूलाई सफल कार्यकालको कामना गर्दै संगठनलाई अझ गतिशील बनाउने विश्वास व्यक्त गर्नुभएको छ।
नेपाली जनसम्पर्क समिति नेपाली कांग्रेसको विदेशस्थित भातृ संगठन हो। अमेरिकामा रहेका नेपाली कांग्रेस समर्थकहरूलाई संगठित गर्दै पार्टीको नीति, विचार र कार्यक्रमलाई प्रवासमा स्थापित गर्ने उद्देश्यका साथ समिति क्रियाशील रहँदै आएको छ।
३३ च्याप्टरमा सर्वसम्मत नेतृत्व चयन हुनुले संगठनभित्रको एकता र सहमतिलाई समेत बलियो सन्देश दिएको छ।