अमेरिकामा आर्किटेक्ट इन्जिनियर, सामाजिक अभियन्ता र सफल युवा व्यवसायीका रूपमा आफ्नो अलग पहिचान बनाएका नेपालीमूलका प्रितेश कार्कीको प्रेरणादायी यात्रा आज धेरै युवाका लागि आशाको कथा बनेको छ।
बिराटनगर, मोरङमा जन्मिएका प्रितेश कार्की हाल अमेरिकाको सान फ्रान्सिस्कोमा सफल उद्यमीका रूपमा स्थापित छन्। चार वटा डिपार्टमेन्टल स्टोर, एउटा ग्याँस स्टेशन, बैंक्वेट हल र रेस्टुरेन्टका मालिक बनेका उनी आजको स्थानमा सहजै पुगेका होइनन्। उनको जीवन यात्रा संघर्ष, साहस र अवसरलाई सही समयमा चिन्ने क्षमताको जीवन्त उदाहरण हो।
नेपालमै आर्किटेक्चर इन्जिनियरिङमा स्नातक अध्ययन पूरा गरेका प्रितेशले काठमाडौंमा शिक्षक तथा इन्जिनियरका रूपमा करियरको सुरुआत गरेका थिए। थप अध्ययन र व्यावसायिक ज्ञान हासिल गर्ने लक्ष्यसहित उनी एमबीए अध्ययनका लागि अमेरिका पुगे। विद्यार्थी जीवन सहज थिएन, तर कठोर मेहनत, अनुशासन र आत्मनिर्भरताले उनले छोटो समयमै अध्ययन पूरा गरे।
सन् २०१२ मा पहिलो डिपार्टमेन्टल स्टोर खरिद गर्दै व्यवसायिक यात्राको औपचारिक सुरुआत गरेका प्रितेशले क्रमशः चार वटा स्टोर विस्तार गरे। त्यसपछि ग्याँस स्टेशन र बैंक्वेट हलमा समेत लगानी गर्दै उनले नेपाली उद्यमशीलताको क्षमता अमेरिकामा मजबुत रूपमा प्रस्तुत गरे। हाल उनका व्यवसायमा ४० भन्दा बढी नेपाली कार्यरत छन्। नेपालीलाई रोजगारी दिनु उनको व्यवसायिक प्राथमिकतामध्ये एक हो।
व्यवसायसँगै सामाजिक सेवामा पनि उत्तिकै सक्रिय प्रितेश सन् २०२२ देखि Nepali Association of Northern California का अध्यक्षका रूपमा भाषा, संस्कृति र नेपाली पहिचान संरक्षणमा अग्रसर छन्। हालै उनी काउन्टीको Housing and Community Development Advisory Board (हाउजिङ तथा कम्युनिटी डेभलपमेन्ट एड्भाइजरी बोर्ड) का सदस्यका रूपमा नियुक्त भएसँगै समुदाय विकासमा उनको भूमिका थप सशक्त बनेको छ।
भविष्यमा रियल स्टेट क्षेत्रमा लगानी विस्तार गर्दै दीर्घकालीन रोजगारी सिर्जना र समुदाय विकासमा योगदान पुर्याउने लक्ष्यमा रहेका प्रितेश कार्कीको कथा नेपाली युवाका लागि प्रेरणाको स्रोत बनेको छ।
उनको सफलताले स्पष्ट सन्देश दिन्छ— शिक्षा, लगनशीलता, दृढ इच्छा शक्ति र अवसरको सही सदुपयोग गरे संसारको जुनसुकै कुनामा पनि सफलता सम्भव छ।