एकताको महाधिवेशनपछि मात्रै एनआरएनएमा वास्तविक एकता स्थापित हुन्छ : अध्यक्ष महेश श्रेष्ठ


गैरआवासीय नेपाली संघ (NRNA) आईसीसीका अध्यक्ष महेश कुमार श्रेष्ठले संघभित्र भएको १० बुँदे सहमति एकताको प्रारम्भ मात्र भएको स्पष्ट पार्नुभएको छ। उहाँका अनुसार, छिटोभन्दा छिटो एकताको महाधिवेशन आयोजना गरी नयाँ कार्य समितिलाई पदभार हस्तान्तरण गर्नु नै सहमतिको मुख्य मर्म हो।

सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्नुभएको स्टाटसमा अध्यक्ष श्रेष्ठले भन्नुभएको छ,“हामीले गरेको १० बुँदे सहमति भनेको छिटोभन्दा छिटो एकताको महाधिवेशन गर्ने भन्ने हो। एकताको महाधिवेशन गरेर नयाँ कार्य समितिलाई पदभार ग्रहण गराउने हो। त्यसका लागि प्रक्रिया अघि बढाएका छौं।”

उहाँले हालको अवस्थालाई एकताको सुरुवात मात्र भएको उल्लेख गर्दै, अझै पूर्ण निष्कर्षमा नपुगेको स्पष्ट गर्नुभयो।
“अहिले एकताको सुरुवात मात्रै भएको छ, निष्कर्षमा पुगेको छैन,” उहाँको भनाइ छ।

अध्यक्ष श्रेष्ठले एनआरएनएभित्र देखिएका विभाजन अन्त्य गर्दै दिगो र संस्थागत एकता निर्माण गर्नु नै आफ्नो मुख्य उद्देश्य रहेको बताउनुभयो।“हाम्रो उद्देश्य चाहिँ कसरी यो एकतालाई दिगो बनाउने भन्नेमा केन्द्रित छ,” उहाँले स्टाटसमा उल्लेख गर्नुभएको छ।

एनआरएनएभित्र लामो समयदेखि चल्दै आएको विवाद र समानान्तर संरचनाको अन्त्यका लागि यो १० बुँदे सहमति महत्वपूर्ण कदमको रूपमा हेरिएको छ। अब एकताको महाधिवेशन सफलतापूर्वक सम्पन्न हुन सकेमा संघले नयाँ नेतृत्व पाउने र संगठनात्मक स्थायित्वतर्फ अघि बढ्ने अपेक्षा गरिएको छ।