बहुप्रतिक्षित बलिउड हास्य–मनोरञ्जन फिल्म अन्दाज तेरा मेरा १ डिसेम्बर २०२५ देखि भारत, बेलायत र अमेरिकाका छानिएका हलहरूमा प्रदर्शनमा


स्कटनेपाल युके,
बहुप्रतिक्षित बलिउड हास्य–मनोरञ्जन फिल्म अन्दाज तेरा मेरा १ डिसेम्बर २०२५ देखि भारत, बेलायत र अमेरिकाका छानिएका हलहरूमा प्रदर्शनमा आएको छ, जसको विश्व प्रिमियर अल्डरसट (UK) स्थित कुमुद इन्टरटेन्मेन्ट फिल्म स्टुडियोमा भव्य रूपमा सम्पन्न भयो। कुमुद इन्टरटेन्मेन्टको प्रस्तुति तथा निर्माणमा बनेको यस चलचित्रलाई अभिनेता कुमुद पन्तले निर्देशन र सम्पादन गरेका छन् भने निर्माण अब्दुल जफर र कुमुद पन्तले संयुक्त रूपमा सम्हालेका छन्। फिल्ममा विश्वास नेपालको संगीत, मिलन अमात्य, एलिना चौहान र विश्वास नेपालको स्वर, जानकी पन्त जून र हिराछवि श्रीषाका गीत, अब्दुल जफरको लेखन, जितिराम राईको छायांकन तथा फाइट कोरियोग्राफी समावेश छ भने आकर्षक पोस्टर डिजाइन विष्णु खड्काले तयार पारेका छन्।

कुमुद पन्त, जानकी पन्त, पुष्पा पन्त, प्रशुना कडेल, अब्दुल जफर, परविन्दर नन्ध्रा, अतुल शर्म्मा, किशोर भट्ट, डिम्पल कुमार, जस्पाल सिंह, मनिष श्रेष्ठ, अनुषा विश्वकर्मा, ऋषी धोकोया, अविनाशी शर्मा, भरत मिस्त्री, रमेश वेथनायकम, हर्का गुरुङ लगायतका कलाकारहरूले फिल्मलाई सशक्त अभिनयले भरपुर बनाएका छन्।

अन्दाज तेरा मेरा को कथा दुई साथी अमर र प्रेम वरिपरि घूम्छ, जसको एउटै सपना सुन्दर र धनी केटीसँग विवाह गर्ने हो। एक दिन उनीहरूलाई थाहा पर्छ कि लण्डनबाट अत्यन्त सुन्दर र धनी व्यवसायी युवती भारत आउँदै छिन्, र त्यसपछि उसको मन जित्ने दौड सुरु हुन्छ। फिल्ममा उनीहरू कसरी युवतीलाई प्रभावित गर्न खोज्छन्, कसरी हास्यास्पद परिस्थितिमा फस्छन् र अन्ततः को उसकाे मन जित्छ भन्ने रमाइलो प्रसंगहरू प्रस्तुत छन्। अल्डरसटमा सम्पन्न प्रिमियरमा दर्शकहरूले फिल्मको कथावस्तु, कमेडी, अभिनय र प्रस्तुतीकरणको अत्यधिक प्रशंसा गरेका छन्, जसले यस चलचित्रलाई सफल मनोरञ्जनात्मक निर्माणको रूपमा हेरिएको संकेत दिएको छ।