लन्डन ।समुदायिक एकता र सहयोगको भावनालाई सुदृढ पार्दै ब्रिटिश गोर्खा नेपाली नागरिकता निरन्तरता (CNCBG) ले आइतबार अल्डरसटस्थित एम्पायर हलमा आयोजना गरेको “ग्राण्ड च्यारिटी डिनर नाइट” भव्य रूपमा सम्पन्न भएको छ।

सिएनसिबिजीका अध्यक्ष थर्क रानाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन महासचिव भक्त रानाले गरेका थिए । कार्यक्रममा उपाध्यक्ष दल वुडाथोकीलेअतिथिहरूलाई स्वागत गरे भने संयोजक टाम ढेंगाले कार्यक्रमको उद्देश्य र तयारीका बारेमा विस्तृत जानकारी प्रस्तुत गरे।

त्यस अवसरमा दृघ गुरुङले गोर्खा र नागरिकता निरन्तरतासम्बन्धी विषयमा मन्तव्य राख्दै बेलायतमा रहेका गोर्खा समुदायबीच एकता र अधिकारका विषयमा निरन्तर आवाज उठाउनुपर्नेमा जोड दिए।

कार्यक्रमका प्रमुख अतिथि लन्डनस्थित नेपाली दूतावासका द्वितीय सचिव सन्जोक राईले दूतावासको तर्फबाट आयोजक संस्थालाई धन्यवाद ज्ञापन गरे । उनले भने, “गोर्खा समुदायको सामाजिक योगदान र नागरिकताको निरन्तरताका लागि भइरहेको अभियान प्रशंसनीय छ। दूतावास सधैं समुदायका यस्ता सकारात्मक प्रयत्नहरूमा साथ दिन तत्पर छ।”

कार्यक्रमलाई गायिका तथा कामना ओली,मोडल अश्मिता पुरी र दिपक मैथाने मगर क्या वीरबहादुर थापालगायतले प्रस्तुत गरेका गीत, नृत्य र मनोरञ्जनात्मक प्रस्तुतीहरूले झनै रंगीन बनाएका थिए।
कार्यक्रममा विभिन्न संघ–संस्था, समुदायका अग्रज र स्थानीय प्रतिनिधिहरूको उत्साहजनक उपस्थिति रहेको थियो। अन्त्यमा अध्यक्ष थर्क रानाले उपस्थित अतिथि, सहयोगी तथा कलाकारहरूलाई धन्यवाद ज्ञापन गर्दै यस्तो च्यारिटी कार्यक्रमले समुदायबीच आपसी एकता र सहयोगको संस्कार बलियो बनाउने विश्वास व्यक्त गरे।