अमृता लुङ्गेली मगरको मौलिक देऊसी भैलो सार्वजनिक


काठमाडौं – हिन्दु धर्मावलम्बीहरूको दोस्रो ठूलो चाड तिहार नजिकिँदै गर्दा बजारमा देउसी भैलो गीतहरूको चहलपहल बढेको छ। दशैंपछि नै तिहार विशेष गीतहरू सार्वजनिक हुने क्रम चलिरहेकै बेला अमेरिका बसोबास गर्दै आएकी गायिका अमृता लुङ्गेली मगरले नयाँ तिहार विशेष गीत मौलिक देऊसी भैलो फुलमाला भाग ६ भखर्रै सार्वजनिक गरेकि छिन् ।

फूल, बत्ती र रंगहरूको चाड भनेर चिनिने तिहारको रौनक देउसी भैलो खेलाइले झनै बढाउँछ। गाउँघरमा रोपिएका सयपत्री, मखमली जस्ता फूलहरू ढकमक्क फुलेका छन्। गाउँको हरेक घर आँगन अहिले फूलको बगैँचाजस्तै देखिन्छ। यस्तै मौलिक परिवेश र चाडको भावनालाई समेट्ने प्रयास यो गीतमार्फत गरिएको छ।

अमृता लुङ्गेली मगरको यो गीतमा कोमल वली, राजु परियार, बिमल राज क्षेत्री, टिका पुन, सरोज विरही कार्की र स्वयं अमृता मगरको आवाज समावेश गरिएको छ। गीतको शब्द, संगीत र एरेञ्ज पनि सरोज विरही कार्कीकै रहेको छ।

डायनामिक स्टुडियोमा रेकर्ड गरिएको गीतको मिक्सिङ र मास्टरिङ बिमल छिनालले गरेका हुन् भने रेकर्डिङस् लक्ष्मण सेन्चुरी हुन्।

गीतको भिडियो निर्देशन उदिराम खड्काले गरेका छन्। भिडियोमा चर्चित कार्यक्रम ‘इन्द्रेणी’ का सञ्चालक कृष्ण कँडेल र प्रतिमा कँडेलले घरबेटीको भूमिकामा अभिनय गरेका छन्। साथै, उषा सुवेदी र सुरेश कोहलीको आकर्षक अभिनय पनि समावेश छ। भिडियोमा गायिका जमुना राना र मन्जु गौतमको पनि अभिनय देख्न सकिन्छ भने गीतको भिडियो छायांकन केशव विश्वकर्मा र सम्पादन कल्पेश विश्वकर्माले गरेका हुन्। नृत्य प्रस्तुति सत्यवती कला केन्द्रको रहेको छ।

गीत सार्वजनिक गर्दै गायिका अमृता लुङ्गेली मगर ले सामाजिक सञ्जालमा लेखेकी छन्:

“नमस्कार सबैजनालाई! २०८२ सालको तिहार गीत ‘देउसी भैलो’ हजुरहरू माझ ल्याएको जानकारी गराउन चाहन्छु। सधैंझैं यस वर्ष पनि तिहार गीत लिएर आएकी छु। म लगभग १० वर्षदेखि तिहारको गीत निरन्तर ल्याउँदै आएकी छु भन्ने कुरा तपाईंहरूलाई थाहा नै होला। आशा छ, तपाईंहरूले यो वर्ष पनि माया गरिदिनुहुनेछ। अमेरिका बसाइबीच पनि गीत–संगीतलाई निरन्तरता दिने कोशिस गर्दै आएकी छु।
यस गीतमा मेरो लिपसिङ भूमिकामा साथ दिनुहुने जमुना राना र मन्जु गौतमलाई पनि धेरै धन्यवाद दिन चाहन्छु। कृपया एक एक सेयर गरेर माया गरिदिनु होला। धन्यवाद 🙏🏽💐”

मौलिक देउसी भैलोको स्वाद, सांस्कृतिक जरा र आधुनिक प्रस्तुतिको समायोजन रहेको यो गीतले छोटो समयमै दर्शक–श्रोताको ध्यान तानेको छ। युट्युबमा अपलोड भएको भिडियो प्रति दर्शकहरूले “सांस्कृतिक सौन्दर्य र मौलिक देउसी भैलो” को रूपमा सकारात्मक प्रतिक्रिया जनाएका छन्।

भिडियो हेर्नुहोस्: