एनआरएनए यूके पूर्व उपाध्यक्ष मोहन कार्कीको असामयिक निधनले स्कटल्याण्ड र बेलायतको नेपाली समुदायलाई गहिरो शोकमा डुबायो !!


स्कटनेपाल युके,
एनआरएनए यूके पूर्व उपाध्यक्ष मोहन कार्कीको असामयिक निधनले स्कटल्याण्ड र बेलायतको नेपाली समुदायलाई गहिरो शोकमा डुबाएको छ। उनको निधनको खबर सोमबार बिहान करिब पौने सात बजे स्कटल्याण्डको फलक्रिकस्थित आफ्नै निवासमा भएको रहेछ। यो दुःखद समाचार सामाजिक संजालमार्फत प्रसारित भएपछि उनप्रति समाजले देखाएको अपार स्नेह र समर्थनले उनले समाजका लागि गरेका महत्त्वपूर्ण योगदानलाई प्रतिबिम्बित गर्दछ।

५२ वर्षीय कार्की केही महिनाअघि मात्रै कलेजो (लिभर) को क्यान्सरले ग्रस्त भएर उपचार गराइरहेका थिए। उनको निधनपछि प्यारामेडिक टोलीले उनको शव जाँच गरेको र अन्त्येष्टीको तयारी सुरु भएको जानकारी सम्बन्धित व्यक्तिहरूले सार्वजनिक गरेका छन्।

स्वर्गीय कार्कीका पत्नी र एक सात वर्षीया छोरी छन्। उनको घर नेपालको राजधानी काठमाडौंको कालिमाटीमा रहेको छ। उनी लामो समयदेखि स्कटल्याण्डमा बस्दै आएका थिए भने उनले रेष्टुरेन्ट, प्रपर्टी जस्ता व्यवसायहरू पनि सफलतापूर्वक संचालन गर्दै आएका थिए।

कार्कीले नेपाली समुदायका लागि विशेष गरी बेलायत र स्कटल्याण्डमा उल्लेखनीय योगदान दिएका थिए। उनी एनआरएनए यूकेका दुई कार्यकालसम्म उपाध्यक्ष रहेका थिए भने स्कटल्याण्ड राज्य परिषदको संस्थापक तदर्थ समितिका संयोजक पनि थिए। यसका साथै उनी स्थानीय फोर्थ भ्याली कम्युनिटीमा अध्यक्षको भूमिका निर्वाह गरेका थिए।

उनको निधनले नेपाली समुदायमा एक ठूलो शून्यता छाडेको छ। उनले आफ्नो जीवनकालमा समाजका लागि गरेका अमूल्य योगदान र सेवाहरू सधैं सम्झनामा रहनेछन्। उनको स्मृतिलाई सम्मान गर्दै उनका परिवारजनप्रति समवेदना व्यक्त गर्दछौं।