सत्मार्ग फाउन्डेसनले गर्यो एआईजी मिरा चौधरीलाई ‘रोल मोडल’ उपाधिले सम्मानित !

काठमाण्डौ – प्रहरी नायव महानिरीक्षक (डिआईजी) बाट प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा पदोन्नति भएकी मिरा चौधरीलाई सत्मार्ग फाउन्डेसनले सम्मान गरेको छ ।

सत्मार्ग फाउन्डेसनले मधेस प्रदेशमा जन्मिएर नेपाल प्रहरीको प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पुग्नु मधेस प्रदेश तथा सिंगो देशकै लागि गर्वको विषय भएको भन्दै सम्मान गरिएको फाउन्डेसनका अध्यक्ष तबरेज आलमले स्कट नेपाललाई जानकारी दिए ।

बुधबार फाउन्डेसनका अध्यक्ष सहितको टिमले प्रहरी मुख्यालय नक्सालमा पुगेर एआईजी चौधरीलाई सम्मान गरेको हो । ‘मधेस प्रदेशमा घरभित्रै सिमित बन्न बाध्य नारीहरूको प्रेरणास्रोत बन्न सफल एआईजी मिरा चौधरीलाई रोल मोडल मानेर मधेस प्रदेशका महिलाले आफूलाई चुलो-चौको बाट बाहिर निकाल्न सकुन भनेर हामीले सम्मान गरेका हौं ।’ फाउन्डेसनका अध्यक्ष आलमले भने ।

यसअघि ट्राफिक प्रहरीको प्रमुख हुँदा काठमाण्डौ महानगरपालिकाको ट्राफिक व्यवस्थापन गर्न मुख्य भूमिका निर्वाह गरेको भन्दै चौधरीको उक्त कार्यको अहिले पनि प्रशंसा हुने गरेको छ । उनकै अगुवाईमा काठमाण्डौको सडकलाई पार्किङ स्थल बनाउने परम्परा तोडिएको थियो ।

काठमाण्डौको तिनकुनेमा मुख्य कार्यलय रहेको सत्मार्ग फाउन्डेसन विशेषगरि मधेस प्रदेशमा शिक्षा र स्वास्थ क्षेत्रमा काम गर्दै आएको सामाजिक संस्था हो ।