प्रेमिका भेट्न हुम्ला पुगेका रूकुम पूर्वका संसार फर्किएनन्, चार महिनापछि भेटियो शव

चार महिनाअघि मंसिर ६ गते रूकुमको पुथाउत्तरगंगा गाउँपालिका–६ मयाङका २२ वर्षीय संसार घर्ती मगर आफ्नो प्रेमिकालाई भेट्न भनेर हिँडे। उनकी प्रेमिका हुम्लाको चंखेली गाउँपालिकामा जागिर गरिरहेकी थिइन्।

६ गते हिँडेका संसार सुर्खेत हुँदै ८ गते चंखेली पुगे। चंखेली पुगेपछि बेलुका साढे ४ बजेतिर आफ्ना साथीलाई फोन गरेका उनी त्यसपछि बेपत्ता भए। संसारले त्यो दिन आफ्ना सहकर्मी महेश खड्कालाई आत्तिएर फोन गरेका थिए।

‘दाइ मलाई केटाहरूले लखेटिरहेका छन्, मलाई मार्न लागिसके भनेर फोन गरे,’ उनका सहकर्मी महेशले सेतोपाटीसँग भने, ‘उसले प्रहरीलाई खबर गरिदिनुपर्‍यो भन्दै थिए, तत्कालै त्यहाँको प्रहरीलाई खबर गर्ने उपाय पनि आएन, त्यसपछि उनको फोन अफ भयो र मान्छे पनि बेपत्ता भए।’

खड्काका अनुसार फोनमा उनले आफूलाई युवाहरूले सडकबाट तल खसालेका छन् भनेर पनि भनेका थिए।

संसारले महेशलाई दाइ भनेर सम्बोधन गर्ने गरेका थिए।

‘मलाई रोडबाट फालेका छन्, म भाग्न खोजिरहेको छु भन्दै थिए। त्यो नै अन्तिम भयो, त्यसपछि फोन लागेन,’ महेशले भने।

मंसिर ८ गते अपराह्नदेखि बेपत्ता भएका संसारको शव चैत १२ गते चंखेली गाउँपालिका–६ स्थित कर्णाली नदीमा फेला परेको छ। माछा मार्न गएका मानिसले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

हुम्लाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक भिमलाल भट्टराईका अनुसार शव गलिसकेको अवस्थामा फेला परेको थियो। रूकुम पूर्वबाट मृतकका आफन्त घटनास्थल पुगेर शवको यकिन पहिचान गरेको उनले बताए।

‘चार महिनासम्म कर्णालीको पानी त अझ चिसो भएर यतिको रहेको हो, तातो हुन्थ्यो भने अहिलेसम्म कंकाल मात्र हुन्थ्यो होला,’ डिएसपी भट्टराईले भने, ‘हामीसँग पनि यस्तो मान्छे हराएको भन्ने हुलिया थियो, घरको मान्छे आएपछि शरीरमा भएका चिजवस्तुका आधारमा स्पष्ट रूपमा पहिचान भयो।’

आफूहरूले संसार घर्तीले लगाएका माला, घडीलगायतका वस्तुबाट शवको पहिचान गरेको महेशले बताए।

मृतकका आफन्तहरू मंगलबार राति घटनास्थल पुगेका थिए।

मृतकका आमा, उनका साथी महेश लगायतका आफन्त हुम्ला पुगेका छन्। शव पोष्टमर्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ। आफन्तहरू पनि घटनास्थलबाट त्यहीँ गएका छन्।

डिएसपी भट्टराईका अनुसार मान्छे बेपत्ता पारेको भनेर पहिले आएको उजुरीका आधारमा चार जनालाई पक्राउ गरेर अनुसन्धान भइरहेको थियो। शव भेटिएपछि अनुसन्धानमा थप सहयोग पुग्ने उनले बताए।

पक्राउ पर्नेमध्ये एक जना संसार घर्तीकी प्रेमिका भनिएकी दाङकी २० वर्षीया राधा थापा छिन्। अरू तीन जना स्थानीय युवा रहेको प्रहरीले जनाएको छ।

विगत दुई वर्षयता दाङकी राधा रूकुम पूर्वमा बस्थिन्। उनी आफूहरूको संसार र महेशसँगको साझेदारीमा स्थापना गरेको कम्प्युटर इन्स्टिच्युटमा नै पढाउँथिन्। त्यसैबीचम राधा र संसारबीच प्रेम सम्बन्ध सुरू भएको हुनसक्ने स्थानीय राज सेनले बताए।

राधा घटना हुनुको पाँच महिना अघि मात्र लोक सेवा आयोगको कम्प्युटर अपरेटर परीक्षा पास गरेर हुम्लाको चंखेली गाउँपालिकामा पदस्थापना भएकी थिइन्।

‘उनीहरूले संयुक्त रूपमा सदरमुकाममा इन्स्टिच्युट चलाइरहेका थिए, त्यही बीचमा दुई जनाबीच प्रेम सम्बन्ध पनि चलेको रहेछ,’ सेनले भने, ‘बीचमा रूकुम छोडेर जागिरका लागि हुम्ला गएपछि बीचमा उनीहरूबीच केही विवाद भएर हो वा भेट्नमात्र गएको हो भन्ने खुलेको छैन,’ उनले भने।

मृतकका आफन्तले भने युवतीले स्थानीयलाई लगाएर प्रेमीलाई बेपत्ता पारेको आरोप लगाएका छन्।

मृतक संसार घरको जेठो छोरा हुन्। उनीपछि दुई जना भाइ र दुई जना बहिनीहरू छन्। बाबा–आमा ६० वर्ष उमेर नाघेका छन्।
संसारले प्रविणता प्रमाणपत्र तहसम्मको पढाइ सकेर स्नातक भर्ना गर्ने योजना बनाएका थिए।