जब अदालतले सोध्यो- कन्याजाली नच्यातिएको भए बलात्कार हुन सक्छ कि सक्दैन?

काभ्रेको नालामा उनीहरूको सानो परिवार हाँसीखुसी थियो।

श्रीमान-श्रीमती सानो व्यवसाय गर्थे। दुई जना छोरी स्कुल जान्थे। हजुरबा-हजुरआमा घर कुरेर बस्थे।

तीन वर्षअघि यो परिवारको खुसी छिन्नभिन्न भयो, जब उनीहरूले १२ वर्षीया जेठी छोरी स्कुलमा बेहोस हुनुको कारण थाहा पाए।

हुन त त्यसअघि पनि उनी बेलाबेला आत्तिने र डराउने गर्थिन्। परिवारले यो कुरा सामान्य रूपमा लिएको थियो। तर २०७६ माघ महिनाको त्यो दिन स्कुलमा बेहोस भएपछि लामो समयदेखि लुकेर रहेको एउटा रहस्य खुल्यो।

होसमा आएपछि शिक्षिकाले उनलाई एक्लै राखेर ‘के भयो’ भनेर सोधिन्।

जवाफमा उनले भनिन्, ‘मलाई ठूलो बुवाको छोराले बलात्कार गर्छ। मैले भनेको मानिनस् र अरू कसैलाई भनिस् भने मार्ने धम्की दिन्छ। त्यही सम्झेर मलाई सधैं डर लाग्छ।’

कहिले घरको भान्छामा, कहिले बारीमा; जहाँ एकान्त ठाउँ फेला पर्छ त्यहीँ दाजुले बलात्कार गर्ने गरेको र पछिल्लोपटक २०७६ माघ २२ गते बलात्कार गरेको पीडित बालिकाले बताइन्। त्यस दिन दिउँसो कोठामा बसेर टिभी हेरिरहेका बेला दाजुले आफ्नो मुख थुनेर बलात्कार गरेको पनि बालिकाले शिक्षिकालाई भनेकी थिइन्।

उनको कुरा सुनेपछि शिक्षिकाले आमाबुवालाई यसबारे भन्न बालिकालाई सम्झाइन्।

केही दिनपछि आमाबुवाले छोरीमाथि हुँदै आएको बलात्कारबारे थाहा पाए। आफ्नै दाजुका छोराबाट छोरी पटकपटक बलात्कारमा परेको सुनेर विक्षिप्त भएका बाबुआमाले के गर्ने, कसो गर्ने केही मेसो पाएनन्।

केही दिनपछि उनीहरूले प्रहरीकहाँ उजुरी गर्ने निधो गरे। तर त्यति बेलासम्म केटाका बाबुआमाले पनि यसबारे थाहा पाइसकेका थिए। उनीहरूले आफ्ना भाइ-बुहारीलाई रोक्ने कोसिस गरे।

‘उनीहरूले त हामीलाई निगरानीमै राखे। हाम्रो घरका कोही बाहिर जान लागे एक न एक जनाले पिछा गरिहाल्थे,’ पीडित बालिकाकी आमा ‘उग्रचण्डी-१’ (प्रहरीले अनुसन्धान क्रममा राखिदिएको परिवर्तित नाम), ‘घटना थाहा पाएको ४२औं दिन मात्र हामीले छोरीमाथि अपराध गर्नेलाई कारबाही गर्न माग गर्दै जाहेरी दिन पायौं।’

हाडनाताभित्रकी नाबालिग बहिनी बलात्कार गर्ने १९ वर्षीय युवा (प्रहरीले उनको नाम पनि गोप्य राखेको छ) लाई प्रहरीले पक्राउ गर्‍यो। प्रहरी प्रतिवेदनका आधारमा सरकारी वकिलले मुद्दा चलायो।

अदालतले अभियुक्तलाई थुनामा पठाएपछि बल्ल आफूहरूले थोरै भए पनि राहतको सास फेरेको पीडित बालिकाका बाबुले बताए।

‘छोरीमाथि त्यस्तो अपराध भएको सुनेपछि मेरो त होसै हराएको थियो; खाना, निद्रा सबै हराएको थियो,’ उनले भने, ‘अदालतले त्यसलाई थुनामा पठाएको दिन मात्र म निदाउन सकेँ।’

यो मुद्दामा जिल्ला अदालतले ती युवालाई १९ वर्ष कैद सजाय सुनायो।

कानुनमा १० देखि १४ वर्षसम्मको बालिका बलात्कार गरेको कसुरमा १८ वर्ष र हाडनाताभित्र बलात्कार गरेको कसुरमा थप एक वर्ष कैद सजायको व्यवस्था छ। त्यस्तै, १० हजार रूपैयाँ जरिवाना र पीडितलाई एक लाख क्षतिपूर्ति भराउनुपर्ने फैसला पनि जिल्ला अदालतले गरेको थियो।

अभियुक्त १९ वर्षीय केटाले आफूलाई सजाय हुन नपर्ने दाबी गर्दै उच्च अदालतमा पुनरावेदन दिएका छन्। यो मुद्दा उच्च अदालत आइपुगेको एक वर्षभन्दा बढी भइसकेको छ। अहिलेसम्म १० वटा पेसी चढेको पीडितका बुवा बताउँछन्।

‘म हरेक पेसीमा अदालत आउँछु। कतिपटक त उनीहरूले नै मुद्दा स्थगित गर्छन्,’ उनले भने, ‘यस्तो मुद्दामा छिट्टै सुनुवाइ सकिए हुने नि!’

उनलाई अदालत धाउन गाह्रो थिएन, तर मुद्दामा हुने ढिलाइ र बहसमा केटा पक्षका वकिलले बोल्ने कुराले उनको मन भरंग हुन्छ।

‘केटीले फसाएको हो भनेर बहस गर्ने रैछन्। जुन मुद्दा हो त्यसैमा केन्द्रित पनि नहुने रैछन्। पल शाह र सन्दिप लामिछानेको मुद्दासमेत ल्याएर जोड्ने। जे पनि बोल्न त नमिल्नुपर्ने हो नि, हैन? नैतिकता, आचारसंहिता भन्ने केही हुन्न र?’ उनले भने।

अदालतले बेलाबेला गर्ने आदेशले पनि उनलाई सशंकित बनाउँछ।

‘केटाले आफ्नो बकपत्रमा घटनाको दिन म कलेज गएको थिइनँ, सँगै बसेर टिभी हेरेको भनेर स्वीकार गरेकै छ। जिल्ला अदालतले पनि कलेजबाट बायोमेट्रिक्सवाला हाजिरी रेकर्ड मागेर हेरीवरी फैसला सुनाएको हो,’ पीडितका बुवाले भने, ‘वकिलहरूले भने घटनाको दिन केटा कलेज गएकै थियो भनेर बहस गरे। उच्च अदालतले फेरि त्यही बायोमेट्रिक्स मगायो।’

मुद्दा उच्च अदालत पुगेपछि शारीरिक परीक्षण रिपोर्टमा पनि डाक्टरले बदमासी गरेको भन्ने थाहा पाएको उनले बताए।

‘शारीरिक परीक्षण हिस्ट्री लेख्दा पीडित वा पीडितका बुवाआमाले भनेअनुसार भन्ने वाक्यांश लेख्नुपर्नेमा प्रहरीले भनेअनुसार लेखेको रहेछ। यत्ति कुराले पनि मुद्दा कमजोर हुन्छ कि भन्ने डर हामीलाई भइरहन्छ,’ उनले भने।

उच्च अदालतले शारीरिक परीक्षण प्रतिवेदनलाई लिएर पनि प्रश्न उठाएको छ।

शारीरिक परीक्षण प्रतिवेदन हेरेपछि फैसला सुनाउन उच्च अदालत पाटनलाई दुबिधा परेको देखिन्छ। फागुन २८ गते बहस सुनेपछि न्यायाधीश दुर्गाबहादुर विश्वकर्मा र अमृतबहादुर बस्नेतको इजलासले बलात्कार मुद्दामा पीडितको ‘हाइमन इन्ट्याक्ट’ भएको अवस्था देखिए बलात्कार हुन सक्छ कि सक्दैन भन्ने प्रश्नमा बहस नोट बुझाउन सरकारी र प्रतिवादी वकिलहरूलाई आदेश गरेको छ।

उच्च अदालतको यस्तो आदेशलाई लिएर सरकारी वकिलहरूले नै अचम्म मानेका छन्। किनभने, महिलाको बलात्कार भएको हो कि होइन भन्ने कुरा ‘कन्याजाली’ भनिने हाइमनको अवस्था हेरेर थाहा हुँदैन।

विगतमा हाइमनलाई नै महिलाको कौमार्यसँग जोडेर हेर्ने भ्रम थियो। तर मेडिकल साइन्सले कौमार्यसँग हाइमनको कुनै सम्बन्ध नरहेको पुष्टि गरिसकेको छ। यौन सम्बन्ध राख्दै नराखेको महिलाको कन्याजाली पनि विभिन्न शारीरिक कारणले नष्ट हुन सक्छ। यसलाई सर्वोच्च अदालतले आफ्ना पटकपटकका फैसलामा स्वीकार गरिसकेको छ। त्यसैले अहिले यो मुद्दामा ‘हाइमन इन्ट्याक्ट’ छ कि छैन भनेर प्रश्न उठाउनु नै जायज नभएको एक सरकारी वकिलले बताए।

यही मुद्दामा पीडितको स्वास्थ्य परीक्षण गर्ने डा. राजकुमार कार्कीले पनि पुरूषले महिलासँग कसरी सम्बन्ध राख्यो भन्नेमा कन्याजाली च्यातिने वा नच्यातिने अवस्था निर्भर हुने अदालतमा बताएका थिए। यहाँ उनको आसय कन्याजाली प्राकृतिक अवस्थामै छ भने पनि बलात्कार हुनसक्छ भन्ने थियो। त्यसैले कन्याजालीको अवस्था कस्तो छ भन्ने कुराले बलात्कार हो कि होइन भन्ने निर्धारण गर्दैन।

उच्च अदालतले फैसला सुनाउला भन्ने बेला यस्तो आदेश आएपछि पीडित परिवार झस्किएको छ।

‘सन्दिप लामिछाने, पल शाह छुटे भन्ने खबरले हाम्रो मन धरमराइरहन्छ। त्यसमाथि हाम्रो मुद्दामा फैसला होला भनेको त, आदेश मात्र आयो,’ पीडितका बुवाले भने, ‘डर लागिरहन्छ।’

यो मुद्दा परेपछि उनीहरूले आफ्नी छोरीलाई सँगै राख्न सकेका छैनन्। पढ्दै आएको स्कुलमा पढाउने वातावरण नभएर छोरीलाई दिदीको घर पठाइदिएका छन्। उनी दुई वर्षदेखि भक्तपुरस्थित फुपूको घरमा बस्छिन् र त्यहीँ पढ्छिन्।

‘छोरीलाई पढ्दै आएको स्कुल पठाउन सकिएन। दिदीको घरमा बस्छिन्। यहाँ घर र स्कुलमा समेत सुरक्षित राख्न सकिएन,’ पीडितका बुवाले भने, ‘सँगै राख्ने वातावरण पनि भएन। छोरीलाई कता के हुन्छ भन्ने मात्रै डर हुन्छ। हामी आफ्नै घरमा समेत सुरक्षित छैनौं।’

उनीहरूले सुरक्षित महसुस नगर्नुको मुख्य कारण चाहिँ पीडकको घर उनीहरूको घरसामुन्ने हुनु हो। दिनदिनैजसो पीडक परिवारले आफूहरूलाई गालीगलौज र धम्की दिने उनले बताए।

‘दिनदिनै नराम्रा गाली गर्छन्। गाउँलेहरूसमेत उनीहरूसँग बोल्न सक्दैनन्। धम्कीको त कुरै नगरौं, हामी आफ्नै घरमा बस्न सक्ने वातावरण छैन,’ उनले भने।

घरमा बसिनसक्नुभएपछि उनीहरूले छ महिनाअघि घरवरिपरि सिसिटिभी लगाएका छन्। बुवाको मृत्युको १२ दिने काममा पाहुनाकै अगाडि तथानाम बोल्न थालेपछि पीडित बालिकाले प्रहरीलाई उजुरी दिएकी थिइन्। त्यतिखेर प्रहरीले तारिखमा राखेपछि भने उनीहरूले गालीगलौज गर्न अलि कम गरेको पीडितका बुवा बताउँछन्।

‘घरमा सिसिटिभी लगाउनुपर्‍यो। पाहुनाकै अगाडि मुखमा जे आयो, त्यही बोलेर गाली गर्छन्। हामीले त उनीहरू नदेखियोस् भनेर बार लगाएका छौं,’ उनले भने, ‘अब हामी त्यहाँ बस्न सक्ने अवस्थामै छैनौं। घर बेचेर अन्तै सर्ने सोचाइमा छौं। छिट्टै यहाँबाट सर्छौं होला।’