विज्ञापनलाई लिएर करिश्माको आलोचना किन भइरहेको छ ?

काठमाडौं । यस्तो लाग्छ, अभिनेत्री करिश्मा मानन्धर र चर्चा एकअर्काका पर्याय हुन् । राजनीतिदेखि निजी जीवनले पनि बेलाबेलामा उनी चर्चामा आइरहन्छिन् । यसपटक भने उनलाई एक विज्ञापनले चर्चामा ल्याएको छ । सोलार हिटरसम्बन्धी एक विज्ञापनले करिश्मालाई गाली र ताली दिइरहेको छ ।

सामाजिक सञ्जालको समूहदेखि पेजमा यसलाई भाइरल बनाइएको छ । गत सोमबार करिश्माले सोलार हिटरसम्बन्धी एक विज्ञापन फेसबुकमा सेयर गरिन् । एक मिनेट १७ सेकेण्ड लामो उक्त विज्ञापनमा करिश्माको अभिनय र संवादलाई लिएर विरोध भइरहेको हो । कतिपयले उक्त विज्ञापनमा करिश्मालाई नसुहाउने भन्दै क्राफ्टमाथि प्रश्न तेर्साएका छन् ।

अस्मिता लामिछाने पोस्टमा कमेन्ट गर्छिन्, ‘यो सस्तो देखिन्छ । यस्तो खालको विज्ञापन नगर्नुस् एकदम न्यून बजेटको देखियो । तपाईंको व्यक्तित्वलाई सुहाउँदैन । तपाईंको शुभचिन्तक । माया छ ।’ अधिकांश कमेन्टमा अभिनय र प्राविधिक पक्षलाई प्रश्न गरिएको छ । कतिपयले ओभर एक्टिङ भयो कि भनेर प्रश्न गरेका छन् ।

कतिपयले यस्ताखाले विज्ञापन गर्दा करिश्माले व्यक्तित्वबारे सोचविचार गर्नुपर्ने सुझाएका छन् । करिश्मा बेलाबेलामा यस्तो विवाद र चर्चामा आइरहन्छिन् । पछिल्लोपटक उनी निहारिका राजपुत प्रकरणले चर्चामा आएकी थिइन् भने राजनीतिकले अभिव्यक्तिले पनि उनलाई चर्चामा ल्याउने गरेको छ ।