तीन महिनापछि मृत भेटिएका सशस्त्र जवानकाे शव परिवारले बुझे

लमजुङ। मर्स्याङ्दी नदीमा खसेर हराइ रहेका एक जना सशस्त्र प्रहरीका जवान तीन महिनापछि मृत भेटिएका छन्। गत पुस १५ गते मनाङ जाँदै गर्दा पिसाव फेर्ने क्रममा भीरबाट लडेर मर्स्याङ्दीमा खस्दा सशस्त्र प्रहरी जवान ३२ वर्षीय अनन्त महत मर्स्याङ्दीमा खसेका थिए।

लमजुङको मर्स्याङ्दी गाउँपालिका ४, काप्रेभीरबाट मर्स्याङ्दीमा खसेपछि नै महत बेपत्ता थिए। बेंसीसहरदेखि मनाङतर्फ जाँदै गरेको ग १ ज ७३३५ नम्बरको जिपमा सवार उनी पिसाव फेर्न बाहिर निस्किएर सडक छेउमा गएका थिए।

रामेछापको लिखु तामाकोसी गाउँपालिका ४, बिजुलीकोटका महत सशस्त्र प्रहरीको २२ नं. गण महेश्वरी भक्तपुरबाट सरुवा भएर ३२ नं. गुल्म हेडक्वार्टर मनाङको चामे जाँदै थिए।

सशस्त्र प्रहरी कार्यालयका प्रमुख मानबहादुर शाहिका अनुसार राइनास नगरपालिका ६, धमिलीकुवा छेउ मर्स्याङ्दी नदीमा एउटा युवकको शव फेला परेपछि बेंसीसहरस्थित लमजुङ अस्पताल ल्याइएको थियो। उनको शव परिवारले सनाखत गरेको उनले बताए।