दीपाश्री भन्छिन्– अनमोलको फ्यान हुँ, फ्लप भन्न अप्ठेरो लाग्छ

काठमाडौं । काठमाडौं लगायत देशभरका हलहरुमा हेमराज विसी निर्देशित फिल्म छक्का पञ्जा ४ ले धुम मच्चाइरहेको छ । सोही फिल्मसँगै रिलिज भएको निगम श्रेष्ठ निर्देशित ‘छड्के २’ ले भने गतिलो व्यापार गर्न सकेन ।

रिलिज अगाडि यी दुई फिल्मको भिडन्तलाई निकै चाखका साथ हेरिएको थियो । रिलिजपछि छक्का पञ्जा निर्माताद्वय दीपकराज गिरी र दिपाश्री निरौलाले फेरि एकपटक आफूलाई बक्स अफिसको डन सावित गरेका छन् भने सुपरस्टार अनमोल केसीलार्ई झट्का लागेको छ ।

एकैसाथ दुई चलचित्र रिलिज हुँदा एक–अर्को चलचित्रलाई खसाल्ने र होच्याउने प्रवृत्ति सिने क्षेत्रमा व्याप्त थियो । अनि आफ्नो चलचित्रले पानी भन्न नपाए पनि कमालको व्यापार गरेको भन्दै केक काट्नेहरु पनि थिए । तर, छक्कापञ्जा ४ र छड्केले भने यसमा नयाँ संस्कार बसाएका छन् । उनीहरुको प्रतिस्पर्धा मित्रवत थियो ।

रिलिज अघि अनमोलले छक्कापञ्जालाई र दीपकराजले छड्केलाई शुभकामना दिएका थिए । रिलिजपछि पनि त्यो सौहार्दता तोडिएको छैन । न छड्के फ्लप भयो भनेर दीपक–दीपा खुशीले उफ्रिएका छन्, न छक्कापञ्जा हिट हुँदा अनमोल मुर्मुरिएका छन् । अनमोलले छक्कापञ्जालाई सामाजिक सञ्जालबाटै बधाई दिए । अनि दीपक–दीपाले पनि अनमोलका विषयमा सकारात्मक टिप्पणी गरेका छन् ।

हिजो काठमाडौंमा भएको कलाकार संघको चुनावमा सञ्चारकर्मी अनुप भट्टराईले दीपक र दीपालाई छड्के फ्लप भएको सन्दर्भमा अनमोलका विषयमा टिप्पणी गर्न आग्रह गरेका थिए । दिपकराजले एउटै असफलताबाट नआत्तिन अनमोललाई सुझाव दिए ।

उनले भने, ‘घोडा चढ्ने मान्छ लड्छ नै । कसैका पनि सबै फिल्म सफल हुँदैनन् । अनमोलसँग लामो करिअर छ । हामीजस्तो उमेर ढल्केको होइन । भतिजलाई आगामी फिल्मका लागि धेरै शुभकामना ।’

दीपाश्रीले त झन् आफू अनमोलको ठूलो फ्यान भएको बताइन् । ‘मलाई अनमोलको एक्टिङ देखि सबै कुरा मन पर्छ । अनमोललाई फ्लप भन्न अप्ठेरो लाग्छ । त्यस्तो शब्द उसलाई खर्च नगरौं होला ।’

दीपक र दीपा दुवैले एउटै कलाकारले फिल्म हिट बनाउन नसक्ने र टिम वर्क हुनुपर्ने बताए । दीपकराजले थपे, ’दिपक र दिपा दुवैले एउटै कलाकारले फिल्म हिट बनाउन नसक्ने पनि बताए । दीपकराजले थपे, ‘सायद टिम राम्रो परेन होला ।’