प्रचण्ड सरकार आएपछि हुनेभयो चमत्कार, फ्यानहरुमा छायो खुसीयाली !

चितवन । चितवनको भरतपुर महानगरपालिका–१५ मा निर्माण रोकिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम अघि बढाउन लागिएको छ । भरतपुर महानगरपालिकाले संघीय सरकारसँग पहल गरेर तिर्नुपर्ने रकम मन्त्रिपरिषद्बाट निर्णय गरी भुक्तान गराएर कामलाई अघि बढाउन लागिएको हो ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले छिट्टै मन्त्रिपरिषद्बाट निर्णय हुने बताइन् । धुर्मुस सुन्तली फाउन्डेसनले निर्माणका क्रममा रकम अभाव भएको भन्दै काम छोडेपछि झन्डै दुई वर्षदेखि रंगशाला अलपत्र अवस्थामा रहेको छ । फाउन्डेसनले विभिन्न व्यक्ति र संस्थालाई १८ करोड ४१ लाख रुपैयाँ भुक्तान गर्न बाँकी रहेको जनाएको छ ।

भुक्तानी रकम तिर्ने विषयमा समस्या भएकाले काम रोकिएको हो । दाहालका अनुसार सरकारी तवरबाट रकम निकासा गरी भुक्तानी गरेर नयाँ प्रक्रियाबाट रंगशालाको काम गर्न लागिएको हो ।

उनले भनिन्, “रकम तिर्नुपर्ने नभएको भए पहिले नै काम हुन्थ्यो । तिर्नुपर्ने बाँकी रहेकै कारण काम अघि बढाउन ढिलाइ भएको हो ।”

खेलकुद मन्त्रालयले तत्कालीन सहरी विकास मन्त्रालयका सहसचिव प्रकीर्ण तुलाधरको संयोजकत्वमा खेलकुद मन्त्रालय र भरतपुर महानगरपालिकाको प्रतिनिधि रहेको समिति गठन गरी अध्ययन समेत गराएको छ । सो समितिले प्राविधिक र आर्थिक प्रतिवेदन बुझाइसकेको छ ।

दाहालका अनुसार तिर्नुपर्ने भुक्तानी तिरेर संघीय सरकारले बोलपत्र आह्वान गरी काम अघि बढाउँदै छ । यो रंगशाला यहाँ निर्माणका लागि पहलकदमी गर्ने तत्कालीन चितवन क्षेत्र नम्बर–३ का सांसद समेत रहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ अहिले प्रधानमन्त्री छन् । जिल्लामा रंगशाला स्थापनाकालदेखि नै उनको पहलकदमी रहेकाले यसलाई टुंगोमा पुर्‍याउन प्रधानमन्त्री दाहालको समेत चाहना रहेको छ । तिर्नुपर्ने भुक्तानीको टुंगो लागेसँगै सकेसम्म यसै आर्थिक वर्षबाट बहुवर्षीय आयोजनाभित्र पारेर काम सुरु हुने प्रमुख दाहालको भनाइ छ ।

भरतपुर महानगरपालिकाले रंगशाला निर्माणका लागि त्रिभुवन विश्वविद्यालयका नाममा लालपुर्जा रहेर कृषि तथा वन विज्ञान विश्वविद्यालयले भोगचलन गरेको २० बिघा ६ कट्ठा जग्गा उपलब्ध गराएको थियो । निर्माणको समयमा फाउन्डेसनले भुक्तान गर्नुपर्ने बाँकी रकम कहाँबाट तिर्ने भन्ने स्पष्ट कानुनी व्यवस्था नभएका कारण समस्या आएको हो ।

वि.सं. २०७५ माघ १६ गते महानगरपालिका र फाउन्डेसनबीच भएको सहमतिअनुसार निर्माण सम्पन्न गरेर वा स्रोत जुट्न नसके तत्काल हस्तान्तरण गर्ने उल्लेख छ । फाउन्डेसनले निर्माणको ३५ प्रतिशत काम सम्पन्न भएको महानगरपालिकालाई हस्तान्तरण गर्दा जनाएको थियो ।

फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेलका अनुसार निर्माणका क्रममा ५७ करोड ९२ लाख रुपैयाँ खर्च भएको छ । सोमध्ये नगद र जिन्सी गरी ३९ करोड ८० लाख रुपैयाँ उठेको कट्टेल बताउँछन् । रकम तिर्न नसकेपछि वि.सं. २०७७ साउनदेखि रंगशाला निर्माणको काम रोकिएको हो ।

निर्माणका क्रममा सार्वजनिक खरिद ऐनअनुसार काम नभएकाले सरकारी निकायले भुक्तानी गर्नुपर्ने रकमको जिम्मा लिन कठिन भएकै कारण धेरै समय लागेको हो । महानगरपालिकाले सहमतिविपरीत फाउन्डेसनले भुक्तानी तिर्नुपर्ने अवस्थामा हस्तान्तरण गरेको भन्दै विमति जनाउँदै आएको छ ।