पल शाहले दोब्बर बनाए पारिश्रमिक

अभिनेता एवं मोडल पल शाहले आफ्नो पारिश्रमिक दोब्बर बनाएका छन् । १ वर्षको जेल जीवन बिताएर गत महिना फर्किएका उनले म्युजिक भिडियोको लागि पारिश्रमिक दोब्बर बनाएका हुन् ।

यसअघि डेढ खालसम्म लगानी गरेर उनलाई म्युजिक भिडियोमा अभिनय गराउँदै आएका लगानीकर्ताले अब ३ लाख रूपैयाँ तिर्नुपर्नेछ ।

पल निकट रहेका एक निर्देशकले लोकान्तरसँग भने, –‘उहाँले अब म्युजिक भिडियोमा ३ लाख रूपैयाँ लिने भन्नुभएको छ । पारिश्रमिक बढाएर बरु संख्यामा भन्दा गुणस्तरमा ध्यान दिने उहाँको सोच छ ।’

पलले अब पहिलेजसरी म्युजिक भिडियो नखेल्ने मनस्थिति बनाएको ति निर्देशकले बताए । पलले यसअघि १ देखि डेढ लाख रुपैयाँसम्म पारिश्रमिक लिँदै आएका थिए । संख्यात्मक हिसावले पनि उनका म्युजिक भिडियोहरू एकदमै धेरै आउने गरेका थिए ।

जेल जिवन बिताएर फर्किएसँगै सार्वजनिक कार्यक्रममा सहभागी हुन थालेका पल छिट्टै म्युजिक भिडियोमार्फत अभिनयमा कमब्याक गर्ने तयारीमा छन् ।

चर्चित गीत ‘तिमीलाई हेर्ने बानी पर्यो’को फिमेल भर्सनमा अभिनय गर्दै उनले कमब्याकको तयारी गरेका हुन् । उक्त गीत पल शाहको आफ्नै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक हुनेछ । गीत रेकर्डिङ भइसकेको बुझिएको छ ।​ यतिबेला उनलाई म्युजिक भिडियो र चलचित्र खेलाउन चाहनेहरूको संख्या ठूलो देखिएको छ ।पलले म्युजिक भिडियोपछि मात्र चलचित्रमा काम गर्नेछन् ।