सन्दीप लामिछानेलाई फुलमालासहित सम्मान गरेपछि राष्ट्रपति पनि विवादमा

बालिका बला’त्कारको आरोपमा प’क्राउ परी अदालतको आदेशले धरौटीमा रिहा भएका सन्दीप लामिछानेलाई फुलमालासहित सम्मान गरेपछि राष्ट्रपति रामचन्द्र पौडेल विवादमा परेका छन् ।

बालिका बला’त्कारका आरोपीलाई सम्मान गरेर संविधान र कानुनको उपहास गरेको भन्दै सामाजिक सञ्जालमा पौडेलको आलोचना भईरहेको छ।

राष्ट्रपति पौडेलले शुक्रवार शीतल निवासमा विश्व कप क्रिकेटको क्वालिफायरमा छनोट भएका नेपाली खेलाडीहरूलाई बधाई दिँदै माला लगाएर सम्मान गरेका थिए। जसमा लामिछाने पनि सहभागि थिए।

यसअघि लामिछानेसँग हात मिलाएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल पनि विवादमा परेका थिए। स्कटल्यान्डको टोलीले नेपाली क्रिकेट टिमका सदस्य सन्दीप लामिछानेसँग हात नमिलाएका कारण नेपालको अन्तर्राष्ट्रिय रुपमा वेईजत भएको आरोप लागिरहेका बेला देशका प्रधानमन्त्री दाहालले नै उनीसँग हात मिलाउँदै खुसियाली साटेका थिए।

आईसीसी विश्वकप क्रिकेट लिग २ मा नेपालले हासिल गरेको सफलताका लागि प्रधानमन्त्री दाहालले फागुन ११ गतेसन्दीपसहितका खेलाडीलाई वधाई दिए। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेको नेपाली क्रिकेट टोलीलाई दाहाल युएईका लागि बिदा गर्न खादा, मालासहित तयार थिए ।

उनले प्रशिक्षक, खेलाडी र टिम व्यवस्थापकसँग पालैपालो हात मिलाउन थाले । खेलाडीको लहरमा नाबालिका बला’त्कारसम्बन्धी मुद्दामा धरौटीमा जेलबाट छुटेका पूर्वकप्तान सन्दीप पनि थिए। उनको मुद्दा जिल्ला अदालत काठमाडौंमा विचाराधीन छ ।

उच्च अदालतबाट ५ सर्तसहित २० लाख रुपैयाँ धरौटीमा छुटेका सन्दीपलाई क्रिकेट एशोसिएसन अफ् नेपाल (क्यान) ले टिममा समावेश गरेपछि चौतर्फी आलोचना खेपेको थियो ।

बला’त्कारजस्तो जघन्य अभियोग खेपिरहेका क्रिकेटर सन्दीपलाई मुद्दा फैसलापूर्व नै टिममा सहभागि गराएको भन्दै आलोचना भईरहेका वेला प्रधानमन्त्री जस्तो मुलुकको प्रमुख कार्यकारी समेत संवेदनशील नदेखिएको भन्दै आलोचना भएको थियो।